भिजेको रासन खाँदै विस्थापित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिजेको रासन खाँदै विस्थापित

 १६ सय ७१ परिवार अझै घर फर्कन पाएनन्, बालबालिका, सुत्केरी र अशक्तलाई सकस
मोहन बुढाऐर

भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले खाना पकाउन पाएकी हुन् ।

‘घर त डुबानमै छ,’ उनले भनिन्, ‘भोकै मर्ने भएपछि केही बचेको छ कि भनेर कम्मरसम्मको पानी तरेर बूढा घरसम्म गए, भिजेको चामलको कट्टा फेला पर्‍यो । त्यही उठाएर ल्याए । अहिले सडकमा सुकाएर खाँदै छौं ।’

बुद्धिराम चौधरीको सात जनाको परिवारले ट्रयाक्टरको ट्रलीमुनि रात काटेको चार दिन बित्यो । संयोगले बाढी आएको दिन उनले ट्रयाक्टर सडकमा राखेका थिए । ‘बुधबार बिहान ११ बजे गाउँमा बाढी पस्यो,’ उनले भने, ‘त्यतिबेला दौडँदै घरमै रहेका लालाबाला उठाएर ट्रयाक्टर भएको ठाउँमा ल्याएँ । सडकमाथि बाढी चढ्न नसक्दा ज्यान जोगिएको छ ।’ मंगलबार रातिदेखिको वर्षाले पथरिया र काँडा नदीको बाढी गाउँ पसेको थियो । बाढी पसेर डुबान भएपछि केहीले मात्रै सामान निकाल्न भ्याए, धेरैजसो रित्तै भागेर ज्यान जोगाए । अधिकांशलाई उद्धारकर्मीले दिउँसो मात्रै सुरक्षित ठाउँमा सारेका थिए ।

***

हुलाकी सडकमै बसिरहेकी भजनी–८ काँडाढिककी अञ्जली विकको ५ महिनाको बच्चा छ । उनका पति हुलाकी सडकमै अटोरिक्सा चलाउँथे । बाढी आएका दिन अटोरिक्सा सडकमै राखेर सुत्केरी श्रीमतीको उद्धार गरे । चार दिन भयो दुवै जनाको बास अटोमै छ । ‘बच्चालाई लामखुट्टे र कीराले टोकेर शरीरभरि खटिरा निस्केको छ,’ उनले भनिन्, ‘आफूले खान नपाएर दूध सुकेकाले बच्चाले पेटभरि पाएकै छैन ।’ भजनी–८ कृष्णनगरकी लक्ष्मी शाहले पनि बच्चालाई जोगाउन गाह्रो भएको बताइन् । उनका साथमा ४ महिनाको छोरा छ । ‘ओढ्ने–बिछ्याउने केही छैन । एउटा म्याटमा सुत्नुपरेको छ,’ उनले भनिन्, ‘रातभरि कीरा र मच्छडले टोक्छ । बाढीले सर्प पनि सडकमै देखिन्छन् ।’

सडकमा बालबालिका, बूढापाका, सुत्केरी, गर्भवती र अशक्तलाई बस्न कठिन भइरहेको बुद्धिराम चौधरीले बताए । ‘बच्चा र बुहारीकै लागि चौथो दिन ज्यानको बाजी लगाएर कम्मर–कम्मरसम्म पानी तरेर घरभित्र पसें,’ उनले भने, ‘डुबेको घरबाट भिजेकै भए पनि रासन र एउटा खाट निकालेर ल्याइयो । अहिले जाउलो पकाएर बच्चा र सुत्केरी बुहारीलाई खुवाएको छु ।’

शनिबारदेखि वर्षा रोकिएकाले बस्ती आसपासका पथरिया, काँडा, कान्द्रा र मोहना नदीमा जलसतह घटेको छ । भजनी–३, ५, ७ र ८ बाहेकका विस्थापित परिवार घर फर्किसकेका छन् । भजनी नगरकी उपप्रमुख छाया देवकोटाले नगरपालिकाका ९ वटै वडाका २ हजार ४ सय १५घर डुबानमा परेको बताइन् । विस्थापित भएकामध्ये१ हजार ६ सय ७१ परिवारका ८ हजार ३ सय ५ जनाअझै घर फर्कन नसकेको उनले बताइन् । ५ सय जना स्थानीय विद्यालय र सुरक्षित आवासगृहमा छन् । अन्य सबै हुलाकी सडकमा बसेका छन् । भजनी–८ का नैन जोशी र नन्दराज ढुंगानाको परिवारले चार दिनसम्म ओत पनि नपाएको गुनासो गरे ।

