कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

माईखोलाको भँगालोमा १४ घण्टा

इलाम — माईजोगमाई गाउँपालिका–५ नाम्सालिङका ६६ वर्षीय लोकबहादुर नेम्वाङ सोमबार अनौठो घटनामा फसे । नियमितझै बेंसी आएर सोमबार बिहान याक्सा (बेसीमा गाईवस्तु बाँध्न र खाजा चिया गर्न बनाएको सानो घर) मा उनी काम गर्दै थिए ।

माईखोलाको भँगालोमा १४ घण्टा

माईखोला किनारमा रहेको याक्सालाई खोलाले घेरेको उनलाई पत्तै भएन । नियमित बग्ने स्थानबाट खोलाको एउटा भँगालोले याक्सा घेरिएपछि उनी त्यही अड्किए । बिहान ८ बजे उनी थुनिँदा पानीको सतह केही कम थियो । नेम्वाङले त्यहाँबाट निस्कन निकै प्रयास गरे पनि सफल भएनन् ।

उनी अभर परेको देखेर ३० वर्षीय जोजो लिम्बू जसोतसो खोला तरेर नेम्वाङ भएको ठाउँमा पुगे । उनी पुग्ना साथ खोलाको झन् बहाव बढ्यो र दुवै जना अलपत्र परे । खोला घट्ने प्रतीक्षामा उनीहरू घण्टौं बसे पनि वर्षा थामिएन । त्यसपछि उनीहरूले नातेदारलाई खबर गरे । उनीहरू माईखोलामा फसेको र तत्काल उद्धारको आवश्यकता भएको खबर प्रहरीले दिउँसो ४ बजे मात्र पायो । ‘खबर सुन्नासाथ तत्काल माईजोगमाईको नयाँबजारबाट र जिल्ला प्रहरीबाट टोली हिँड्यो,’ उद्धारमा खटिएका प्रहरी निरीक्षक नवीन राईले भने, ‘केहीपछि सशस्त्र र सेनाको टोली पनि पुगेर सामूहिक रूपमा उद्धार सफल भयो ।’

स्थानीय र सुरक्षाकर्मीले सुरुमा नजिकैका रुख ढालेर फड्के बनाउने प्रयास गरे पनि भेल ठूलो भएकाले सफल भएनन् । सेनासमेत पुगेपछि ३ वटै निकायसँग भएका डोरीको प्रयोग गरेर राति १० बजे दुवै जनालाई सकुशल उद्धार गरिएको हो । ‘वर्षा नरोकिएकाले कुनै पनि बेला उनीहरूलाई बगाउन सक्ने लागेर कष्टसाथ उद्धार सफल गर्‍यौं,’ राईले भने ।

उद्धारमा ९ प्रहरी, ७ सेना र ४ जना सशस्त्रका जवानसहित स्थानीय खटिएका थिए । लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । दर्जनौं घर जोखिममा छन् । अधिकांश ग्रामीण सडकमा धेरै क्षति भएको छ । त्यस्तै मेची राजमार्गको विभिन्न स्थानमा पहिरो गएको छ ।

प्रकाशित : श्रावण ७, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?