दाहाल समूहको निष्कर्ष : बल अब ओलीको कोर्टमा

लामो समयपछि पूर्वमाओवादीतिरका स्थायी कमिटी सदस्यहरुलाई छलफलमा बोलाएका दाहालले सोमबार ओलीबाट आएको विशेष महाधिवेशनको प्रस्ताव र राष्ट्रपतिसँग भएको भेटबारे स्पष्टीकरण दिए ।
बिनु सुवेदी

काठमाडौँ — करिब डेढ महिनाअघि खुमलटारमा भएको एउटा सानो जमघटमा पूर्वमाओवादीतर्फका केही नेताले भने, ‘लेखराज भट्टजी ओली समूहमा गइसक्नुभयो, हाम्रो समूह झन्–झन् साँघुरो भयो, उहाँलाई के कुरामा चित्त नबुझेको हो, सोधखोज गरौं, हामी बलियो बनिरहनुपर्छ ।’

दाहाल समूहको निष्कर्ष : बल अब ओलीको कोर्टमा

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा १८ जना मात्रै पूर्वमाओवादी भएका बेला एक जना मात्रै यताउता हुँदा राजनीतिक हिसाब बिग्रिने आकलनसहित अध्यक्ष पुष्पकमल दाहाललाई त्यसो भनिएको थियो । त्यो बेला दाहालको जवाफ थियो, ‘पार्टी एकीकरण भएपछि नेताहरू यताउता हुनु स्वाभाविक हो, एक/दुई जनाले छाडेर जाँदैमा फरक पर्दैन, अरू आउँछन् ।’

त्यसयता दाहाल निवास खुमलटारमा दाहाल–माधव नेपाल समूहमा नेताहरूको दर्जनौं भेला, छलफल र परामर्श भए तर दाहालले पूर्वमाओवादीका नेताहरूसँग मात्रै छलफलको आवश्यकता महसुस गरेनन् । बरु पूर्वएमालेतर्फ अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षीय नेताहरूले बालुवाटार र कोटेश्वरमा थुप्रै पटक आन्तरिक विमर्श गरे । दाहालले सोमबार बिहान भने पूर्वमाओवादीतिरका सबै स्थायी कमिटी सदस्यहरूलाई छलफलमा बोलाए । उक्त छलफलमा सचिवालय सदस्य रामबहादुर थापा तथा नेताहरू लेखराज भट्ट र जनार्दन शर्मा भने सहभागी थिएनन् । सम्भवतः त्यसैले यहींनिरबाट कुरा सुरु गर्दै दाहालले भनेका थिए, ‘पूर्वमाओवादी भनेरै अहिले बहस चलाउनु त्यति उपयुक्त त होइन तर परिस्थिति केही जटिल भएकाले तपाईंहरूलाई जानकारी दिउँ भनेर बोलाएको हुँ, कसरी अघि बढ्दा उपयुक्त हुन्छ, सल्लाह सुझाव पनि दिनुहोला ।’

छलफलमा दाहालले स्थायी कमिटी बैठक सुरु भएयताका जटिलता, अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग भइरहेका छलफल र त्यसका प्रगति/अवनति सिलसिलेबार रूपमा सुनाएका थिए । दाहालले नेपालसँग पार्टीको विधि, सिद्धान्त र मुद्दाका आधारमा आफू नजिक रहेको तर ओलीसँग नै पार्टी एकता गरेकाले छाडिहाल्ने स्थितिमा नरहेको बताएका थिए । ‘एकता जोगाउने गरी नै अघि बढ्नुपर्छ भन्ने मेरो पनि लाइन हो, छलफल त्यसैगरी नै भइरहेको छ,’ दाहालले बैठकमा भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘संगठनात्मक रूपमा माधवजीसँग नजिक छु, यसो भन्दैमा केपीजीलाई छाडिहाल्न सक्ने अवस्था छैन ।’

