२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेकपामा द्वन्द्व पद्धति कि पदको ?

‘आफूहरुको लडाइँ विधि र पद्धतिका लागि हो भन्ने स्पष्ट पार्न’ भन्दै दाहाल, नेपालसहितका नेताले गरेको पत्रकार भेटघाटपछि नेकपाभित्रको विवाद झन् चर्केको छ । ओली पक्षले त्यसलाई पार्टीमा विग्रह ल्याउने घटनाकै शृंखलाका रुपमा बुझेको छ ।
दुर्गा खनाल

काठमाडौँ — पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरूप गत बुधबार अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङबीच कुराकानी हुने तय भएको थियो । तर त्यही दिन दिउँसो २ बजे दाहाल, खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले राजधानीको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा केही सञ्चारमाध्यमका पत्रकारहरूसँग अनौपचारिक भेट गर्दै पार्टीभित्रको पछिल्लो विवादको चुरोबारे स्पष्ट पारे ।

नेकपामा द्वन्द्व पद्धति कि पदको ?

पार्टी विवाद चर्किएका बेला चार नेताले गरेको छुट्टै पत्रकार भेटघाटको खबर प्रधानमन्त्री ओलीसमक्ष तत्काल पुगिहाल्यो । सहमति खोज्नका लागि बैठकको तयारी गरिरहँदा दाहाललगायत नेताले पत्रकार भेटघाट गरेपछि ओली रुष्ट भए । दाहालसहित बस्ने भनिएको बैठक रोकियो । साँझसम्म पत्रकार भेटघाटमा दाहाल, खनाल, नेपाल र श्रेष्ठले बोलेका कुरा सञ्चारमाध्यममा हुबहु आए, जसलाई बालुवाटारले आपत्तिजनक ठान्यो । त्यही भेटघाटपछि रुष्ट ओली र उनी पक्षका नेताहरूलाई शुक्रबार बिहान अर्को त्यस्तै खबरले झन् चिढ्यायो । खबर थियो– ‘चार जना नेताले नक्सालस्थित होटल मेरियटमा सम्पादकहरूसँग भेटघाट गर्दै छन् ।’

त्यसपछि बालुवाटारबाट प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध शाब्दिक फायर खोले । रिमालले ट्वीट गरे, ‘इनफ इज इनफ नारायणकाजी, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुहोस् । विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्, पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ, महसुस होस् ।’

यो समूहमा चार जना नेता छन् तर श्रेष्ठमाथि ओली पक्षका नेताहरूले बढी प्रश्न उठाउनुको कारणचाहिँ प्रवक्ता पदलाई प्रयोग गरेर श्रेष्ठको योजनामा पत्रकार भेटघाट बोलाइएको हो र त्यहाँ उनले गुटका कुरालाई पार्टीको धारणाका रूपमा ल्याउन खोजे भन्ने छ । त्यसैले रिमालले श्रेष्ठप्रति कडा टिप्पणी गर्दै लेखेका हुन् । यद्यपि शुक्रबार तोकिएको सम्पादकहरूसँगको भेटचाहिँ पछि दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको बहानामा रद्द भयो । तर यी दुवै घटनाले नेकपा विवादको आगोमा घिउ थप्ने काम गरेको छ । दाहालसहितका नेताले पत्रकारहरूसँग भेटघाटको उद्देश्य आफूहरूको लडाइँ विधि र पद्धतिका लागि हो भन्ने स्पष्ट पार्नका लागि भएको तर्क गरेका छन् । प्रधानमन्त्री ओली पक्षले भने यसलाई पार्टीमा विग्रह ल्याउने घटनाकै शृंखलाका रूपमा बुझेको छ । ‘अस्तिको भेटघाट अस्वाभाविक र अनपेक्षित छ, यसले हामीलाई चिन्तित र गम्भीर तुल्याएको छ,’ स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, ‘पार्टीभित्र छलफल र समस्या समाधानका लागि कुराकानी चलिरहँदा यो खालको गतिविधि सामान्य परिघटना होइन ।’

अध्यक्ष दाहालसहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टीको विधि र पद्धतिअनुसार नचलेको लामो समयदेखि आरोप लगाउँदै आएका छन् । तर ओलीले भने दाहालसहितका नेताहरूको गठबन्धन आफूलाई पदबाट हटाउने र त्यो पदमा पुग्ने उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । यही पृष्ठभूमिमा पदका लागि होइन, विधिका लागि लडिरहेको भन्ने स्पष्ट पार्न चार नेताले पत्रकार/सम्पादकहरूलाई भेट्न खोजेका थिए । तर त्यही घटना अहिले पार्टीभित्रको विवादका लागि नयाँ मसला बनेको छ । ‘पार्टीलाई विधिसम्मत ढंगले चलाउनुपर्छ, यसमा सबै तयार हुनुपर्छ भन्ने कुरा हामीले गर्दै आएका छौं,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘तर विधिअनुसार चल्नेभन्दा अन्यथा ढंगले अघि बढ्न खोजिएको छ, यो कुरा हामीले स्पष्ट गर्न खोजेका हौं ।’

