काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय ९ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
नयाँ संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
त्यस्तै २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् । ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएको हो । शनिबारसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।
मुलुकका विभिन्न अस्पतालमा ४ हजार ७५ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८५ रहेको छ ।
थप १ जनाको मृत्यु भएको औपचारिक पुष्टि
कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार बारा परवानीपुरकी १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पताल (नारायणी अस्थायी कोरोना)मा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडीटी एन्टीबडी पोजिटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
नयाँ संक्रमितको संख्या
झापा १
खोटाङ १
सप्तरी ११
पर्सा ८
रौतहट ४
सर्लाही १
चितवन १
बारा ३
मकवानपुर १
नवलपरासीपूर्व ४
काठमाडौं २
ललितपुर १
अछाम १
गुल्मी ३
कपिलवस्तु ६
पाल्पा ४
बाँके २
बर्दिया २
दाङ ५
तनहुँ १
अछाम २
कालीकोट ३
दैलेख ३
हुम्ला १
जाजरकोट ६
मुगु २
सुर्खेत ११
डढेलधुरा ८
डोटी १३
बैतडी ३
