काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा परीक्षणको दायरा बढाउनका लागि विभिन्न १४ वटा अस्पतालसहित सबै हब अस्पताल तथा कोभिड क्लिनिक अस्पतालमा स्वाब संकलन केन्द्र स्थापना गरिएको बताएको छ । मन्त्रालयले मंगलबार जारी गरेको एक सूचना अनुसार ती अस्पतालहरुमा बिहान ९ बजेदेखि १ बजेसम्म परीक्षणका लागि नमुना संकलन हुनेछन् ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार परीक्षणको मापदण्डमा परेकाहरुको परीक्षण निशुल्क गरिने छ ।
मन्त्रालयको सूचना अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, विरेन्द्र अस्पताल, स्टार अस्पताल , नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसूति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन केन्द्रका लागि तोकेको हो । त्यसैगरी सम्पूर्ण हब अस्पतालहरु, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२, ३ अस्पतालहरु पनि स्वाब परीक्षण गरिनेछ ।
मन्त्रालयले काठमाडौँमा कोभिड संक्रमण बढिरहेकाले जोखिम रहेको बताउँदै शंकास्पद बिरामीको सम्पर्क आएका व्यक्तिहरु र जोखिमयुक्त स्थानहरुबाट आएका व्यक्तिहरुले नजिकैको पायक पर्ने केन्द्रमा स्वाब संकलन केन्द्रमा जान आग्रह गरेको छ ।
सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कन र भिडभाड नगर्ने , चाडपर्वहरु घरमै बसी मनाउन मन्त्रालयले अपिल गरेको छ ।