दाहालले पार्टीमा देखिएका समस्याको निकास निकाल्ने मुख्य जिम्मेवारी प्रधानमन्त्री ओलीकै भएको र त्यसैका लागि आफूले सबैभन्दा धेरै संवाद उनैसँग गरेको ब्रिफिङ उक्त छलफलमा गरेका थिए । उनले ओलीबाट आएको पार्टीको विशेष महाधिवेशनको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे पनि प्रस्टीकरण दिएका थिए । ‘राष्ट्रपति निवासमा म अपर्झट गएको हुँ, यहाँहरूले थाहा पाइसक्नुभयो,’ दाहालको ब्रिफिङ उद्धृत गर्दै बैठकमा सहभागी नेताले कान्तिपुरसँग भने, ‘केपीजीले सचिवालय बैठक सुरु हुनुअघि अर्ली महाधिवेशनको प्रस्ताव लैजाऔं, तपार्इं सहमतिबाटै पार्टीको एकल अध्यक्ष बन्नुस् भन्नुभयो, सहमति जनाएँ, राष्ट्रपति निवासमा उहाँले नै एकल अध्यक्ष बन्न जबज स्विकार्नुपर्ने सर्त राखेपछि म छाँगाबाट खसेझैं भएँ ।’ सहमतिका लागि महाधिवेशन नै उपयुक्त विकल्प भए पनि मंसिरमै भने त्यो सम्भव नभएकाले आइतबारको भेटमा आफूलाई उक्त प्रस्ताव स्वीकार्य नहुने बताइसकेको ब्रिफिङ दाहालले नेताहरूलाई गरेका छन् ।

दाहालको कुरा सुनेपछि बोलेकामध्ये अधिकांश नेताले प्रधानमन्त्री ओलीसँगै संवाद र सहमति गरेर अघि बढ्नुपर्ने सुझाव दिए । उनीहरूले महाधिवेशनमै गएर एकल अध्यक्ष बन्ने लाइनमै अघि बढ्न पनि दाहाललाई सुझाए । ‘अहिलेको बहस पदका निम्ति भएजस्तो देखिएको छ, यसले जनता र कार्यकर्तामा राम्रो सन्देश गएन,’ स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘अब वैचारिक छलफल र बहस गरौं, पार्टी एकता नभाँडिने गरी अघि बढौं भनेर अध्यक्षलाई सुझाव दिएका छौं ।’

स्थायी कमिटी बैठकलाई अब सेफल्यान्डिङ गर्नुपर्ने र नियमित एजेन्डामै फर्किनुपर्ने सुझाव पनि अध्यक्ष दाहाललाई दिएको सहभागी अर्का एक नेताले बताए । ‘प्रधानमन्त्रीको राजीनामाको विषय प्रवेश भएपछि हामी अलि कताकता बहकियौं पनि,’ ती नेताले कान्तिपुरसँग भने, ‘बैठक सुरु गरौं, नियमित एजेन्डामै फर्काऔं, त्यहाँ सरकार र पार्टीको समीक्षा गर्ने एजेन्डा पनि छ, पुराना विषय कसैलाई उठाउन मन लागे त्यहीबेला उठाए भइगो ।’ नेता देव गुरुङले पनि स्थायी कमिटीमा छलफल गरेर त्यहाँ टुंगिने विषय त्यहीं र त्यहाँ सम्भव नहुने विषय केन्द्रीय कमिटी बैठकमा लैजाने गरी छलफल अघि बढाउन सुझाव दिएको बताए ।

पूर्वमाओवादी समूहमा फाटो

४४ सदस्यीय स्थायी कमिटीमा प्रधानमन्त्री ओलीतिर १२ जना, अर्का अध्यक्ष दाहालतिर १८ र वरिष्ठ नेता नेपाल समूहका १३ जना नेता छन् । विषय र प्रसंगअनुसार कहिले कता कहिले कता हुने भएकाले वामदेव गौतम अहिले ठ्याक्कै यही खेमामा छन् भन्न सकिने स्थिति छैन । पूर्वएमालेमा ओली र नेपाल समूहका नेताहरू आआफ्नो गुटमा प्रतिबद्ध देखिन्छन् । समूहका सबै नेताहरूको अभिव्यक्ति अडान एकै किसिमले सार्वजनिक भइरहेको देखिन्छ । दाहाल समूहमा भने पछिल्लो समय तिक्तता र फाटो बढिरहेको पूर्वमाओवादीकै नेताहरू बताउँछन् । उनीहरूले बैठकमा दिने अभिव्यक्ति र नेताहरूको दाबीअनुसार पूर्वमाओवादीका नेताहरू तीन समूहमा बाँडिएका छन् । ‘एक पटक धनगढीको कार्यक्रममा गएका बेला अध्यक्ष कमरेडले सुदूरपश्चिमका नेता भीम रावल भनिदिएपछि लेखराज भट्टको मन दुख्यो र उहाँ अहिले ओली गुटमा हुनुहुन्छ,’ खुमलटार स्रोतले भन्यो, ‘हरिबोल गजुरेल, मणि थापा र टोपबहादुर रायमाझी पनि भोट नै हाल्ने परिस्थिति बन्दा यतै आउनुहुन्छ कि खोइ कुन्नि, नत्र अहिले त बालुवाटारकै प्रवक्ताझैं गरेर हिँडिराख्नुभएको छ ।’ पहिले तारन्तर खुमलटार पुगिरहने यी नेताहरू अहिले दाहालले नबोलाउँदासम्म त्यतातिर जान छाडेका छन्, बरु बालुवाटारतिरै धेरै देखिन्छन् ।

अर्को एउटा ठूलो समूह सकेसम्म केन्द्रीय कमिटी बैठकबाटै नभए पनि अब हुने सहमतिको महाधिवेशनपछि दाहालले पार्टीको एकल नेतृत्व लिने गरी सहमति गर्नुपर्ने पक्षमा छन् । यो पक्षमा सचिवालय सदस्य थापासहित स्थायी कमिटी सदस्यहरू वर्षमान पुन, पौडेल, शर्मालगायत नेताहरू छन् । ‘अहिले ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री चलाउन दिने र प्रचण्ड एकल अध्यक्ष बन्ने, नेपाल समूहको सम्मानजनक सहभागिता हुनुपर्नेलगायत विषयमा सहमति गरेर जाऔं भन्ने हाम्रो धारणा हो,’ यो समूहका एक नेताले कान्तिपुरसँग भने, ‘छलफल भइरहेकै छ, चीज यही दिशामा अघि बढ्न सक्छ ।’

पूर्वमाओवादीमा एउटा सानो समूह छ, जसको नेतृत्व अहिलेको स्थितिसम्म स्वयं अध्यक्ष दाहालले नै गरिरहेका छन् । यो समूहमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू मातृका यादव, गिरिराजमणि पोखरेललगायत छन् । उनीहरू विचार र प्रवृत्तिगत आधारलाई केलाउँदा नेपाल पक्षसँगै नजिक रहेको अहिलेको अवस्थामा ओली प्रवृत्तिमा सुधार आउनुपर्ने र त्यसका लागि उनले दुईमध्ये एउटा पद त्याग्नैपर्ने तर्क गर्छन् । यसरी आफ्नै समूहका नेताहरू नै लाखापाखा लागेपछि दाहालले आफ्नो शक्तिको भरपर्दो आधार नेपाल समूहका नेताहरूलाई मानेका छन् तर दाहालका पछिल्ला केही व्यवहारका कारण नेपाल पक्षीय नेताहरू झस्किएका छन् ।

ओली र नेपाल दुवै समूह दाहालप्रति सशंकित

शनिबार सचिवालयमा मंसिरमा विशेष महाधिवेशन गर्न ओलीले राखेको प्रस्तावमा दाहालले सहमति जनाए । सोही साँझ राष्ट्रपति निवासमा उनी करिब २ घण्टा अलमलिँदा उनको समूहमा हल्लीखल्ली भइसकेको थियो । त्यसैले उनले आफ्नो सचिवालयमार्फत कुनै सहमति नभएको सूचना सार्वजनिक गरे । आइतबार बिहानै दाहालको उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शर्मा र पौडेलसँग भएका संयुक्त र बेग्लाबेग्लै भेटमा महाधिवेशन नै उत्तम विकल्प भएकाले त्यसैतर्फ जानुपर्ने र त्यसको तयारी गर्न नेपाल समूहलाई पनि सहमत गराउने कुरा भएको थियो । उक्त प्रस्ताव मात्रै आएको र बैठकमा निर्णय नै नभएको हुनाले छलफलकै क्रममा रहेको ब्रिफिङ नेपाल समूहलाई गर्ने सामान्य समझदारी भएको थियो । तर दाहाल–नेपाल समूहलाई अघिल्लो दिनको घटना जानकारी गराउने क्रममा दाहालले कुनै पनि सहमति नभएको र महाधिवेशनको विषय द्विविधा सिर्जना गर्न ल्याइएको फन्डा मात्रै भएको बताए । त्यतिखेर उनले आफू यही समूहमा रहेको र छाडेर कतै नजाने जानकारी पनि नेताहरूलाई गराएका थिए । उक्त भेलामा भएको छलफलअनुसार नै आइतबार साँझ प्रधानमन्त्रीसँग भएको भेटमा दाहालले भनेका थिए, ‘हिजो जे–जे भयो जसो भयो, अब म पछाडि फर्किएँ ।’

नेपालसँगको परामर्शपछि ओलीसँगको भेटमा दाहालले ‘म पाँच महिनापछि महाधिवेशन हुन्छ र तपाईंले एकल अध्यक्षमा समर्थन गर्नुहुन्छ भन्नेमा विश्वस्त छैन, म नेपाल समूहसँगै छु’ भनेर स्पष्टै बताएको ओली निकट स्रोतको भनाइ छ । ‘शनिबार दुई अध्यक्षकै सहमतिमा अर्ली महाधिवेशनको प्रस्ताव ल्याइएको हो, प्रचण्डजीले आइतबार आएर म पछि फर्किएँ भन्ने जवाफ दिनुभयो,’ बैठकको सहजीकरण गरेका एक नेताले कान्तिपुरसँग भने, ‘हुन त उहाँले आफैंलाई डाइनामिक छु भन्नुहुन्छ, डाइनामिक मान्छेले बिहान एउटा, दिउँसो एउटा र साँझ एउटा कुरा गर्नु के नौलो भयो र ?’ ती नेताले सहमति गर्दै पछि फर्किने प्रवृत्तिले हैरान पारेको बताए । ‘संकट जस्ताको त्यस्तै छ, दुई अध्यक्षलाई बल्लबल्ल जुटायो, कुरै मिल्दैन,’ ओली पक्षीय अर्का एक नेताले भने, ‘हामी त अहिले छक्क परिरहेका छौं ।’

दाहालले ओलीसँग केही पनि सहमति नगरेको ब्रिफिङ गरे पनि नेपाल पक्षीय नेताहरू पत्याउन तयार छैनन् । ‘ढाँटेको कुरा काटे पनि मिल्दैन, अलिअलि राजनीति हामीले पनि बुझेका छौं,’ नेपाल निकट एक नेताले भने, ‘अहिले दाहालजी दोधारमा हुनुहुन्छ, दोधार भएपछि अस्थिरता देखिने नै भयो, पछिल्लो समय उहाँप्रतिको हाम्रो विश्वास घटेको छ ।’ उनले दाहाल दोधारमा रहेपछि पूर्वमाओवादीका सबै नेता दोधारमै रहने भएकाले झन् अलमल बढिरहेको बताए । ती नेताका अनुसार महाधिवेशनमा जाने नै परिस्थिति बन्यो भनेर कसरी अघि बढ्ने भनेर उनीहरूबीच आन्तरिक छलफल सुरु भइसकेको छ ।

बैठक अनिश्चित

बारम्बार बोलाएर सातौं पटकसम्म स्थगित गएको स्थायी कमिटी बैठक मंगलबारका लागि आह्वान गरिएको छ तर सोमबार राति अबेरसम्म बस्ने नबस्ने ठेगान छैन । दाहाल पक्षीय नेताहरूको भनाइमा मंगलबार बैठक बसेर नियमित एजेन्डामै छलफल चल्छ । प्रवक्ता श्रेष्ठले आइतबारको बैठक बस्ने र नियमित एजेन्डामा छलफल हुने जानकारी दिए । ‘पार्टी एकता बचाउने कुरामै पहल गर्नुपर्छ र छलफल त्यतै केन्द्रित हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यसैले मंगलबार बोलाइएको बैठक चल्छ र नियमित एजेन्डामै छलफल केन्द्रित हुन्छ । तर ओली पक्षका नेताहरूको दाबीमा दुई अध्यक्षबीच समझदारी बनिनसकेकाले बैठक स्थगित हुन सक्छ । ‘अहिलेसम्म कुनै जानकारी त आइसकेको छैन तर दुवै अध्यक्ष छलफलकै क्रममा रहेको र कुरा मिलिनसकेको हुनाले बैठकबारे यसै भन्न सकिँदैन,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने ।

बैठक गत असार १८ गतेदेखि मिति तोक्दै र स्थगित हुँदै आएको छ । यसबीचमा असार २०, २२, २४, २६ र यो महिनाको २ र ४ गते तोकेर अन्तिम समयमा स्थगित गरियो । बैठक बोलाउँदै स्थगित गर्दा अधिकांश स्थायी कमिटी सदस्य रुष्ट छन् ।

प्रकाशित : श्रावण ६, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?