१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मास्क, मास्क, मास्क !

व्यक्तिगत दूरी कायम गर्ने, सही तरिकाले मास्क लगाउने, साबुनपानीले हात धुने र भेन्टिलेसन भएको कोठाको मात्र प्रयोग गर्नु नै कोरोना संक्रमणबाट बच्‍ने मुख्य उपायहरु हुन् ।
शेरबहादुर पुन

बाटोमा हिँड्दा, सार्वजनिक यातायातमा, तरकारी/फलफुल थोक बिक्री हुने ठाउँमा वा बाटोमा याद गरौं, दुई परिचितबीच कुरा गर्दा हेरौं, यी सबैमा लगभग शतप्रतिशतले मास्क राम्रोसँग प्रयोग गरेको देखिँदैन । अरु त अरु अस्पतालहरुमा दुई तीन घण्टाको लामपछि टिकट लिने बेला नाक मुख छोपिरहेको मास्क पनि चिउँडोमुनि झारेर ठूलो स्वरमा बोल्ने गरेको पाइन्छ ।

मास्क, मास्क, मास्क !

मास्क एक्लोभन्दा पनि दुई वा दुईभन्दा बढी व्यक्तिबीच कुराकानी गर्दा सही तरिकाले लगाउने हो । अनुसन्धानहरुले मास्क कोरोना भाइरसबाट बच्ने उपायमध्ये सबैभन्दा राम्रो उपाय हुने देखाएका छन्।

मास्कको प्रयोग नेपालमा नौलो भने होइन। विगत केही वर्षयता विशेषत: बाटो बनाउने, बढाउने वा मर्मत गर्ने कार्य हुँदा धुलो धुँवाको प्रभावबाट बच्न मास्कको प्रयोग हुँदै आइरहेको थियो । नेपालमा जबजब मौसमी फ्लू देखिन्छ र मनिवीय क्षति हुन्छ, तब पनि मास्कको प्रयोग गर्ने गरेको पाइन्छ । तर श्वासप्रश्वास सम्बन्धित समस्याको जटिलताको कारणले बिरामी अस्पताल भर्ना हुनुपर्ने चाप बर्सेनि बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँदछ । कोरोनाको यो महामारीमा मास्क सही तरिकाले नलगाएको अवस्थालाई विश्लेषण गर्दा विगतदेखि सही तरिकाले मास्क नलगाउने गरेको रहेछ भनेर अनुमान गर्न सकिन्छ । तर, त्यो बेला अहिले जस्तो मास्क लगाउने तरिकालाई लिएर बहस वा चर्चा हुने गर्दैनथ्यो । यदि त्यो गरेको भए सायद कोरोना महामारीमा मास्क प्रयोग कसरी गर्ने भन्ने बारे जानकारी दिनुपर्ने अवस्था आउँदैनथ्यो होला।

मास्क लगाउँदा दूरी कायम गर्नुपर्ने/ नपर्ने पनि हामीबीच बेलाबेलामा प्रश्न उठ्ने गरेको पाइन्छ । कोरोनाको भाइरस हाच्छिउँ गर्दा वा खोक्दा मुख र नाकबाट निस्कने तरल पदार्थको छिटामार्फत (पाँच माइक्रोनभन्दा ठूलो व्यास भएको) एक मिटरभित्र आमने सामने जो कोहीको नाक, मुख, वा आँखासम्म सहजै पुग्न र संक्रमित गर्नसक्ने हुन्छ । तसर्थ विशेष गरेर क्यान्टिन, भोजभतेर, हड्ताल/नाराबाजी, कार्यालयको टिकट काउन्टर, सार्वजनिक यातायात, फुटकर व्यापारिक स्थान आदिमा मानिसहरुले दूरी पनि कायम नगर्ने र मास्क पनि नलगाउनाले कोरोना संक्रमणको उच्च जोखिम हुन्छ ।

केही समय अगाडि काठमाडौं बाहिरबाट आइपुगेका एक व्यक्तिलाई लक्षण नदेखिएकोले परीक्षण नगरी १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको थियो । उनी क्वारेन्टाइनमा नबसी आफ्नो फुटकर व्यवसायमा संग्लग्न भए । केही दिनपछि उनमा लक्षण देखियो, अस्पताल आएर परीक्षण गर्दा कोरोना संक्रमण पनि पुष्टि भयो । अहिले नेपालको कोरोना हटस्पट भनिएका ठाउँ तथा भारतबाट मानिसहरु आउने क्रम तीव्र रहेको छ । कारणवश सबैको परीक्षण नभएको हुनसक्छ । प्रत्येकलाई परीक्षण गर्न सम्भव पनि हुँदैन । तसर्थ हामीले बाटोमा भेटेका जो कोही पनि संक्रमित हुनसक्दछ । त्यसैले संक्रमणबाट बच्न मास्कको प्रयोग नै सबैभन्दा उत्तम विकल्प हो ।

