१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डमा एकतर्फी यातायात सञ्‍चालन 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डमा भासिएका स्थानमा डाइभर्सन गरी सोमबार बिहानैबाट ठूला सवारी साधन ओहोरदोहोर गर्न मिल्ने बनाइएको छ । शनिबार दिउँसोदेखि रोकिएका मालवाहक सवारी साधनका साथै बस, मिनी ट्रकलाई डाइभर्सनपछि गन्तव्यतर्फ पठाइएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डमा एकतर्फी यातायात सञ्‍चालन 

सडक भासिएपछि सडकमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । भासिएका तीन स्थानमा एकतर्फी सवारी साधन सञ्चालन गरेको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले बताए । यसअघि नै तीन स्थानमा एकतर्फी सञ्चालन हुँदै आएको छ । राजमार्गको पाल्पादेखि बुटवलसम्म १० स्थानमा सडक एकतर्फी भएको छ ।

सडक डिभिजन पाल्पाले भासिएको सडकमा डाइभर्सन गरेपछि एकतर्फी रुपमा ठूला सवारी साधन सञ्चालन हुन सकेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । उनका अनुसार ग्राभेल राख्ने र माथिल्लो भागलाई कटिङ गरेर सडक सुचारु गरिएको छ । अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको विभिन्न स्थानमा भासिने, पहिरो जाने र ढुंगा खस्ने भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको उनले बताए ।

पहिरोमा सवारी साधन पुरिने, ढुंगा खसेर यात्रु घाइते हुने भएपछि प्रशासनले बेलुकी ८ बजेदेखि बिहान ७ बजेसम्मका लागि राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको प्रहरी उपरीक्षक दीपक खरेलले बताए । उनका अनुसार सवारी साधनलाई सजगता अपनाएर मात्र यात्रा गर्नका लागि प्रत्येक प्रहरी चौकीले आग्रह गर्ने गरेको छ ।

तिनाउ गाउँपालिका–३, दोभान बजारनजिकै सवारी साधन चलाउन नमिल्ने गरी सडक भासिएको छ । झण्डै ३० मिटर लम्बाइमा तिनाउ खोलातर्फ भासिएको छ । सिद्धार्थ राजमार्गको दोभानको नागमन्दिर, ड्यामसाइड, सिद्धबाबा, भूतखोला, झुम्सा पानीमिल, चौबीसमाइललगायतका स्थानमासमेत सडक भासिएको छ । झुम्सा पानी मिल र २४ माइलमा दुई वर्षअघि पहिरो खसेर सडक भासिन सुरु भएको थियो । नागमन्दिर नजिकैको सडक पुन: तीन मिटर सडक जगैबाट भासिएको छ ।

भासिएका र पहिरो खसेका स्थानमा एकतर्फी रुपमा सडक सञ्चालन भएको छ । पाल्पा–बुटवल सडककै तिनाउ–३, झुम्सा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको छ । सिद्धबाबा क्षेत्रमा पनि सडक भासिएको छ । माथिल्लो भागमा सिद्धार्थ मिनिरल्स र कञ्चन कोइरिज (चुनढुंगा उद्योग) मा जाने सडक जथाभावी खनेपछि झुम्सा पानी मिलमा सडक भासिन सुरु गरेको हो ।

प्रकाशित : श्रावण १९, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?