शनिबार मात्रै वडा कार्यालयले त्रिपाल, बाल्टी र चाउचाउलगायत उपलब्ध गराएको थियो । उपमेयर देवकोटाले विस्थापित परिवारलाई एक महिनाका लागि खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा चाहिने बताइन् । ‘बालबालिका, सुत्केरी, गर्भवती, अशक्तलाई सुरक्षित आवास, शुद्ध खानेपानी, साबुन, मास्क, सेनिटाइजर, जीवनजलका साथै घुम्ती स्वास्थ्य शिविरको समेत आवश्यकता पर्ने उनको भनाइ छ ।

***

डुबानको एउटा मुख्य कारण हुलाकी सडक रहेको त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद गौरीशंकर चौधरीले बताए । ‘हुलाकी सडक ड्याम जस्तो भएकाले बाढीको स्वाभाविक बहाव हुन पाएन,’ उनले भने, ‘हुलाकी सडकले पानीको निकासका लागि पुल निर्माण गर्न‘पर्ने ठाउँमा कल्भर्ट मात्रै बनाइँदा निकास राम्रोसँग भएन ।’ हुलाकी सडकको यो क्षेत्रमा कम्तीमा तीन ठाउँमा पुल निर्माण गर्न‘पर्ने उनको भनाइ छ । यहाँबाट करिब ३० किलोमिटर दक्षिण भारतले निर्माण गरेको कैलाशपुरी बाँधका कारण पनि कैलालीको पूर्वोत्तरक्षेत्र डुबानमा पर्ने गरेको उपमेयरदेवकोटाले बताइन् ।

स्थानीय संरक्षणकर्मी विजय श्रेष्ठले चुरे क्षेत्र र खोलानालामा भएको जथाभावी दोहनले बाढीको समस्या निम्तिएको बताए । ‘२० वर्षअघि २० मिटर फराकिलोमा बग्ने खोला/नदीहरू अहिले २ सय मिटर चौडा भएका छन्,’ उनले भने, ‘चुरेबाट बग्ने साना–ठूला गरी ४ सय नदीले कैलाली जिल्ला डुबानमा पार्ने गरेका छन् ।’ जिल्लाका मुख्य ठूला मोहना, खुटिया, गौरीगंगा, कान्ध्रा, पथरिया, काँडालगायतका नदीमा आउने बाढीले बर्सेनि समस्या निम्तिने गरेको छ ।

प्रकाशित : श्रावण १९, २०७७ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्

प्लाज्मा थेरापीले  जगायो आशा

त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार सफल भएसँगै अर्का संक्रमितमा पनि यो थेरापी गर्ने तयारी थालिएको छ । कोरोना संक्रमितमा प्लाज्मा थेरापीका लागि १२ वटा अस्पताल तयार छन् ।
अतुल मिश्र

काठमाडौँ — मुलुकमा पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट सफलतापूर्वक उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्यमा प्लाज्मा थेरापीपछि उल्लेखनीय सुधार देखिएको छ । पेसाले चिकित्सक रहेका ६० वर्षीय ती संक्रमितमा गत बिहीबार राति प्लाज्मा दिएर उपचार गरिएको हो ।

शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले प्लाज्मा थेरापीको ४८ घण्टापछि बिरामीको एक्स–रे प्रतिवेदनमा निमोनियामा करिब ७० प्रतिशत सुधार देखिएको जानकारी दिए । ‘यस्तै स्थिति रहे एक–दुई दिनमा बिरामीलाई आईसीयूबाट बाहिर निकाल्छौं,’ उनले भने ।

ती बिरामी ९ दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट रेफर गरिएर शिक्षण अस्पतालमा आएका थिए । अस्पताल आउँदा बिरामीमा बाइल्याटरल निमोनिया (दुवै फोक्सोमा संक्रमण) देखिएको थियो । अस्पतालमा विशिष्ट उपचारअन्तर्गत डेक्सामिथासोन थेरापी र एन्टिभाइरल औषधि रेम डेसिभिर सुरु गरिएको थियो । ‘रेम डेसिभिर नेपालमा उपलब्ध नभएकाले भारतबाट मगाइयो, तर उपचार दिएको पाँच दिनपछि समेत खासै सुधार भएन,’ डा. दासले भने ।

विशिष्ट उपचारबाट कुनै सुधार नदेखिएपछि कोभिड व्यवस्थापन समितिले प्लाज्मा थेरापी गर्ने निर्णय गरेको थियो । अस्पतालका स्वास्थ्यकर्मीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर बिरामीको उपचारमा उपयोग हुने प्लाज्माको व्यवस्था गरिएको थियो । ‘हामीले कोरोना निको भइसकेका व्यक्तिबाट एक पिन्ट रगत लिएर त्यसबाट करिब २०० मिलिलिटर प्लाज्मा निकाल्यौं,’ डा.दासले भने, ‘गत बिहीबार राति ९ बजे बिरामीलाई प्लाज्मा ट्रान्सफ्युजन (चढाउन) सुरु गरेका थियौं । करिब दुई घण्टामा यो प्रक्रिया सकियो ।’

डा. दासका अनुसार बिरामीलाई अन्य पुरानो उपचार पनि जारी राखिएको थियो । प्लाज्मा थेरापी दिएको अर्को दिन बिरामीमा सुधारको लक्षण देखिन थाल्यो । पहिले बिरामीलाई अक्सिजनको आवश्यकता ८०–९० प्रतिशत भए पनि प्लाज्मा थेरापीपछि घट्दै गएर हाल २४–२८ प्रतिशत मात्र अक्सिजन चाहिएको छ । प्लाज्मा थेरापीको दोस्रो दिन बिरामीमा देखिएको निमोनियामा समेत करिब ७० प्रतिशत सुधार भएको छ । ‘उहाँ (बिरामी) आफै हिँडडुल गर्न सक्नुहुन्छ,’ डा. दासले भने, ‘उहाँको श्वासको गति सामान्य छ अर्थात् प्रतिमिनेट १६ देखि १८ पटकसम्म सास फेर्नुहुन्छ ।’

उपचारमा संलग्न चिकित्सकहरूले प्लाज्मा थेरापीबाट यति छिटो र बढी सुधारको आशासमेत गरेका थिएनन् । प्लाज्मा थेरापी नगरिएको भए भेन्टिलेटर आवश्यक पर्न सक्ने अवस्थामा बिरामी थिए । डा.दासले एक–दुई दिनमा बिरामीलाई आईसीयूबाट बाहिर निकालेर पुन: पीसीआर परीक्षण गर्ने र नतिजानेगेटिभ आए घर पठाइने बताए ।

त्रिवि, शिक्षण अस्पतालका चिकित्सकहरूले अर्को बिरामीमा समेत प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरेका छन् । ती संक्रमित ३० वर्षका छन् । उनलाई समेत बाइल्याटरल निमोनिया देखिएको छ । दुई दिनअघि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित वीरगन्जबाट रेफर भएर उनी शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी सुरु भए पनि देशभरका १२ वटा निजी र सरकारी अस्पताल कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरु गर्न तम्तयार अवस्थामा रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनका अनुसार धुलिखेल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ग्रान्डी इन्टरनेसनल, मेडिसिटी, ह्याम्स अस्पताल प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा छन् । कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगन्ज अस्पताल, सेती अस्पतालमा समेत जुनसुकै बेला प्लाज्मा थेरापी सुरु गर्न सकिने डा. ज्ञवालीले बताए ।

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ ।

प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।

प्लाज्मा थेरापी सय वर्षभन्दा बढी समयदेखि विभिन्न भाइरल रोगमा सफलतापूर्वक प्रयोग गरिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्घतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिए ।

कोभिडको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा खोजिएको थियो । डा. अधिकारीका अनुसार भारतसहित अन्य केही मुलुकमा यो थेरापीको उत्साहजनक परिणाम देखिएको छ । कोभिड–१९ विरुद्घ प्रभावकारी खोप नबनेसम्म प्लाज्मा थेरापी कोरोना भाइरसका जटिल बिरामीका लागि प्रभावकारी उपचार हुन सक्ने विज्ञहरूले बताएका छन् । यसअघि सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स), स्वाइन फ्लुलगायत थुप्रै रोगको उपचारमा प्लाज्मा थेरापीको उपयोग भइसकेको छ ।

कोरोना जितेकाहरूले एक पटकभन्दा बढी प्लाज्मा दान गर्न सक्छन् । सातामा दुई पटकसम्म प्लाज्मा दान गर्न सकिन्छ । एक जनाले ४ सय मिलिलिटर दान गर्न सक्छन् । कोरोना निको भएका एक व्यक्तिको प्लाज्माले दुई जना संक्रमित निको हुन उपयोगी हुन्छ । एक व्यक्तिको उपचारमा २ सय मिलिलिटर प्लाज्मा पर्याप्त हुन्छ । कोरोना संक्रमण निको भएको १४ दिनपछि प्लाज्मा दिन सकिन्छ । खोपको दाँजोमा प्लाज्मा थेरापीद्वारा दिइएको सुरक्षा अस्थायी हुनेसमेत डा. अधिकारी बताउँछन् ।

प्रकाशित : श्रावण १९, २०७७ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×