भरतपुरमा कोरोना संक्रमितको निधन

भाद्र ४, २०७७

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालको आईसीयूमा उपचार गराइरहेका एकजना व्यक्तिको बिहीबार दिउँसो निधन भएको छ ।

योसहित चितवनमा कोरोना संक्रमित भएर निधन हुने व्यक्तिको संख्या अहिलेसम्म चार पुगेको छ । तीनजना चितवनकै हुन् । एकजना कैलाली घर भएर उपचारका लागि भरतपुर आएका व्यक्तिको पनि संक्रमणका कारण ज्यान गएको थियो ।

भरतपुर अस्पतालले बिहीबार दिउँसो निकालेको सूचनामा रत्ननगर नगरपालिका–१३ घर भएका ६५ वर्षीय पुरुषको बुधबार दिउँसो तीन बजे मृत्यु भएको हो । उनी ६ दिनअघि कोरोनाबाट संक्रमित भइ अस्पतालको कोभिड आईसीयूमा उपचार गराइ रहेका थिए । उनी फोक्सोमा टिबी भएका दिर्घरोगी भएको अस्पतालले जनाएको छ । 

चितवनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र बन्दै आएको छ । अहिलेसमम्म २८१ जनामा संक्रमण देखिएको छ । तीमध्ये हालसम्म ११३ जना मात्रै कोरोना मुक्त भएर घर फर्केका छन् । अस्पतालको शय्या भरिएका कारण संक्रमितहरुलाई ‘होम आइसोलेसन’मा राखेर उपचार गराउनु परेको छ । अस्पतालले दिएको जानकारी अनुसार ४४ जना होम आइसोलेसनमा छन् ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully