कोरोनाको वास्तविक चुनौती अब !

शेरबहादुर पुन

लकडाउनको स्वरुप परिवर्तन हुने गाइँगुइँ चल्दै गर्दा अचानक लकडाउन पूर्णरुपमा खुलेको समाचार आयो । केही दिनयता लकडाउनका नियमहरु राम्रोसँग पालना गरेको देखिँदैनथ्यो । सडकमा जम्मा हुने, नाराबाजी/हड्ताल गर्ने, सरकारी कार्यालय, अस्पतालमा नै भौतिक दुरी कायम नहुने तथा मास्क सही तरिकाले नलगाउनाले जनमानसमा कोरोना संक्रमणको महामारीको अनुभूति नभएको भान हुन्थ्यो/हुन्छ ।

कोरोनाको वास्तविक चुनौती अब !

यद्यपि मसँग परामर्श लिन आउनेहरुसँग अन्तर्क्रिया गर्दा धेरैमा कोरोना त्रास अत्यधिक मात्रा भएको पाएको थिएँ । सायद त्यसैले होला कसैले खोक्यो वा हाच्छिउँ गरे सबै सशंकित हुने, कोही संक्रमित भए सुक्ष्म तरिकाले समाजबाट तिरस्कृत हुनुपर्ने र त्यस्तै उपचारपश्चात् पनि तिरस्कारको सामना गर्नुपरेका उदाहरणहरु समाजमा देखिन्छन् । तर हामी आफैं कोरोनाबाट बच्ने उपायहरु व्यवहारमा लागू गर्न आनाकानी अथवा बेवास्ता गर्ने गरेका छौं ।

कोरोनाको जोखिम शून्यमा झरेर लकडाउन खोलिएको होइन । तसर्थ आगामी दिनहरुमा कोरोना कसरी फैलन्छ भन्ने विषय हामीले यसबाट बच्ने के-कस्ता व्यक्तिगत उपायहरु अवलम्बन गर्छौं भन्नेमा भर पर्नेछ ।

लकडाउन हुँदा पनि दैनिक हजारौं मानिसहरु एक ठाउँबाट अर्कोमा आवतजावत भइरहेको हुन्थ्यो । कोरोना संक्रमण आफैं एक ठाउँबाट अर्को ठाउँ पुग्ने होइन । यसलाई संक्रमितले नै एक ठाउँबाट अर्को ठाउँमा लग्ने र फैलाउने हो । पछिल्लो समय काठमाडौं आउनेहरु पनि ह्वात्तै बढेका छन् । विशेषत: उनीहरु हाल कोरोना बढी प्रभावित ठाउँहरुबाट आइरहेका छन् भने कतिपय त भारतका कोरोना प्रभावित स्थानबाट पनि आइरहेका छन् । उनीहरु लगभग सबै जना लक्षणविहीन छन् । हालको निर्देशिकाले लक्षण नभएकाहरुलाई परीक्षणको दायराभित्र राखेको छैन । लक्षण भएका भन्दा नभएकाहरुबाट कोरोना सर्न सक्ने सम्भावना कम हुने भए पनि कहिलेकाहीं धेरैलाई एकै संक्रमितबाट कोरोना सार्ने गरेको नेपालमा पनि उदाहरणहरु छन् । लक्षण नदेखिँदा समुदायमा छिटै घुलमिल हुने सम्भावना रहन्छ । तसर्थ आगामी दिनहरुमा काठमाडौंमा जोखिमयुक्त ठाउँ र समूह पहिचान गरी समय समयमा पीसीआर परीक्षणलाई निरन्तरता दिनुपर्दछ ।

