कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपामा बैठककै बखेडा

अध्यक्षद्वयबीच साउन १३ को बैठक आधिकारिक हो कि होइन भन्नेमा गलफती भएपछि अरुले अहिले यो विषय रोकौं भन्नु परेको थियो ।
बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा साउन १३ गते बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक भएपछि नेकपा अध्यक्षद्वयबीच देखिएको संवादहीनता तोडिएको छ । यसलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ शिराबाट संवादको थालनी र गतिरोधमा ‘आइसब्रेक’ भनेका छन् ।

नेकपामा बैठककै बखेडा

अध्यक्षद्वय ओली र दाहालले १३ गते बालुवाटारमा छुट्टाछुट्टै बैठक गरेयता आपसमा छलफल भएको थिएन । ‘जतिसक्दो छिटो समस्या समाधान गरौं भनेर छलफलको सुरुवात भएको छ,’ आइतबारको बैठकमा सहभागी सचिवालय सदस्य झलनाथ खनालले कान्तिपुरसँग भने, ‘निकै दिनपछि छलफल सुरु हुनु आफैंमा राम्रो हो, पार्टी कमिटीका बैठकलाई नियमित गरौं, बैठकभित्रैबाट धेरै कुराको समाधान हुन्छ भनिएको छ ।’

दाहाल पक्षीय नेताहरूको १३ गतेको बैठकले स्थायी कमिटी बैठक नियमित गर्न ओलीसँग संवाद जारी राख्न दाहाललाई म्यान्डेट दिएको थियो । तर दुवै अध्यक्ष उदासीन देखिएपछि दोस्रो तहका नेताहरू सक्रिय भएका थिए । पछिल्ला दिनमा महासचिव विष्णु पौडेलले बारम्बार बालुवाटार र खुमलटार पुगेर पुनः छलफल थाल्न अध्यक्षद्वयलाई आग्रह गरेका थिए । ओलीले एक्लै भेट्न खोजिरहेको सन्देश पठाउँदा दाहालले बैठकमा एक्लै नबस्ने जवाफ दिएपछि आइतबार वरिष्ठ नेता खनालसहितको संवाद जुरेको हो ।

बैठकमा सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार अध्यक्षद्वयबीच सहमति गरेर जानुपर्छ भन्नेमा दुवै सहमत भएका छन् र सोमबार बस्ने बैठकले केही ठोस निष्कर्ष निकाल्न सक्छ । ‘पार्टीभित्र अहिले देखिएको समस्या वार्ता र छलफलका माध्यमबाट समाधान गर्नुपर्छ भन्नेमा विवाद रहेन,’ नेम्वाङले भने, ‘यसै गर्ने भनेर निष्कर्षमा पुगिएको त छैन तर छलफल निकै सकारात्मक दिशामा अघि बढेको छ ।’

बैठक स्रोतका अनुसार उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावलाई सहमतिको आधार बनाउन सकिने विषयमा संवाद भएको थियो । ‘३ घण्टाको छलफल भएपछि थुप्रै झिनामसिना कुरा पनि निस्किए,’ नेम्वाङले भने, ‘तर पुराना कुरा बिर्सिएर अध्यक्षद्वयकै बीचमा सहमति गरौं भनेर निकालिएको निष्कर्ष प्रमुख हो ।’ उनका अनुसार सोमबार बिहान ९ बजे बस्ने बैठकमा सहमतिको थप आकार आउन सक्छ । वरिष्ठ नेता खनालले पनि संवाद हुनु सकारात्मक भए पनि सहमति भने बनिनसकेको बताए । ‘छलफल जारी राखौं भन्ने नै कुरा भएको छ,’ उनले भने, ‘दुई अध्यक्षबीच सहमति हुनुपर्छ र कमिटी प्रणालीमा पनि हुनुपर्छ ।’

पुरानै कुरामा गलफती

आइतबार बैठकको सुरुमै १३ गतेको बैठक आधिकारिक हो कि हैन भन्नेमै दुई अध्यक्षबीच लामो गलफती भएको थियो । ‘संवादको सुरुवात नै १३ गतेको बैठकको समीक्षा गर्दै भयो,’ स्रोतले भन्यो, ‘केपीजीले म सहभागी नभएकाले बैठक नै हुन सक्दैन भन्नुभयो, प्रचण्डजीले तपाईंले मनलाग्दी गर्न मिल्ने हामीले किन नमिल्ने भनेर जवाफ दिनुभयो ।’ अध्यक्षहरूबीच गलफती बढ्न थालेपछि खनाल र नेम्वाङले अहिले यो विषय यही रोकौं भन्नुपरेको थियो । त्यसपछि छलफल स्थायी कमिटी बैठक कहिले बोलाउने भन्ने विषयमा केन्द्रित भयो ।

दाहाल र खनालले जारी स्थायी कमिटी बैठक कहिले बोलाउने भनेर ओलीसँग सोधेका थिए । ओलीले ‘साउन ३ मा सचिवालय बैठकमा भएको सहमतिअनुसार महाधिवेशनबारे विस्तृत कार्ययोजना लैजाऔं, त्यहीं समाधान खोजौं, स्थायी कमिटी बैठकको लफडा नगरौं’ भनेर जवाफ दिए । ‘बैठक गरौं भन्नेमा त सहमति भयो, तर स्थायी कमिटी कि सचिवालय बैठक भन्नेमा कुरा मिलेन, भोलि फेरि बस्ने भनेर उठियो,’ बैठकपछि दाहालले आफू निकट सचिवालय सदस्यहरूलाई बताए ।

