करिब चार महिनादेखि कोरोनाबाट कसैको मृत्यु भएको छैन : चीन- विश्व - कान्तिपुर समाचार

करिब चार महिनादेखि कोरोनाबाट कसैको मृत्यु भएको छैन : चीन

एजेन्सी

बेइजिङ — चिनियाँ स्वास्थ्य अधिकारीले चीनमा करिब चार महिनादेखि अस्पताल भर्ना भएका कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ठ अधिकृत गुओ यान्होङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चिनियाँ रणनीति प्रभावकारी भएको दाबी गरेका छन् ।

गत अगस्ट १५ मा हुबेई प्रान्तको राजधानी वुहानमा एउटा स्विमिङमा पुलमा भएको 'म्युजिक पार्टी'मा सहभागीको भीड तस्बिर : रोयटर्स

बुधबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘यो नै बलियो प्रमाण हो कि गम्भीर प्रकृतिका बिरामीका लागि चीनको अनुभव, तरिका र रणनीति कति प्रभावकारी छ भन्ने ।’

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार अन्तिम पटक कोरोनाबाट चीनमा अप्रिल १५ मा हुबेईमा एक जनाको मृत्यु भएको थियो ।

बुधबार चीनमा २२ वटा आयातित संक्रमण फेला परेको छ भने एउटा स्थानीय केस रहेको छ । चीनमा बिहीबार बिहानसम्म कोरोना भाइसबाट संक्रमित हुनेको संख्या ८९ हजार ५ सय २७ पुगेको छ । अहिलेसम्म चीनमा कोरोनाबाट ४ हजार ७ सय ६ जनाको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएकामध्ये चीनमा ८३ हजार ५ सय ६९ जना निको भएका छन् । चीनमा अहिले सक्रिय संक्रमितको संख्या करिब एक हजार २ सय मात्रै रहेको छ ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको पनि महिनौं भइसक्यो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले अमेरिकामा एक लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

दोस्रो प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३४ लाख ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख ११ हजार १ सय जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका हिसाबले भारत तेस्रो प्रभावित मुलुक हो । भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयका अनुसार भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड २४ लाखभन्दा बढी छ । बिहीबार बिहानसम्म कोरोनाका कारण ७ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित : भाद्र ४, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

माछापोखरीबाट दुई थान पेस्तोल बरामद, दुई जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट 'मेड इन युएस' लेखेको २ थान पेस्तोल, २ थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने १० राउन्ड गोलीसहित नुवाकोट शिखरबेसी–६ बस्ने २७ वर्षीय विकेश पण्डित पक्राउ परेका छन् । काठमाडौं अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । 

पण्डितसँगकाे प्रारम्भिक सोधपुछका क्रममा पेस्ताेल ओसारपोसार गराउन लगाउने नुवाकोट लिपु गाउँपालिका–१ का २८ वर्षीय अमर तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ । प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा तामाङलाई नुवाकोटस्थित घरबाटै पक्राउ गरी काठमाडौं टेकुस्थित अपराध महाशाखा ल्याएर अनुसन्धान थालेको छ । तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत फागुनमा छुटेका व्यक्ति भएकाे प्रहरीले बताएकाे छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय प्रहरी प्रवक्ता हाेविन्द बाेगटीले बताए ।

प्रकाशित : भाद्र ४, २०७७ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×