मोरङ — बक्राहा खोलाको बाढीले तटबन्ध कटान गरिरहेकाले ६ वटा गाउँ बाढीको उच्च जोखिममा छन् । सुनवर्षी नगरपालिका–६ को कैनी, वडा ७ को चैता, रतुवामाई–५ को मुसहरभिट्टा, वडा ९ को जयनगर, पथरीशनिश्चरे–५ मौलीबारी र उर्लाबारी–८ को राजघाट जोखिममा परेका हुन् ।
सुनवर्षीको चैतामा बक्राहाको बाढीले बायाँतर्फको तटबन्ध १ सय ५० मिटर कटान गरेको छ । भेल गाउँमा पस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले चार सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा सारेको छ ।
सतारु ऋषिदेव, विशाल ऋषिदेव, वरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवारलाई सारिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । कटान रोक्न स्थानीय र प्रहरीको सहयोगमा कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरले बाँसको प्रकुपाइन जडानको काम थालेको छ । आयोजना प्रमुख भिलानन्द यादवले चैतामा पाँच फिट चौडाइको तटबन्ध भेलले धेरै ठाउँ भत्काएकाले बाढी नियन्त्रणको काम धमाधम गरिरहेको बताए । ‘त्यो तटबन्ध पूरै भत्काए चैता गाउँ नै बगाएर लग्ने देखिन्छ,’ उनले भने, ‘रतुवामाईको जयनगरमा बायाँतर्फको सय मिटर र उर्लाबारीको राजघाटमा डेढ मिटर तटबन्ध कटान गरेको छ । रोकथामका लागि प्रकुपाइन जडानको काम गराइरहेका छौं ।’
सुनवर्षी–६, कैनीमा दायाँतर्फको ३ सय मिटर, रतुवामाई–५, मुसहरभिट्टाको बायाँतर्फको ३ सय मिटर र पथरीशनिश्चरे–५, मौलीबारीको ३ सय ५० मिटर बायाँतर्फको कटान भइरहेकाले तटबन्ध जोगाउन बाँसको प्रकुपाइन जडानको काम गरिसकेको यादवले बताए । मंगलबार खोलामा बाढी केही घटेकाले प्रकुपाइन जडानको काममा तीव्रता दिएको उनले जानकारी दिए ।
यस्तै, चिसाङ खोलामा आएको बाढीले लेटाङमा बहावको दिशा नै परिवर्तन हुने देखिएको छ । आयोजना प्रमुख यादवका अनुसार लेटाङ नगरपालिकाको मसानघाट र लेटाङ पुलभन्दा दक्षिणमा गरी दुई ठाउँमा खोलाले धार परिवर्तन गर्ने जोखिम छ । कानेपोखरी गाउँपालिकाको होक्लाबारी, बेलबारी र रंगेली नगरपालिकामा चिसाङको बाढी खेत कटान गर्दै गाउँ पस्ने जोखिम बढेको जनप्रतिनिधिहरूले बताए । यस्तै लोहन्द्रा खोलामा आएको बाढीले बेलबारी, धनपालथान–४ र ६ स्थित मोतिपुर, जहदा गाउँपालिका–२ र ४ मा धान खेत कटान गर्दै गाउँ पस्ने अवस्था छ ।
‘लेटाङमा नदीको सतह माथि आएकाले धार परिवर्तनको जोखिम बढेको हो,’ यादवले भने, ‘लोहन्द्रा, चिसाङ र डाँस खोला आयोजनाअन्तर्गत भए पनि आकस्मिक काम गर्ने बजेट छैन ।’त्यसैले आवश्यकताअनुसार काम अघि बढाउन सकेका छैनौं ।’ बक्राहाले कटान गरेका ठाउँमा बाँसको प्रकुपाइन जडान गर्न थालेपछि दलका नेता कार्यकर्ताले कटानै नभइरहेका ठाउँमा समेत काम गर्न आयोजनामा दबाब दिइरहेका छन् । नेकपाका जिल्ला नेताहरूले बाँसको कामको उपभोक्ता समितिमा आफ्ना कार्यकर्तालाई मात्रै राख्न भन्दै धम्की दिइरहेको प्राविधिकहरूले बताएका छन् ।
नेकपा मोरङका सचिव गणेश उप्रेतीले कार्यकर्ताका साथमा आयोजना प्रमुख यादवलाई कार्यकक्षमै गएर भनेको नमाने ठीक नहुने भन्दै धम्क्याएको प्राविधिकहरूले गुनासो गरे । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले उप्रेतीले आयोजना प्रमुख यादवलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ ।
