कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कर्णालीमा मेसिन धेरै, परीक्षण थोरै

वीरेन्द्रनगर — सुर्खेतस्थित प्रदेश अस्पतालमा चैत १९ गते कोरोना परीक्षणका लागि आरटी–पीसीआर मेसिन जडान गरियो । एक दिनमा १२ देखि १५ जनाको स्वाब परीक्षण हुने भनिए पनि मेसिनले त्यसअनुरूप काम गर्न सकेन ।

कर्णालीमा मेसिन धेरै, परीक्षण थोरै

कर्णालीमा बाहिरबाट भित्रिनेको संख्या बढ्दै गएपछि वैशाख १६ गते प्रदेश अस्पतालअन्तर्गतकै वीरेन्द्रनगरकै पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा ठूलो क्षमताको पीसीआर मेसिन जडान गरियो । त्यसको एक सातापछि वैशाख २२ गते जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैं खरिद गरी पीसीआर मेसिन जडान गर्‍यो । असार १६ गते दैलेख र १८ गते रुकुम पश्चिममा प्रयोगशाला स्थापना गरी पीसीआर परीक्षण थालिएको छ । तर परीक्षण पहिलाको तुलनामा घटेको छ ।

प्रदेशका चार जिल्लामा एउटा ठूलो र तीनवटा साना क्षमताका मेसिन सञ्चालनमा छन् । ती मेसिनले दैनिक साढे १२ सय हाराहारी स्वाब परीक्षण गर्न सक्छन् । तर, असार २५ गते प्रदेश अस्पतालमा २ सय ३२, प्रतिष्ठानमा ४३, दैलेखमा ३० र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा १ सय ९४ जनाको पीसीआर परीक्षण भएको निर्देशनालयले जनाएको छ । यस्तै, २७ गते प्रदेशमा १ सय ९४, जुम्लामा ३ सय ४७ र दैलेखमा ७८ जनाको परीक्षण भएको थियो । गत आइतबार प्रदेशमा १ सय ९२, जुम्लामा १ सय ३९, दैलेखमा २२ र रुकुमपश्चिममा १ सय ३० जनाको परीक्षण भएको थियो ।

कर्णालीमा बिहीबारसम्म ३५ हजारको हाराहारीमा पीसीआर परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत पदम केसीले बताए । निर्देशनालयका अनुसार प्रदेश प्रयोगशालाबाट १५ हजार ९ सय ८१, प्रतिष्ठानमा १७ हजार २ सय ४८, रुकुम पश्चिममा ४ सय ७१ र दैलेखमा १ हजार १७ जनाको स्वाब परीक्षण भएको छ । पछिल्लो समय समुदायमा समेत संक्रमण फैलिएको अवस्थामा परीक्षण बढ्नुको साटो घटेको स्वास्थ्यकर्मीहरू बताउँछन् । पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा मात्रै ३ वटा पीसीआर मेसिन जडान गरिएको छ । सुरुमा जडान गरिएको मेसिन कम क्षमताको भएपछि बढी क्षमताको जडान गरिएको थियो । दोस्रोपल्ट जडान गरिएको मेसिन पनि बिग्रिएपछि ८ दिनअघि नयाँ मेसिन जडान गरिएको हो । अहिले नयाँ मेसिनबाट परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारी जोशीले बताइन् ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले अहिले भारतबाट भित्रिनेको संख्या कम भएसँगै क्वारेन्टाइनमा बस्ने घट्दा परीक्षण केही कम भएको बताए । उनले समुदायमै पुगेर स्वाब संकलन नगरे पनि कन्ट्याक्ट ट्रेसिङभित्र परेकाहरूको स्वाब संकलन भइरहेको जनाए ।

प्रकाशित : श्रावण २, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?