कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना संक्रमण : सर्वोच्चका सेवामा फेरि कटौती 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण बढ्दै गएको र न्यायाधीशका सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि सेवामा कटौती गरेको छ । 

कोरोना संक्रमण : सर्वोच्चका सेवामा फेरि कटौती 

सर्वोच्च अदालतले शुक्रबार एक सूचना जारी गर्दै फैलिँदो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सेवामा कटौती गरेको जनाएको हो ।

सर्वोच्चले जारी गरेको सूचनाअनुसार भदौ १५ गतेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ हुने, गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाई हुनुपर्ने रिटको दर्ता र सुनुवाई मात्रै गर्नेछ । त्यस्तै, मुद्दा फिर्ता र मिलापत्रका काम मात्रै हुनेछन् ।

भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाई नहुने भएको छ । त्यस्तै, पुराना मुद्दाका पुनरावेदन र पुनरावलोकनको सुनुवाई रोकिएको छ भने सार्वजनिक सरोकारको रिटमा पनि तत्काल सुनुवाई गर्नैपर्ने बाहेकका अरुमा सुनुवाई नहुने भएको छ । काठमाडौं उपत्यकाको हकमा भने साउन ८ गतेबाट सुरु भएको म्याद र हदम्याद कायम हुने सर्वोच्चले जनाएको छ ।

लकडाउन खुलेपछि कोरोना संक्रमण बढ्दै गएको र विभिन्न जिल्लामा पुनः लकडाउनको अवस्था आएकाले अदालतका काममा संकुचन ल्याउनुपर्ने अवस्था आएको सर्वोच्चले जनाएको छ ।

'काठमाडौं उपत्यकामा समेत संक्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, माननीय न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा संक्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनु परेको अवस्था छ,' अदालतको सेवामा कटौती गर्नुपर्नाको कारणबारे सर्वोच्चको सूचनामा भनिएको छ, 'यस परिस्थितिमा सेवाप्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट समेत अनुरोध भई आएको छ ।'

सर्वोच्च अदालतका दुईजना न्यायाधीश होम क्वारेन्टाइनमा बसिरहेका छन् । न्यायाधीशहरू ईश्वर खतिवडाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनले आफू होम क्वारेन्टाइनमा बसेको सामाजिक संजालमार्फत जानकारी दिएका थिए ।

खतिवडासँगको इजलासमा आफू पनि बसेको भन्दै न्यायाधीश हरि फुयाँलले पनि आफू होम क्वारेन्टाइनमा बसेको जानकारी दिएका थिए ।

सर्वोच्चको सूचनाः

प्रकाशित : श्रावण ३०, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?