सिन्धुपाल्चोक — जुगल गाउँपालिका २ लिदीका ६० वर्षीय साङबहादुर दोङ त्रिपालमुनि बसेर टोलाइरहेका छन् । शुक्रबारको पहिरोमा श्रीमती र आमा गुमाएका उनी अझै सम्हालिन सकेका छैनन् ।
‘भगवान्ले कहिल्यै सुख नपाएस् भन्ने लेखेको रैछ । आनन्दले बस्नै पाइएन् । सधैं भागाभाग गरेर जिन्दगी सकिने भयो ?’ साङबहादुरले आँसु पुछ्दै भने, ‘भूकम्पभन्दा ठूलो चोट यो पहिरोले दियो ।’ भूकम्पमा आफन्त गुमाएका लिदीका बासिन्दाले त्यसयता आफ्नै घरमा एक रात पनि ढुक्कसँग सुत्न नपाएको उनले बताए ।
साँघुरो बाटोमा चार वटा खहरेसँगै पहिरो छिचोलेर पुगिने दुर्गमको लिदीको अहिलेको अवस्था दयनीय छ । जिल्ला सदरमुकामबाट दुई दिन लाग्ने जुगल–२ लिदीका विस्थापितका दुःख पहिरोमा मात्रै सीमित छैन । ७२ वर्षीय स्थानीय सानु दोङ भूकम्पअघि लिदी सुन्दर गाउँ रहेको बताउँछन् । ‘पहिले यस्तो छँदै थिएन । झन्डाले सजिएका घरमा देवता पुजिन्थे । यहाँ आएपछि मनको रौनक अर्कै हुन्थ्यो । भूकम्प एकैपटक राक्षस बनेर आयो,’ उनले भने ।
०७२ को भूकम्पले लिदीका १ सय ७२ घर ध्वस्त बनाउँदा १० जनाले ज्यान गुमाए । भूकम्पका परकम्पन दोहोरिएपछि माथिल्लो डाँडा भासिएर पहिरो झर्न थालेयता स्थानीयको बिचल्ली छ । ‘आफन्त गुमाउनुको पीडामाथि हामी बेघर भएर भौंतारियौं । कहिले लप्सेडाँडा त कहिले गोठ गरेर दुई वर्ष बितायौं,’ उनले भने । भूकम्पको अनुदान पाएको ३ लाखमाथि ऋण लिएर पहिरो छल्दै केहीले घर बनाए पनि उनीहरूले सुखसँग बस्न पाएनन् । पहिरोले माथिबाट सोहोर्दै ल्याएपछि डरले घरबाट पर गोठमा बस्न थाले । बिहान मात्रै घर फर्किने गरेका सानुले भूकम्पको पीडा नर्बिसँदै पहिरोमा आमा र आफन्त गुमाए ।
गत असार २६ मा पहिरो बढ्न थालेपछि अत्तालिएर परिवारलाई माथिल्लो जंगलको गोठमा बस्नुपरेको साङबहादुरले बताए । ‘यहाँ जन्मिएर के पाप गरिएछ कुन्नि । अब यस्तो नहुने ठाउँमा गएर बस्न पाए हुन्थ्यो,’ उनले भने । शुक्रबार बिहानको पहिरोले विस्थापित भएका लिदीका १ सय ३५ परिवार छिमेकी लप्सेडाँडामा पाल टाँगेर बसेका छन् । उनीहरू तीन वटा गोठमा पालैपालो खाना पकाउँछन् ।
यहाँका १ सय ७२ मध्ये ३७ घर पुरिएका छन् । तीमध्ये १३ घरका ३९ जना बेपत्ता भएका थिए । सोमबारसम्म २२ जनाको शव भेटिएको छ । विस्थापित लिदीमा १ सय ३५ घरधुरीमा ७ सय ६० जनसंख्या छ । गर्भवती र बालबालिकालाई पालमुनि बस्न समस्या भइरहेको छ । लिदीसम्म पुग्न ज्यानकै बाजी लगाउनुपर्ने सडक र पैदल बाटो भएकाले हेलिकप्टरबाट राहत ल्याउनुपर्ने बाध्यता भएको स्थानीय फूलकाजी स्याङ्बो बताउँछन् ।
विस्थापित परिवारले लिदी छोडेर जान खोजे पनि आफूले महिना दिनमा सुरक्षित व्यवस्थापन गर्ने आश्वासन दिएर रोकेको जुगल २ का अध्यक्ष प्रताप लामाले बताए । उनीहरूको सुरक्षित बासका लागि संघीय, प्रदेश, स्थानीय सरकारमा कागजी प्रक्रिया सुरु भइरहेको लामाले बताए । जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठका अनुसार यहाँका १४ मृतकका परिवारलाई जनही एक लाख दिइएको छ । अन्य बेपत्ता र मृतकका आफन्तका परिवारलाई जनही २५ हजार वितरण गरिएको छ ।
