सिद्धार्थ राजमार्गमा पहिरोमाथि पहिरो, यातायात अवरुद्ध

श्रावण ७, २०७७

माधव अर्याल

पाल्पा — वर्षासँगै खसेको पहिरोले बुधबार सबेरैदेखि सिद्धार्थ राजमार्ग लगायत रामपुर हुँदै पूर्व नवलपरासी जाने सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत लामीडाँडा, पालेपिपल, दोभानको नागमन्दिर, पैठेडाँडा, कालीमाटी, गौडेपुललगायतका स्थानमा पहिरो खसेको छ ।

राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन समय  लाग्ने प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । सिद्धार्थ राजमार्गको गौडेपुलनजिकै असार अन्तिम सातादेखि खस्न सुरु भएको पहिरो अझै रोकिएको छैन भने दोभानमा ढुंगा र हिलोसहितको पहिरो खसेको छ । 

पाल्पाको रम्भा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा ठूलो पहिरो खसेर सवारी साधन चल्न सकेको छैन । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । वर्षाले पाल्पाको सम्मोबारी, बन्दीपोखरा, दोभान, रामपुर, रम्भालगायतका स्थानमा पहिरो खसेर ४० बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ । 

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully