कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ओली र दाहालमा नेतृत्व क्षमताको अभाव देखियो : बेदुराम भुसाल (अन्तर्वार्ता)

'हिजो सचिवालयमै महाधिवेशनको कुरा आउँदा मेरो सहमति छैन भनेर किन भन्न सक्नु भएन भनेर प्रचण्डलाई सचिवालय सदस्यहरुले सोध्नुभयो'
'महाधिवेशनको कुरामा प्रचण्ड कसरी सहमत हुनुभयो भन्ने मेरो मनमा प्रश्न छ'

काठमाडौँ — अचानक भित्रिएको ‘अर्ली महाधिवेशन’को प्रस्तावले नेकपाको आन्तरिक राजनीतिमा फेरि तरंग ल्याएको छ । ‘अर्ली महाधिवेशन’को प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाललेसमेत स्वीकारेको विषयपछि शनिबार यो मुद्दा तात्यो नै ।

ओली र दाहालमा नेतृत्व क्षमताको अभाव देखियो : बेदुराम भुसाल (अन्तर्वार्ता)

तर, आइतबार दिनभर दाहालले यस्तो प्रस्तावमा आफ्नो समर्थन नरहेको प्रष्टीकरण दिएका छन् । यही विवादले थप दुई दिन स्थायी कमिटी बैठक स्थगित भएको छ । ‘अर्ली महाधिवेशन’ कति सम्भव, यसमा दाहालको भूमिका के र स्थायी कमिटी बैठकमा यो विषयमा के छलफल हुन्छ ? यीनै विषयमा नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालसँग बबिता शर्माले कुराकानी गरेकी छिन् ।

फेरि दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगित भयो । के छ तपाईंको प्रतिक्रिया ?

बैठक बोलाएर टुंगाउन नसक्ने जुन स्थिति देखियो, यो दुई अध्यक्षको क्षमताको अभाव हो । दुई अध्यक्ष बस्ने सल्लाह गर्ने र बैठक स्थगित गर्दै आउनु भएको छ । यसको मतलब बैठकमा आफ्ना कुराहरु राखेर, कन्भिन्स गरेर नेतृत्व गर्ने क्षमता दुई अध्यक्ष कमजोर देखियो ।

अचानक 'अर्ली महाधिवेशन'को चर्चा आयो, यसले बैठक प्रभावित भएको हो कि ?

त्यो होला । महाधिवेशनजस्तो कुरामा दुई अध्यक्षमात्रै बसेर सल्लाह गर्ने विषय हो र ? महाधिवेशनमा जाने परिस्थिति छ कि छैन भन्ने बुझ्न केन्द्रीय कमिटी बैठक राखेर तलको रिपोर्टिङ लिएपछि मात्रै निष्कर्ष निकाल्ने हो । अहिलेसम्म पार्टी एकताको काम टुंगिएको छैन । केन्द्रीय तहकोसमेत टुंगिएको छैन, स्थानीय तहको कुरै नगरौं । पार्टी सदस्यता नवीकरण भएकै छैन । पार्टी सदस्य कति हुन् भन्ने थाहा छैन । यस्तोमा दुई अध्यक्ष बसेर लौ 'अर्ली महाधिवेशन' भनेर हुन्छ ? यो त सरासर उहाँहरुको कमजोर क्षमताको एउटा उदाहरण हो ।

यसको मतलब मंसीरमा महाधिवेशन संभव छैन ?

महाधिवेशन भनेपछि कमसेकम पार्टी सदस्यहरुको प्रतिनिधित्व हुन्छ । त्यो गर्नका लागि त पहिला हाम्रा पार्टी सदस्य कति हुन् भन्ने चाहियो । पार्टी एकता गरेको दुई बर्ष दुई महिना भईसक्यो । दुई बर्षसम्म भएका संरचनालाई मिलाउन नसक्ने नेतृत्वले पाँच महिनामा महाधिवेशन गर्छ भनेर कसरी पत्याउनु ? यो हुने कुरै हैन । अहिले उठेका विषयहरुलाई टार्ने उद्देश्यले मात्रै आएका हुन् ।

बिहान तपाईंलगायतका नेताहरु खुलमटार जानुभएको थियो, अध्यक्ष पुष्पकमल दाहालले के भन्नुभयो ?

उहाँले महाधिवेशनको प्रस्तावमा मेरो सहमति होइन भन्नुभयो । त्यहाँ सचिवालयका नेताहरु पनि हुनुहुन्थ्यो । उहाँहरुले 'हिजो सचिवालय बैठकमा मेरो सहमति छैन भन्न सक्नु भएन ? किन भन्नु भएन त ? त्यो भन्नु भएको भए परिस्थिति अर्कै हुन्थ्यो' भनेर भन्नुभयो । यो उहाँको प्रस्ताव हो मेरो हैन मात्रै भए पनि भनेको भए हुन्थ्यो, त्यो पनि भन्नु भएन । तपाईं पनि सहमत हो भन्ने बुझ्यौं हामीले भन्ने सचिवालयका नेताहरुको भनाई थियो ।

तपाईंहरु स्थायी कमिटीका नेताहरुले के कुरा राख्नु भयो त अध्यक्षसँग ?

हामीले तपाईंको कुरा के हो भनेर भन्यौं । तपाईं पाँच महिनामा महाधिवेशन गर्न सकिन्छ भन्नेमा पुग्नु भएको हो ? यो अवस्थामा तपाईंहरु कसरी महाधिवेशन गर्न सक्नु हुन्छ ? के हो कुरा ? भनेर सोध्यौं । उहाँले 'म सहमत हैन, छलफल गर्ने भए गरौंमात्र भनेको हुँ' भन्नुभयो । अरु साथीहरुले त्यसमा पनि कुरा उठाउनु भयो । छलफल गर्ने भए गरौं, यो छलफलका लागि हो भनेर त्यहाँ भनेको भए बुझाई अर्कै हुन्थ्यो भनेर सचिवालयका अरु नेताहरुले भन्नु भयो । केहीबेर स्पष्टीकरणजस्तो भयो ।

अचानक महाधिवेशनको प्रस्ताव आउनुको अरु राजनीतिक कारण पनि छ कि ?

प्रधानमन्त्रीले अहिले कुनै पद छाड्दिन भन्नु भएको छ । त्यो पद नछोड्नका निम्ति वातावरण बनाउन खोज्नु भएको हो, प्रष्ट छ यो । उहाँले पद नछाड्नका निम्ति अनुकुल प्रयत्न गर्नुभएको छ । ती प्रयत्न मध्येको एउटा प्रयत्न यो हो । तर, प्रचण्ड सहमत भएको जस्तो देखियो । त्यो चाहिँ अलि बुझिनसक्नु जस्तो भयो । मैले त बुझ्न सकेको छैन । आज हैन भने पनि हिजो सचिवालयमा सहमत भएको देखियो । त्यो कुरा सचिवालयका अरु सदस्यहरुले भन्नु भयो । भनेपछि उहाँ किन त्यो ढंगले सहमत हुनु भयो भन्ने प्रश्न मेरो दिमागमा छ ।

अब बस्ने स्थायी कमिटी बैठकमा तपाईंहरुले राख्नुभएका मागको छिनाफानो हुन्छ कि महाधिवेशनको चर्चा ? तपाईंहरुको तयारी के छ ?

महाधिवेशनको कुरा प्रस्तावको रुपमा आयो भने छलफल हुन्छ । अहिले सचिवालयको विषयमात्रै बनेको छ । स्थायी कमिटीका छुट्टै एजेण्डा छन् । अर्को थप विषय आएर न बैठकलाई अलमल्याइ दियो । निर्धारित एजेण्डामा हामीले छलफल गर्दा गर्दै असार १४ गते प्रधानमन्त्रीको अभिव्यक्ति र नेकपा एमाले दर्ता गरेको विषयले बैठकलाई तान्यो । त्यसपछि विषयान्तर भयो । बैठकमा सबैभन्दा पहिला प्रचण्डले नै राजीनामा माग गर्नुभयो प्रधानमन्त्रीको । अरु नेताहरुले पनि माग्नु भयो । त्यसपछि बैठक स्थगित हुँदै गयो ।

यसैबीचमा फेरि महाधिवेशनको कुरा आयो । तर, प्रचण्डले मेरो सहमति छैन भन्नु भएको छ । उहाँहरुले फेरि सचिवालयमा छलफल गर्नुहोला । यदि स्थायी कमिटीमा यो विषय प्रवेश भयो भने कडा बहस हुन्छ ।

यसको मतलब तपाईंहरु बिहान खुमलटार गएर अध्यक्षको प्रष्टीकरण सुनिसकेपछि पनि उहाँको भूमिलाई लिएर अझै आशंका छन् ?

