सिन्धुपाल्चोक — जुगल गाउँपालिका वडा–२ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये मंगलबार दिउँसोसम्म २४ जनाको शव फेला परेको छ । गएको हप्तादेखि सोमबारसम्म साबिक गाविस गोल्चेको लिदीको १३ घरका २२ जनाको शव फेला परिसकेको थियो । मंगलबार पहिरोले पुरिएको अवस्थामा थप २ जनाको शव फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।
जिल्ला प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिकासहित महिला र बाँकी पुरुष छन् । हालै भेटिएको शव ७२ वर्षीया शिरमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको हो ।
प्रहरीको तथ्यांक अनुसार लिदी लामा गाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीया छिरिङ दोङ, ८० वर्षीया जिते झाँक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेमिश दोङ, १६ वर्षीय माईला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षीया च्यामा दोङ, ७ वर्षीया विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ, १२ वर्षीय हिन्दुस दोङ, ३० वर्षीय मानबहादुर दोङ, २२ वर्षीय छविलाल दोङ (अजय), ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुरज दोङ छन् ।
बर्खाले सडक बगाएपछि एस्काभेटर लैजान नसकिँदा अहिले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी गरेर ५५ जनाको टोली मिलेर साबेल, कोदालोको भरमा बाँकी बेपत्ता खोजिरहेको डीएसपी काफ्लेले जानकारी दिए । लिदीको एक सय ७२ घरमाथि पहिरो खस्दा एक सय ७२ घरधुरीमा ३७ घरमा आंशिक र १७ घर पूर्ण ध्वस्त बन्दा ३९ जना बेपत्ता भएका थिए । शवलाई उत्खनन् गर्न स्थानीय सामाग्रीले मात्रै सम्भवाना नदेखिएपछि एस्काभोभेर ल्याउने तैयारी गरिएको छ । ‘बेपत्ता १५ को खोजी भइरहेको छ,’उनले भने ।