पदका लागि नभई विधि, पद्धतिअनुसार पार्टी चलाउने प्रयास भन्ने दाहालसहितका नेताहरूको तर्कलाई पत्याउन ओली पक्ष तयार छैन किनकि यो विधि, पद्धतिको कुराभित्र मुख्य रूपमा ओलीेले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषय जोडिएको छ । ओलीले राजीनामा दिनुपर्ने सर्त तेर्स्याएर गरिने विधि र पद्धतिको तर्क हास्यास्पद रहेको उनीहरूको भनाइ छ । ‘राजीनामाबाट कुरा सुरु गर्ने अनि यो सबै काम पदका लागि होइन विधि र पद्धतिका लागि हो भन्दा कसले पत्याउँछ ?’ ज्ञवालीको तर्क छ ।

नेकपाको विवादभित्र विधि, पद्धतिभन्दा पदको कुरा बढी प्रभावी देखिन्छ । दुवै पक्षले विधि र पद्धतिलाई प्रधान ठान्ने हो भने विधिसम्मत सुरु भएको स्थायी कमिटी बैठक एउटा प्रक्रियामा पुगेर नटुंग्याई एक महिनाभन्दा बढी समयदेखि अलपत्र पार्ने थिएनन् । गत असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक अझै टुंगिएको छैन । बैठकका लागि तय भएका एजेन्डा अलपत्र छन् ।

सचिवालय कि स्थायी कमिटी ?

गत साउन १३ गते अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरिदिएपछि बहुमत सदस्यले बालुवाटारमै आफ्नो पक्षको बैठक गरे । त्यही बैठकपछि टुटेको संवाद जोड्न यो बीचमा ओली, दाहाल, खनाल र नेम्वाङबीच दुईवटा बैठक बसे । तेस्रो बैठक नबस्दै पत्रकार भेटघाटको विवाद सुरु भइहाल्यो । त्यसपछि ओली र दाहालबीच तीन दिनयता टेलिफोन संवाद पनि भएको छैन । दुवै पक्षबीच कुन कमिटीको बैठक बोलाउने भन्नेमै विवाद छ ।

प्रधानमन्त्री ओली विवाद समाधानको दिशामा जाने हो भने सबै कुरा सचिवालयमा छलफल गर्ने, त्यसपछि स्थायी कमिटीमा जानुपर्ने पक्षमा छन् । तर दाहालसहितका बहुमत पक्षका नेताहरू गत साउन १३ गते बालुवाटारमा भएको स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् । ‘स्थायी कमिटीमा यति धेरै एजेन्डाहरू छन्, तिनलाई टुंगो लगाएर जानुपर्छ, रोकिएको बैठक सुरु गर्नॅपर्छ,’ खनालले भने । ओली भने अहिलेकै अवस्थामा स्थायी कमिटी बैठकमा जान चाहेका छैनन् । यसअघिका धेरै वटा बैठकमा उनी सहभागी भएनन् । बैठकमा आफ्नो बदख्वाइँ गर्ने काम मात्र भएपछि उनी जान छोडेका हुन् । त्यसैले अब उनी सचिवालयको बैठकबाट मात्रै छलफल अघि बढाउन चाहन्छन् ।

कसको के गल्ती ?

नेकपाका नेताहरूका अनुसार पार्टीभित्र विवादको लामो शृंखला चल्नुमा दुवै पक्षका नेताहरूले विगतमा गरेका गल्ती र कमजोरी कारक छन् । समयमै ती कमजोरी नसच्याउँदा अहिले दुर्घटनाको अवस्था सिर्जना भएको हो । ओली पक्षका बुझाइमा दाहालसहितका नेताहरूको समूहले सुरुदेखि नै असहयोग गर्‍यो । सरकार बनेको एक वर्षमै दाहालले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने कुरा बाहिर ल्याइदिए । नियुक्ति, सरुवा–बढुवामा दाहाल, नेपाल, खनाल, श्रेष्ठसहितका नेताले हरेकपटक आफ्ना मान्छे राख्न चाहे । त्यस्तै सरकारले गरेका राम्रा कामको कहिल्यै प्रशंसा गरेनन् । विपक्षी नेताहरूले समेत प्रशंसा गरेका विषयमा आफ्नै पार्टीकाले असहयोग गरे ।

