काेभिड-१९ उपचारका लागि गरिएको अस्पतालहरुको वर्गीकरण खारेज

देशभर ४९ अस्पतालले कोभिडका बिरामीको उपचार गर्नुपर्ने, ११५ वटाले फिभर क्लिनिक चलाउने

भाद्र ८, २०७७

स्वरूप आचार्य

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार हालसम्म कार्यान्वयनमा रहेको कोभिड अस्पतालको लेभल एक, दुई र तीनलाई खारेज गरी सबै अस्पताललाई कोभिड–१९ को बिरामी उपचारमा सूचिकृत अस्पताल हुने भएका छन् । यस्तै ती अस्पतालहरुले अब कोभिडका बिरामीहरुको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउनेछन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब ११५ वटा अस्पताले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने छन् भने ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने छन् । मन्त्रालयले यसअघि गरेको व्यवस्था अनुसार देशभर लेभल ३ अस्पताल २३ वटा, लेभल २ अस्पताल १८ वटा र लेभल १ अस्पताल ७ वटा थियो । यस्तै आइतबारै मन्त्रालयले सानेपास्थित मेघा अस्पताललाई पनि कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो ।

‘अब पहिला लेभल १, २, ३ भनेर सूचिकृत गरिएका अस्पतालहरु सबैले समानरुपमा कोभिडका बिरामीहरु भर्ना लिएर उपचार गर्नुपर्ने छ,’  डा. समिरले भने, ‘कुनै कोभिडको बिरामीलाई विशिष्ठकृत उपचार चाहियो र त्यो उनीहरुले दिन नसक्ने भएमात्रै अन्यत्र रेफर गर्न पाउनेछन् ।’ उनका अनुसार लेभल १, २ का रुपमा सूचिकृत भएका अस्पतालहरुले आफूले सेवा दिन सक्ने अवस्था रहँदा रहँदै पनि अन्यत्र बिरामी रेफर गर्ने गरेको पाइएकोले सो समस्या समाधान गर्न यस्तो व्यवस्था लागु गरिएको हो ।

डा. अधिकारीका अनुसार यो व्यवस्था अनुरुप अब कोभिड उपचार गर्ने  अस्पतालले अन्य बिरामी उपचारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने छ । कोभिड र नन् कोभिडलाई एकै स्थानमा उपचार गर्न पाउने छैनन् ।



यसअघिको व्यवस्था अनुसार मन्त्रालयले लेभल १ अस्पताल भनेर आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टर अस्पताल कीर्तिपुर, काठमाडौं मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल चितवन, अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, जानकी अस्पताल, बागलुङ अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिपी कोइराला राष्ट्रिय सेन्टर फर रेस्पिरेटोरी डजिज् तनहुँ, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत, अछाम अस्पताल, भीम अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताललाई तोकेको थियो । यी अस्पतालले प्राय गरेर आइसोलेसनमा राख्नुपर्ने बिरामीलाई मात्रै सेवा दिन्थे ।

यस्तै, लेभल २ अस्पताल भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल सशस्त्र बल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र सेती अस्पताललाई तोकेको थियो । यी अस्पतालले भने मध्यमदेखि जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्थे ।

लेभल ३ अस्पताल भनेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, धुलिखेल अस्पताल, सेती प्रादेशिक अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर र नेपालगञ्ज मेडिकल कलेज रहेका छन् । यी अस्पतालहरुले भने कोभिड–१९ भएका बिरामीहरुलाई आवश्यक पर्ने हरेक प्रकारको विशिष्ठकृत सेवा दिन सक्षम छन् ।

कोरोना भाइरस

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully