१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

छोरा जोगिए, घरसँगै पुरिए आमाबाबु   

मनोज बडू

दार्चुला — दुहुँ गाउँपालिका–३ सल्लेखेतीका २२ वर्षीय सुनील जोशी काठमाडौंमा बसेर जापान जाने तयारी कक्षा लिइरहेका थिए । लकडाउनले कक्षा रोकिएपछि उनीसँगै बसेर पढिरहेकी बहिनीसहित घर फर्किए । मंगलबार बिहान घरमाथिको दार्चुला–टिंकर सडक किनारबाट खसेको पहिरोले घर पुरिँदा जापान जाने योजनासँगै सुनीलले आमाबुबालाई नै गुमाए । भागेर जोगिएका उनी अहिलेसम्म एकोहोरिइरहेका छन् ।

छोरा जोगिए, घरसँगै पुरिए आमाबाबु   

मंगलबार बिहान पौने ५ बजेतिर पहिरोमा पुरिएर ५० वर्षीय रामदत्त भनिने रतनराज जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘घरमाथि पहिरो आएको थाहा पाएर बुबाले मलाई भाग्नु भनेको सम्म याद छ । हतपतमा भाग्दा मैले मोबाइलसम्म समात्न पाएको थिएँ,’ सुनीलले भने, ‘बाहिर निस्केर पछाडि हेर्दा घर पुरिएको देखें । आमाबुबा पछाडि आएको नदेखेपछि फर्केर हेर्दा केही देखिएन ।’ पहिरो घरमाथि खसेपछि गोठमा छिरेर बाहिर भागेको उनको भनाइ छ ।

‘आमाबुबालाई भाग्नुसम्म भन्न पाइएन । कोठाबाट बाहिर आउने ढोका बन्द थियो । ढोकातिरको भाग पहिले नै पुरिएको जस्तो लागेको छ,’ सुनीलले भने । उनको पिठ्युँ र खुट्टामा चोट लागेको छ । बहिनी भने राति ठूलोबुबाको घरमा सुत्न गएकाले सकुशल छिन् । दुहुँ–३ का वडाध्यक्ष लालबहादुर बमका अनुसार घरभित्रै वा भाग्ने बेलामा चोट लाग्यो भनेर सुनीलले स्मरण गर्न सकिरहेका छैनन् । बुबा रतनराजले छोरालाई जापान उडाउन गाउँमा ऋणपैंचो गरेर रकम जम्मा पारेका थिए । त्यही पैसा झिक्न खोज्दा ढिलो भएर पुरिएको स्थानीयले अनुमान गरिरहेका छन् ।

सोमबार दिउँसोदेखिको वर्षाको भेलले दार्चुला–टिंकर सडकको ग्याबिन जाली भरेको सडक किनारको भाग बगाएपछि झरेको पहिरोले घर पुरिएको स्थानीय वीरेन्द्र जोशीले बताए । सडकको घुम्तीको पूरै भाग बगेको छ । जस्तापाताले छाएको घरमा जोशी दम्पती पुरिएपछि स्थानीयवासी, सेना, सशस्त्र र प्रहरीले खोजी गरे । मंगलबार दिउँसो साढे २ बजे उनीहरूको शव भेटियो । ‘पूरै घर पुरिएका कारण शव निकाल्न समय लाग्यो,’ उद्धारमा खटिएका प्रहरी निरीक्षक भाष्कर चन्दले भने । रामदत्तको शव भैंसीसँगै र भैंसीले च्यापिएको अवस्थामा इन्द्राको शव फेला परेको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ । पहिरोमा एउटा भैंसी र ४ बाख्रासहित घरगोठका सबै सामान पुरिएका छन् ।

जिल्लामा असार १५ यता बाढीपहिरोमा परी ९ जनाको मृत्यु भएको छ । दुहुँ गाउँपालिकामा २, मालिकार्जुन गाउँपालिकामा २ र नौगाड गाउँपालिकामा ५ जनाले ज्यान गुमाएका हुन् । नौगाड, अपी हिमाल, मालिकार्जुन, लेकम, व्यास गाउँपालिका तथा महाकाली नगरपालिकामा ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्लाभर एक दर्जनभन्दा बढी ग्रामीण सडक बन्द छन् ।

प्रकाशित : श्रावण १४, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?