यस्तै गुनासो ओलीमाथि पनि छ । दाहाललगायत नेताहरूका अनुसार ओलीले आफू प्रधानमन्त्री बनेपछि पार्टीलाई वास्ता गरेनन् । सुरुमै मन्त्रिपरिषद् आफूखुसी एकलौटी गठन गरे, दर्जनौं नियुक्तिमा सल्लाह गरेनन्, सरकारका तीनवटा नीति तथा कार्यक्रम र बजेट आए, त्यसबारे कहिल्यै पार्टीका नेताहरूसँग छलफल गरेनन् । त्यति मात्र होइन, आफ्नै सहयोद्धाहरूलाई तेजोवध गरे । दुई पक्षका नेताहरूबीच यस्तै आपसी गल्ती र मनमुटावका कारण अहिले एकले अर्कालाई सिध्याउने बिन्दुमा नेकपाका नेताहरू आइपुगेका छन् ।

के फुट्ला त ?

झन्डै एक वर्षदेखि चुलिएको शक्तिसंघर्ष अहिले उत्कर्षमा पुगेको छ । एकले अर्कालाई गर्ने विश्वास पूरै टुटेको छ । यही कारण नेकपा पंक्तिभित्र अहिले पार्टी फुटको आशंका व्याप्त छ । विवाद के फुटको तहमा पुग्छ त ? यो प्रश्नमा नेताहरूको औपचारिक जवाफचाहिँ ‘फुट्दैन’ भन्ने हुन्छ तर अनौपचारिक रूपमा चाहिँ पार्टी पंक्तिलाई जुनसुकै स्थिति आउन सक्छ भन्ने ब्रिफिङ गरिरहेका छन् । फुटको हल्लाको पछाडि एउटा पक्षले अर्कोलाई दोषारोपण गर्छन् । ‘पार्टी विभाजन प्रधानमन्त्रीले गर्नुहुन्छ भनेर निरन्तर रूपमा खुमलटारमा खेती भइरहेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, ‘उहाँ (ओली) फुटेर होइन, पार्टीभित्र निर्वाचित भएर अध्यक्ष बन्दै यहाँसम्म आइपुग्नुभएको हो । त्यसैले फुट उहाँको रोजाइ हुन सक्दैन ।’

थापाका अनुसार अहिलेको विधानको व्यवस्थाअनुसार पनि पार्टी एकता गर्दाको सहमतिका आधारमा चल्नुपर्छ भन्ने प्रधानमन्त्रीको भनाइ छ । पार्टीको विधानमा दुई अध्यक्षको सहमतिमा चल्ने र बहुमतबाट निर्णय गर्ने दुवै खालका कुरा छन् । त्यसैले बहुमतको निर्णयबाट अघि बढ्ने भन्ने कुराले मात्र पार्टी एकताको स्पिरिट नबोक्ने उनले बताए । त्यसैले दाहालसहितका नेताहरूले भनेको बहुमतको कुरा एकताको स्पिरिटविपरीत हो । पार्टी एकता गर्दा तत्कालीन एमालेको ६० र माओवादी केन्द्रको करिब ४० प्रतिशत प्रतिनिधित्व थियो । बहुमतबाट मात्र निर्णय हुने विधानको स्पिरिट हो भने माओवादी पक्ष सधैं अल्पमतमा हुने अवस्था रहन्थ्यो । त्यही भएर दुवैको सहमतिमा भन्ने वाक्यांश विधानमा राखिएको ओली पक्षको तर्क छ । तर अहिले त्यही बिर्सेर विधि, पद्धति र विधानको कुरा भन्दै बहुमतको डन्डा बर्साउन खोज्दा ओलीको पारो तातेको हो । उनी महाधिवेशनबाट चाँडै नेतृत्व हस्तान्तरण गर्न तयार छन् तर संक्रमणकालीन अवस्थामा बहुमत/अल्पमत स्वीकार्न तयार छैनन् ।

