अब बुटवलमा आधा घन्टामै कोरोना परीक्षण नतिजा

श्रावण ३०, २०७७

अमृता अनमोल

बुटवल — शंकास्पद व्यक्तिको घाँटी स्वाबबाट लिइएकाे नमुनाबाट आधा घण्टामा नतिजा आउनेगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि कोरोना भाइरस परिक्षणका लागि नयाँ मेसिन जडान गरिएको छ ।

मेसिनले कोरोना संक्रमण छ भने ४५ मिनट र छैन भने ३० मिनटमै नतिजा दिन सक्छ । मेसिनको प्रति घण्टा ४ वटा स्वावका नमुना परिक्षण गर्न सक्ने क्षमता छ । जटिल र आकस्मिक विरामी लक्षीत गरिएको यसको परिक्षण सेवा निशुल्क गरिएको छ ।

अस्पतालका मेसु डा. राजेन्द्र खनालले आकस्मिक रुपमा कोरोना पोजीटिभ छ छैन भनेर पत्ता लगाउन एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु मेसिन जडान गरिएको बताए । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी कोरोना परिक्षण सेवा शुरु गरिएको हो ।

‘सामान्य पीसीआर परीक्षणको नतिजा ढिला हुँदा उपचार समस्या भयो,’ उनले भने, ‘त्यसैले आकस्मिक रुपमा जाँच गर्न यस मसिनलाई प्रयोगमा ल्याइएको हो ।’

सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेसिनबाट आˆनै स्वाव परिक्षण गरेर सेवा शुभारम्भ गरे । कोरोना भाइरसका जटिल बिरामी बढीरहेका बेला जाँचलाई छिटो छरितो बनाउन मेसिन उपयोगी हुने उनले बताए । अस्पतालले यसअघि सशुल्क कोरोना भाइरस परीक्षण गर्ने मेसिन राखेको थियो ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully