प्रहरी मुख्यालयमा कार्यरत चार जनामा कोरोना, संक्रमितको संख्या बढ्न सक्ने [अपडेट]

प्रहरी प्रवक्ताले भने- 'स्वास्थ्य मन्त्रालयले नै जानकारी दिन्छ'

श्रावण ११, २०७७

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार तथा सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण देखिएको छ । तर, प्रहरी मुख्यालयले यसबारे आधिकारिक सूचना सार्वजनिक गरिसकेको छैन । मुख्यालय उच्च स्रोतका अनुसार थप अन्य केहीमा पनि संक्रमणको आशंका गरिएको छ ।

हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६–१७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिएर आइसोलेसनमा राखिएको छ । 

यस्तै मुख्यालयभित्रै रहेको सञ्चार निर्देशनालयमा कार्यरत तीन जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । प्रयोगशालाबाट पीसीआर रिपोर्ट आए पनि ३ जनाको नतिजा प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरु तीन जनामध्ये एक  प्रहरी मेसमा सहयोगीका रुपमा काम गर्थे भने २  प्रहरी मेसका लागि आवश्यक सामग्री ल्याउने काम गर्थे ।

प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले मुख्यालयभित्र देखिएको संक्रमणबारे आधिकारिक रुपमा स्वास्थ्य मन्त्रालयले बताउने भएकाले आफूहरुले बताउन नमिल्ने जनाए । उनले हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजसोलाई आइसोलेसनमा राखिएको बताए ।

कान्तिपुरको सम्पर्कमा आएका प्रहरी स्राेतका अनुसार केही उच्च प्रहरी अधिकारीहरुका चालक प्रहरी जवानलाई पनि कोरोना संक्रमणको आशंका गरिएकाे छ । प्रवक्ता डीआईजी शाहीले मुख्यालयभित्र प्रवेश गर्नेमाथि सुरुदेखि नै कडाइ गरिएको र केही दिनयता त्यहाँभित्र कार्यरत केहीलाई त्यहीँ बस्ने व्यवस्था गरिएको बताए ।

कोरोना भाइरस

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully