निकास निस्कने गरी छलफलमा बस्‍न ओलीलाई महासचिवमार्फत दाहालको प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले महासचिवमार्फत अर्का अध्यक्ष केपी शर्मा ओलीलाई निकास निस्कनेगरी छलफलमा बस्न प्रस्ताव गरेका छन् । बिहीबार महासचिव विष्णु पौडेललाई खुमलटार बोलाएर अध्यक्ष दाहालले ओलीलाई यस्तो प्रस्ताव गरेका हुन् ।

निकास निस्कने गरी छलफलमा बस्‍न ओलीलाई महासचिवमार्फत दाहालको प्रस्ताव

साउन १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरेका थिए भने दाहालले बहुमत सदस्य सहित बैठक राखेका थिए । सोही बैठकले स्थायी कमिटीको अर्को बैठक राख्न अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर पहल गर्ने जिम्मा अध्यक्ष दाहाल दिएको थियो । साथै ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत बैठकले निकालेको थियो । उक्त बैठकपछि ओली र दाहालबीच संवाद भएको छैन ।

तर, अध्यक्ष दाहालले महासचिव पौडेललाई बोलाएर समाधानमूखि ढंगले छलफलका लागि ओली तयार हुनुपर्ने त्यहीअनुसार समय मिलाउन प्रस्ताव गरेका हुन् ।

‘मुख्यतया निकासका बारेमा छलफल गर्नुपर्‍यो । छलफल गर्ने 'स्पिरिट' सहित भेट्न पर्‍यो भनेर महासचिवलाई अध्यक्ष दाहालले भन्नु भएको छ,’ एक नेताले भने । भेटघाट र छलफल विवाद समाधान गर्ने 'स्पिरिट'सहित होस् भन्ने उत्तरको अपेक्षामा दाहाल बसेको ती नेताले बताए । महासचिव पौडेलले दाहालको प्रस्ताव ओलीलाई पुर्‍याएका छन् । तर, ओलीले अहिलेसम्म भेटघाटको समयबारे खबर गरेका छैनन् ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि भेटघाटको समय तय नभइसकेको जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?