सहमतिसाथ अघि बढ्नुपर्ने कुरामा दाहालसहतिका नेताहरूको पनि विमति छैन तर पार्टी एकता गर्दा भएको समझदारी र विधानको स्पिरिटअनुसारको सहमति भन्ने कुरालाई ओलीले नै लत्याएर हिँड्दा यो स्थिति आएको हो । अहिले ओलीले बहुमत छ भने कारबाही गरेर देखाउनुहोस् भन्दै दाहाललगायत नेताहरूलाई ठाडै चुनौती दिएका छन् । यता दाहालसहितका नेताहरूले चाहिँ ओलीले नै पार्टी विभाजन गर्दैछन्, त्यसका लागि फुटाउने अध्यादेश ल्याउन लागेको प्रचार गरेका छन् । यो स्थितिलाई हेर्दा दुवै पक्ष कसले पहिले फायर खोल्ने भन्ने जस्तो पनि देखिन्छ । ओलीले अध्यादेश ल्याए पार्टी फुटको दोष उनलाई जान्छ । यता दाहाल–नेपालले बहुमतबाट ओलीलाई हटाउने निर्णय गरे भने त्यसको दोष उनीहरूतर्फ सोझिन्छ । त्यसैले दुवै दोषको भागीदार बन्न तयार छैनन् । त्यसैले विवाद उत्कर्षमा पुग्दा पनि उनीहरूबीच वारपार भएको छैन । दुवै पक्षका नेताहरू अहिलेको अवस्थालाई ‘आन्तरिक अन्तरसंघर्षको चरम रूप’ मान्छन्, जुन केही समय अझै लम्बिन्छ ।

गौतमको प्रस्ताव समाधानको बिन्दु हुन्छ ?

उपाध्यक्ष वामदेव गौतमले गत १३ गते सहमतिका लागि भन्दै ६ बुँदे एउटा प्रस्ताव अघि सारेका छन् । उक्त प्रस्तावमा प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नु नपर्ने, अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी भूमिकाको व्याख्या गर्नुपर्नेलगायत विषय छन् । गौतमको त्यही प्रस्तावलाई अहिले ओलीलगायत उनी पक्षका नेताहरूले सहमतिका आधार ठानेका छन् । यो प्रस्ताव आएकै दिन प्रधानमन्त्री ओलीले गौतम निवासमा पुगेर डिनर भेटघाट गरे । अहिले गौतमको प्रस्ताव ओलीका लागि रक्षाकवच बनेको छ । त्यसैले ओली पक्षका नेताहरू त्यही विन्दुबाट समाधान खोज्नुपर्ने धारणा राखिरहेका छन् । ‘एकताको विकल्प छैन, त्यसैले अहिले वामदेव कमरेडले ल्याएको प्रस्तावको सेरोफेरोमा बसेर अघि बढ्नुपर्छ,’ स्थायी कमिटी सदस्य ज्ञवालीले भने ।

उक्त प्रस्ताव ल्याएपछि गौतम दाहाल–नेपालसहितका नेताहरूको समूहबाट अलग भएका छन् । उनले शुक्रबार पनि विज्ञप्ति जारी गर्दै आफू स्वतन्त्र रहेको जनाएका छन् । ‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग क. केपी ओली, क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. माधवकुमार नेपाल जोडिनुभएको छ । म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्नँ,’ गौतमले भनेका छन् । गौतमको प्रस्तावमा दाहाल–नेपालसहितका नेताहरूले चाहिँ प्रतिक्रिया दिएका छैनन् । तर उनीहरूको आन्तरिक विश्लेषणमा गौतमको प्रस्ताव ओलीका लागि सहज गराउने हिसाबले आएको भन्ने छ । ‘वामदेवको प्रस्ताव त केपीका लागि कुसनजस्तो भएको छ, आराम गर्नका लागि सहयोग मिलेको छ,’ ओलीसँग असन्तुष्ट एक नेताले भने, ‘यसले समाधान दिँदैन ।’

अहिले गौतमले ल्याएको प्रस्तावमा दाहाललाई पनि कार्यकारी अध्यक्षका रूपमा जिम्मेवारी सुनिश्चित गर्ने कुरा छ । आफूलाई पनि फाइदा हुने प्रस्ताव आउँदा दाहालचाहिँ किन मानिरहेका छैनन् त ? दाहालनिकट नेताहरूका अनुसार गौतमको प्रस्तावभित्र पार्टीमा अहिले देखिएका विधि–पद्धतिसँग जोडिएका समस्याहरू समाधान गर्ने ठोस सूत्र छैन । तर ओली पक्षको विश्लेषण अलि फरक छ । ‘दाहाललाई जसरी पनि अहिले नै प्रधानमन्त्री बन्नुपर्नेछ, गौतमको प्रस्तावले त्यो बाटो खुल्दैन, त्यसैले भाँडभैलो मच्चाउन खोजेका हुन्,’ ओलीनिकट अर्का एक नेताले भने, ‘तर अहिले एकता जोगाउने चाहने जोसुकै पनि गौतमको प्रस्तावअनुसारकै बाटोमा जानुपर्छ ।’

प्रकाशित : श्रावण २४, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?