सार्वजनिक यातायात सुचारु भइसकेको छ । मानिसहरु आफ्नो कार्यालय, व्यापार व्यवसाय वा सेवा लिनका लागि विभिन्न ठाउँहरु जान सार्वजनिक यातायातहरुलाई प्रयोग गर्नुपर्ने हुन्छ । लकडाउन अगाडि सार्वजनिक यातायात सर्वसाधारणहरु बढी भीडभाड हुने ठाउँहरुमध्येमा पर्ने गर्दथ्यो । तसर्थ लकडाउन सकिएलगतै यातायातमा मानिसहरुले व्यक्तिगत दुरी कायम गर्न सहज हुने छैन । बस चालक तथा सहायकलाई पनि दुरी कायम गर्ने/गराउने काम चुनौतीपूर्ण हुनेछ । मास्क सही तरिकाले नलगाउँदा वा यात्रुले नलगाइदिँदा पनि संक्रमण रोक्न सजिलो हुने छैन ।

हालै कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने पुष्टि भएकोले बसमा भेन्टिलेसनको व्यवस्था राम्रो नभए संक्रमितले खोके वा ठूलो स्वरले कराएमात्र पनि अरु यात्रुहरु दुई मिटरभन्दा बढीको दुरी कायम गरे पनि कोरोना सर्न सक्ने देखाएको छ । मास्कको अनिवार्यता र सही प्रयोग यसर्थ महत्वपूर्ण भएको हो । पैसा विशेष गरेर बसको सहायकले थुक लगाएर गन्ने वा प्रयोग गर्नु हुँदैन । यसबाट संक्रमण सर्न सक्ने सम्भावना रहन्छ । यात्रुले पनि सकेसम्म पैसा मिलाएर दिए पैसाको आदानप्रदान कम हुँदा जोखिम पनि कम हुनेछ ।

नेपालमा मौसमी संक्रामक रोगहरु देखिन सुरु भइसकेको छ । पानीजन्य, किटजन्य तथा हावा/थुकको छिटाबाट सर्न सक्ने संक्रामक रोगहरु देखिने गर्दछ । धेरै संक्रामक रोगहरुको लक्षणहरु एक आपसमा धेरै मिल्दो जुल्दो हुने गर्दछ । यी रोगहरु कोरोनासँगै देखिँदा रोग पहिचानमा समस्या आउने गरेको विभिन्न अनुसन्धानहरुले पनि देखाएका छन् । केही दिनअगाडि अमेरिकाको सीडीसी संस्थाले कोरोनाको नयाँ-नयाँ लक्षणहरु थप गर्ने क्रम जारी नै छ । पखाला र बान्तालाई पनि पछिल्लो समयमा कोरोना लक्षणमा समावेश गरिएको छ । त्यस्तै नाक बन्द/पानी बग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता लक्षणहरु पनि थपिएका छन् । अर्थात् यी लक्षणहरु नेपालमा वर्षेनी देखिने झाडापखाला/हैजा तथा रुघाखोकी/फ्लु भाइरसमा पनि देखिने हुँदा रोग समयमा नै पहिचान हुन गाह्रो हुने अथवा सर्वसाधारण/स्वास्थकर्मी त्रसित हुने र छिटो उपचार नपाउँदा मानवीय क्षतिको सम्भावना बढ्नेछ ।

भारतबाट आइ मृत्युवरण गरेका कतिपयले क्वारेन्टाइनमा रहँदा यस्तै नियति बेहोर्नु परेको सर्वविदितै छ । कोरोना संक्रमण पूर्णरुपमा निर्मूल नभई फ्लूको सिजन सुरु भए स्वास्थ्यमा थप चुनौती थपिनेछ । यी दुई भाइरसको लक्षण अधिक मिल्दोजुल्दो देखिन्छ । त्यसैले सहजै छुट्याउन सकिने छैन ।

चीनको वुहानमा जाडो महिनामा कोरोनाको प्रकोप सुरु भई विश्वव्यापी फैलिएको थियो । नेपालमा कोरोनाको लहर मत्थर हुन अझै केही महिना लाग्ने र त्यतिन्जेल जाडो महिना सुरु भए नेपालले कोरोनाको दोस्रो लहरको सामना गर्नुपर्ने अवस्था हुन्छ । यसले थप मानवीय क्षति पुर्‍याउन सक्ने सम्भावना प्रवल हुनेछ।

