काठमाडौँ — कोरोनाको संक्रमण वृद्धि भएसँगै हामी सबै समाजमा रहेकाहरू डराएर आत्तिएका छौं । हामी कठिन मोडमा भएकाले समाजमा सबै एकअर्काप्रतिको आडभरोसा जारी राख्न आत्मबल बढाउन जरुरी छ । समाजका हामी सबै पात्रहरूले संक्रमणको चक्र रोक्न भूमिका खेल्न आवश्यकता छ तर समाजलाई सबैको भरोसायोग्य बनाउन अझ सामाजिक बनाउनु आजको आवश्यकता हो ।
सामाजिक विभेदका सोच एवं व्यवहारहरू हामीले गर्न हुँदैन । यो अप्ठ्यारो परिस्थितिमा एकले अर्कालाई सहयोग र हौसला दिने काम गरेनौं भने भोलि तपाईं–हामी नै संक्रमित हुँदा आज विभेद गरिएका व्यक्ति सबै हिसाबले काम लाग्छन् भन्ने कुरा नबिर्सौं । निको हुनु भएका संक्रमित व्यक्तिहरूले आफ्नो समाजलाई कोरोनासँग लड्न सक्ने वातावरण बनाउन एकजुट बनाउन महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने बेला आएको छ । अझै आउँदो केही दिन यसको प्रकोप वृद्धि हुने आकलन गरिएको छ । जसले गर्दा हामी सबैले थप चुनौती सामना गर्नुपर्ने हुन सक्छ । यस्तो बेलामा सबैले आफ्नो जीवनशैली र व्यवहार परिवर्तनका लागि सकारात्मक सोच र चिन्तन गरी आफ्नो ठाउँबाट यो रोगको उपचार, नियन्त्रण, रोकथाम र व्यवस्थापनमा एकजुट भएर लागौं । सरकारका सबै अंगहरू यसको नियन्त्रण उपचार र रोकथामका लागि खटिरहेका छन् । यसरी खटिएका व्यक्तिहरू आफैं र परिवारका सदस्यहरू संक्रमित भएका छन् ।
यस्तो कठिन अवस्थामा खटिरहेका व्यक्ति र परिवारप्रति समाजले गर्ने भूमिकामा नचुकौं । अग्रपंक्तिमा रहेका योद्धाको मनोबल खस्कियो भने कोरोनाविरुद्धको लडाइँ हामीले कसरी लड्न सकौंला ? त्यसैले यस संक्रमण हामीमध्ये जोकोहीलाई पनि हुन सक्छ भन्ने सोचौं ।
प्रवक्ता, स्वास्थ्य मन्त्रालय
