रुकुम पश्चिम — गाउँमाथिबाट पहिरो खस्न थालेपछि बाँफिकोट-१ र ९ नम्बर वडाका ४४ परिवार विस्थापित भएका छन् ।
१ नम्बर वडाको सादनमुरा, रेवतखोला र मुसीगारेका ३० परिवार विस्थापित भएका हुन् भने पहिरोकै डरले ९ नम्बर वडाको कौछेनका १४ परिवारले घर छाडेको २ साता पुग्यो ।
१ नम्बर वडाका ३ बस्तीमाथिको मिठेऔंलाबाट पहिरो खस्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । मिठेऔंलाको जमिन भासिएर ठूलो ढुंगा निस्केको वडाध्यक्ष हर्कु मल्लले बताए ।
‘ढुंगा खस्दा ठूलो पहिरो जाने र ठूलो क्षति हुने देखियो,’उनले भने,‘पीडित परिवारलाई आफन्तको घर र सार्वजनिक भवनमा सारिएको छ ।’ जोखिम बढाएको ढुंगा फोड्ने काम भइरहेको उनले जानकारी दिए ।
पहिरोको जोखिम बढेपछि दिउँसो घरमा काम गर्न आए पनि सुत्न सुरक्षित स्थानमा जाने गरेको स्थानीय टेकबहादुर ओलीले बताए । ‘सबैतिर धाँजा फाटेको छ,’ उनले भने, ‘ठूलो ढुंगा झर्ने खतरा बढेपछि गाउँमा बस्न सकिएन ।’ ग्रामीण सडक निर्माणका क्रममा १ नम्बर वडाको अधिकांश भूगोल फाटेको उनको भनाइ छ ।
कर्णाली प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटबाट भेराखेत–बाइबाङ–मोरावाङ–पिपल जोड्ने सडक निर्माण गरिएको थियो । असार पहिलो हप्ता थालिएको उक्त सडक निर्माणको काम असार २९ गतेसम्म चलेको थियो । ठूलो झरीमा पनि सडक निर्माण भएकाले धेरै जमिनमा असर परेको वडाध्यक्ष कविराम खत्रीले बताए । ‘अहिले अरु केही गर्न सक्ने अवस्था भएन, मानवीय क्षति जोगाउने उपायमा लागेका छौं,’ उनले भने, ‘कौछेन जोखिममा पर्नुको मुख्य कारण नै सडक निर्माण हो ।’ गाउँमाथि र मुनि दुवैतिर सडक निर्माण हुँदा कौछेन जोखिममा परेको उनको भनाइ छ ।
जिल्लास्तरीय टोलीले समेत जोखिमयुक्त गाउँको स्थलगत अध्ययन गरी बस्तीमा नबस्ने स्थानीयलाई सुझाव दिएको थियो । त्यस्तै, आठबीसकोट नगरपालिका–६, दामाचौरका ११ परिवार पनि बाढीको उच्च जोखिममा छन् । उसुमखोलामा आएको बाढीले आसपासको बस्ती जोखिममा परेको हो । बाढीले मकैसहितका केही बारी त बगाइसकेको वडाध्यक्ष डिलबहादुर सार्कीले बताए । उनका अनुसार बाढीको जोखिम बढ्दै गएपछि प्रभावित परिवारलाई अन्यत्र सार्ने तयारी थालिएको छ ।