नेपाल लगभग तीन महिना पूर्ण लकडाउन रह्यो । त्यस समयमा कोरोनाबारे बच्ने उपायहरुका बारेमा प्रचुर प्रचारहरु पनि भए । हरेक मानिसको जिब्रोमा कोरोनाको चर्चा हुने पनि गर्थ्यो/गर्दछ । तर हामीले ती आफ्नो व्यवहारमा लागू गर्नबाट चुक्यौं र चुकिरहेका छौं ।

भारतमा पनि सायद यसै कारणले होला लकडाउन अगाडि र पछि पनि कोरोना संक्रमितको संख्या उकालो लाग्न छोडेको छैन । कोरोनासँग त्रसित छौं तर, बच्ने उपायहरुको पालना गर्न हिच्किचाइरहेका पनि छौं । लकडाउनको अवस्थामा संक्रमितको संख्या लक्ष्यअनुसार घटेन र परीक्षणको दाएर समुदायस्तरमा व्यापक गर्न पनि सकेनौं । फलस्वरूप, हाल पनि नेपालमा समुदायस्तरमा कोरोनाको अवस्था के कस्तो छ भनेर प्रस्ट भएको देखिँदैन । र, यसैबीच लकडाउन पनि खुल्यो । अब कोरोनाबाट जोगिन आमजनताले के कस्ता उपायहरु कसरी अवलम्वन गर्छन् भन्ने नै लकडाउनपछिको प्रमुख चिन्ताको विषय बनेको छ ।

अहिलेसम्म अधिकांश भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरुमा परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुको विशेषत: सिमाना नै टेस्ट हुने र गाउँ पुग्दा अपवाद छोडेर त्यहाँको समुदायमा कोरोनाका कारण खासै ठूलो समस्या परेको देखिँदैन । यस्तै धेरैजना व्यापार व्यवसाय, रोजगार आदिको लागि काठमाडौंलगायत अरु ठूला सहरमा आवतजावत गर्नेक्रम बढ्दै छ । परीक्षण नहुँदा लक्षणविहीन संक्रमितहरु बिस्तारै समुदायसम्म पुग्ने सक्ने प्रबल सम्भावना रहनेछ । तर, समाजमा आफू तथा आफ्नो परिवार तिरस्कृत हुनसक्ने/व्यापार बन्द हुने (आइसोलेसनमा रहँदा), नाम/ठेगानासमेत गोप्य नहुने र सार्वजनिक हुने डरले परीक्षण नगर्ने वा गरे पनि नाम/ठेगाना गलत दिँदा संक्रमित पत्ता लगाउने तथा कन्ट्याक्ट ट्रेसि‌ङ गर्न असहज भएको देखिन्छ ।

लकडाउनअगाडि दुई जना संक्रमित थिए भने हाल दैनिक औसतमा डेढ सयको हाराहारीमा संक्रमित देखिँदै आइरहेका छन् । सुरुका दिनहरुमा संक्रमण देश बाहिरबाट आउने जोखिम बढी थियो भने, हाल समुदायमा पुगेर फैलने डर बढी छ । यो पृष्ठभूमिलाई मनन गरेर हेर्दा वास्तविक चुनौती हिजो होइन, अब आगामी दिनमा देखिएको छ ।अझ पनि कोरोनाको ठूलो विपत्ति नेपालमा आइसकेको छैन । तसर्थ सतर्क, सजक र सुरक्षाका उपायहरु सुन्ने, पढ्ने र हेर्ने मात्र होइन व्यवहारमा पनि इमान्दारिताका साथ लागू गरौं ।

प्रकाशित : श्रावण ८, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?