यस्तै आइतबारको छलफलमा दाहाल र खनालले १ सय ५२ जना केन्द्रीय कमिटी सदस्यहरूले बैठकको माग गर्दै हस्ताक्षर बुझाइसकेकाले केन्द्रीय कमिटी बैठकबारे पनि सोच्नुपर्ने बताएका थिए । ‘तर उहाँ (ओली) ले अहिले यस्तो बेला केन्द्रीय कमिटी बैठक हुँदैन, स्थायी कमिटी बैठकबाट पनि कुनै निकास निस्किने होइन, किन बस्नु र भनेर सीधासीधै भन्नुभयो,’ दाहालले निकट सचिवालय सदस्यहरूसँग ब्रिफिङ गरे ।

दुईमध्ये एक पदबाट निकास दिन गरेको प्रस्तावलाई ओलीले फेरि पनि अस्वीकार गरेको एक नेताले बताए । ‘अहिले मैले दुवै पदबाट राजीनामा दिने कुरा हुँदैन, अध्यक्ष छाड्न तयार छु तर त्यसका लागि छिट्टै महाधिवेशन गरौं,’ ओलीले दाहाललाई जवाफ दिएका थिए । ओलीसँगको भेटलगत्तै दाहाल र खनालले आफू निकट सचिवालय सदस्यहरू माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई छलफलबारे ब्रिफिङ गरेका थिए । ‘कुरा जति लम्बेतान भए पनि विकास केही भएको रहेनछ,’ ब्रिफिङ सुनेका एक नेताले भने ।

दाहालले ओली पक्षीय नेताहरूले पार्टी फुटाउनुपर्छ भन्दै हिँडिरहेको खबर आफूले पाएको भनेर त्यसबारे पनि सोधेका थिए । जवाफमा ओलीले आफ्ना पक्षमा त्यस्ता कार्यक्रम भइरहने र ती सबै विषयमा आफूलाई थाहा नहुने बताएका थिए ।

दुवै पक्ष लचक छौं : झलनाथ खनाल

छलफल निकै दिन पछाडि फेरि सुरुवात भएको छ । यो आफैंमा राम्रो कुरा हो । हामीले पार्टीका आन्तरिक विषयमा कुराकानी गर्‍यौं । पार्टी एकतालाई कसरी सुदृढ गर्दै अगाडि बढ्ने भन्नेबारेमा कुरा भयो । कमिटीका बैठकहरूलाई नियमित गरौं, बैठकभित्रै धेरै कुरा आउँछन्, जस्तोसुकै कुरा पनि कमिटीका बैठकहरूमा अभिव्यक्त हुन्छन्, भन्यौं ।

प्रधानमन्त्री पनि बैठक गर्नुपर्छ भन्नेमा सहमत हुनुहुन्थ्यो । हामी दुवै पक्षले एकताको विकल्प एकताबाहेक अर्थोक हुन सक्दैन भन्नेमै जोड दियौं । पार्टीका नीति, निर्णय, विधि र पद्धतिलाई पालना गरेर जाने कुरालाई सर्वोपरि राख्नुपर्छ । दुवै पक्षको स्थिति हेर्दा आजको वार्ता सकारात्मक रूपमा अघि बढेको छ । मैले दुई अध्यक्षका बीचमा पनि सहमति हुनुपर्छ र कमिटी प्रणालीलाई स्थापित गरेर अघि बढ्नुपर्छ भनेँ । धेरै कथाकुथुंग्री नै गरियो, ती कथाकुथुंग्रीले नै आजको तीन घण्टामध्येको महत्त्वपूर्ण स्थान लियो ।

दुई अध्यक्ष सहमतिनजिक : सुवास नेम्वाङ

धेरै समयपछि दुई अध्यक्षबीच त्यति हार्दिक छलफल भएको हो जस्तो मलाई लाग्छ । अहिले देखा परिरहेको अप्ठ्यारोलाई कसरी फुकाउने र कसरी पार्टीको औपचारिक बैठक सुरु गर्ने भन्नेमै केन्द्रित रहेर बैठक भयो । समस्यालाई छलफल गरेर, निरन्तर वार्ता र संवाद गरेर समाधान गर्नुपर्छ भन्नेमा विवाद रहेन । दुई अध्यक्षबीच कुरा गरेरै समस्याको टुंगो लाग्छ, यसको विकल्प छैन भन्ने निष्कर्ष निस्किएको छ । आजै टुंगोमा पुर्‍याऔं भनेर कुराकानी सुरु भएको थियो, अन्तिममा यसलाई निरन्तरता दिऔं भनेर छलफलले निरन्तरता पाएको छ ।

दुई अध्यक्षबीच भोलि बिहान ९ बजे फेरि बालुवाटारमा हुन्छ । त्यसले सकेसम्म केही निचोड निकाल्ने भन्ने सल्लाह छ । सानातिना कतिपय कुरा सार्वजनिक रूपमा आइरहन्थे, त्यस्ता कुरा पनि उठे । तर ती कुरा दुई अध्यक्षले छलफल गरेर टुंगो लगाउँदै जानुभयो । त्यस्ता कुरा अब उठ्दैनन् भन्ने मलाई विश्वास छ ।

प्रकाशित : श्रावण १९, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?