उहाँले आज त्यसो भने पनि हिजोको भूमिकाको बारेमा अरु नेताहरुले जसरी उहाँकै सामुन्नेमा भन्नु भयो, त्यसले गर्दा पनि उहाँ किन सहमत हुनु भयो त ? यो प्रश्न मेरो मनमा छ । अरु साथीहरुको के छ मैले भन्न सकिनँ ।

दुई अध्यक्षबीच केही सहमति भएको छ भन्ने आशंका हो ?

हैन, म धेरै आशंका गर्दिनँ । तर, किन यसो गर्नुभयो ? भन्ने प्रश्नचाहिँ हो ।

त्यसो भए अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत तपाईंहरुको यो गठबन्धन के हुन्छ ?

सबै कुरा प्रचण्डमा भर पर्छ । केपी ओलीले दुवै पदबाट राजीनमा दिनुपर्छ भनेर सुरुमा प्रचण्डले भन्नु भएको हो । आफैंले उठाएको विषयलाई उहाँले किन छोड्दिनु भयो भन्ने प्रश्न उठेको छ । त्यसकारण उहाँको भूमिकामा भर पर्छ ।

तपाईंहरुको अबको रणनीति के त ?

व्यक्तिको कुरा हैन, सिंगो पार्टीको हो । व्यक्तिकाबीचमा केही बाँडफाट गरेर टुंगिने बिषय हैन । एकछिन टालटुल होला तर फेरि उठ्छ । पार्टीलाई विधि, पद्धती, मापदण्डबाट चलाउने कि नचलाउने ? पार्टीलाई व्यक्तिगत हिसाबले चलाउने कि संस्थागत ? सरकार पार्टीको निर्देशनमा चल्ने हो कि हैन ? किनकि अहिले पार्टीको सरकार छ । भन्दा चाहिँ पार्टीको सरकार भन्ने तर सरकारले पार्टीको नीति निर्देशनअनुसार काम गरेन भन्ने नै कुरा छ । व्यक्तिव्यक्ति मिलेर हुँदैन । संस्थागत निर्णय मान्नु पर्छ । उहाँहरुले समस्याको समाधान गर्न सक्नु भएन । यतिबेला पार्टी र मूलुकको समस्या के भनेर बुझेर निर्णय गर्नु पर्छ ।

स्थायी कमिटीले कसरी अहिलेको निकास दिन सक्छ ?

स्थायी कमिटीले निकास दिन्छ । छलफल गरेर निकास निकालौं भन्ने हो भने । यहाँ त बैठक बस्न नदिएर समस्या भयो । निर्णय प्रक्रिया भनेको सर्वसम्मति हुन्छ । नभए बहुमत अल्पमतबाट हुन्छ । विधानमा यो प्रष्ट छ । यो प्रक्रियाबाट चल्ने हो भने एउटा निर्णयमा त पुग्न सकिन्छ । तर, यहाँ बैठक अवरुद्ध गरेर अगाडि बढ्न नदिने काम भएको छ ।

स्थायी कमिटी बैठक स्थगित गर्न हुँदैन भनेर नेतृत्वलाई दबाब दिन सक्नु भएन त ?

हामीले दबाब दिएका छौं । बैठक स्थगित नगर भनेर सडकमा उत्रिन पनि भएन । नत्र त नेतृत्वलाई भेटेर दबाब दिएकै छौं । तर, योबीचमा केही साथीहरु एकता-एकता भन्ने तर भूमिका प्रष्ट नहुने भएकै हो । त्यसले वातावरणलाई अलिअलि बिगारेको हो । यसको मतलब फेरि बैठकबाटै नेतृत्वलाई तपाईंहरुले समय लगाएर मिलाएर आउनुस् भनेको हैन ।

प्रकाशित : श्रावण ४, २०७७ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?