विशेष गरेर मानिसहरु बढी जम्मा हुने स्थानमा जाँदा मास्कको प्रयोग अनिवार्य नै हुनुपर्छ । जस्तो कि सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्छ । सानो आकारको यातायातमा व्यक्तिगत दूरी कायम गर्न नसकिने र हावा आवतजावत गर्ने व्यवस्था पनि राम्रो नहुँदा संक्रमण रोक्न मास्कको विशेष भूमिका हुने गर्दछ । भाइरस ठूलो स्वरले कराउँदा वा बोल्दा मात्र पनि एक मिटर दूरीभन्दा कममा रहेकालाई सर्नसक्ने सम्भावना हुन्छ । केही दिन अगाडि सार्वजनिक यातायातका चालकहरुलाई नेपालमा कोरोना संक्रमण भएको भन्ने सञ्चारमाध्यमबाट थाह भएको थियो। चालकहरुले मास्क सही तरिकाले नलगाउँदा या यात्रुसँग बारम्बार संवाद गर्दा कोरोना संक्रमणको उच्च जोखिम हुने गर्दछ।

उनीहरु कहाँबाट संक्रमित भए भन्ने आफैमा अर्को अनुसन्धानको विषय हो । किनभने चालकलाई यात्रुबाट सरिरहेको हो या उनीहरुको दैनिक कार्यमा आएका सकिसकेपछि आफ्ना साथीहरुसँग बस्दा जनस्वास्थका मापदण्डहरु पूरा नगर्दा हो भन्ने थाहा भए थप सजकता अपनाउन सहज हुनेछ।यात्रुबाट सरिरहेको भए समुदायमा व्यापक फैलिरहेको हुनसक्ने अनुमानसमेत गर्न सकिनेछ।

संसारमा कुनै पनि सेलिब्रेटीले जे र जस्तो तरिकाले पहिरन लगाउने गर्दछन्, प्रशंसकहरुले पनि त्यही अनुशरण गर्ने गर्दछन् । मास्क लगाउने सन्दर्भमा पनि यो लागू हुनसक्दछ । कतिपय स्वास्थ्यसम्बन्धी प्रचारमा सेलिब्रेटीहरुको पनि सहभागिता भएको पाइन्छ । तर कोरोनाको प्रचारमा हालसम्म नगन्य मात्रामा मात्र देखिन्छ । त्यसैले सार्वजनिक रुपमा देखापर्दा सेलिब्रेटीहरुले उचित तरिकाबाट मास्क प्रयोग गर्नु उचित हुने देखिन्छ । यसले सकारात्मक सन्देश जानेछ ।

हाल कोरोनाको विशेष औषधि छैन । त्यस्तै खोपको विकास पनि भइसकेको छैन । उपचारको लागि आईसीयू/भेन्टिलेटर सबै संक्रमितलाई बचाउने अचुक प्रविधि र उपाय होइन । पीसीआर परीक्षण रोग पहिचान गर्ने विधि हो र यसको मद्दतले रोग नियन्त्रण गर्ने, योजना बनाउनमा सहज गरिदिने मात्र हो । तसर्थ मृत्युदरलाई कम गर्न हामीसँग हाल कोरोना संक्रमण रोक्ने उपायहरु अवलम्बन गर्नु बाहेक अरु विकल्पहरु छैनन् । नेपाल मात्र होइन विश्वसँग पनि कोरोनाको मृत्यु छल्नका लागि यिनै उपायहरुमा निर्भर रहनुपर्ने बाध्यता छ। युरोप, अमेरिका र भारतमा जनस्वास्थका मापदण्डहरु राम्रोसँग अनुशरण नगर्दा गर्दा कोरोनाको भयावह स्थिति सिर्जना भएको सर्वविदितै छ ।

व्यक्तिगत दूरी कायम गर्ने, सही तरिकाले मास्क लगाउने, साबुन पानीले हातधुने र भेन्टिलेसन (हावा आवत-जावत) भएको कोठाको मात्र प्रयोग गर्नु नै कोरोना संक्रमणबाट बच्ने मुख्य उपायहरु हुन् । यसमा पनि विभिन्न बाध्यता/व्यवहारिक कठिनाइका कारणले गर्दा व्यक्तिगत दूरी कायम गर्न, साबुनपानीले बारम्बार हात धुने अवस्था नहुन सक्दछ । तर कम्तीमा अनिवार्य मास्क लगाउनाले संक्रमणको जोखिममा भारी गिरावट आउनेछ ।

मास्कको मुख्य उद्देश्य आफूबाट अरुलाई वा अरुबाट आफूलाई संक्रमण हुनबाट रोक्नु हो । यसरी संक्रमण रोक्न सके यसको चेन ब्रेक हुनेछ, र चेन ब्रेक भएमा समुदायमा कोरोना नियन्त्रण गर्न सजिलो हुनेछ। तसर्थ कोरोना भाइरस नेपालमा तीव्र गतिमा फैलँदै गर्दा यसको संक्रमणबाट बच्ने अहिलेको लागि सबैभन्दा मुख्य उपाय र आवश्यकता भनेको नै 'मास्क, मास्क, मास्क' हो।

प्रकाशित : श्रावण २०, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?