बझाङ पहिरो : जसले सर्वस्व गुमाए

घरको नामोनिसान बाँकी छैन । मध्यरातको पहिरोमा परी श्रीमती, दुई छोरी र छोराको मृत्यु भएपछि उनी विक्षिप्त बनेका छन् ।
वसन्तप्रताप सिंह

बझाङ — जिङ्ग्रिङ्ग कपाल । प्रस्टै गन्न मिल्ने निधारका चाउरी । दुब्ला कदका कटे जेठारा आँगनको एक कुनामा झोक्राइरहेका छन् । आँखाका गेडी राता र परेलाका डिल सुन्निएका छन् । घाँटीमा हरियो रुमाल बाँधेका उनी घरी भुइँतिर हेरेर टोलाउँछन्, घरी आकाशतिर हेर्दै एकोहोरिन्छन्  ।

बझाङ पहिरो : जसले सर्वस्व गुमाए

केही बोल्न खोज्दा गला अवरुद्ध हुन्छ । ‘मैले दैवको के बिराएको रहेछु,’ केहीबेरमा सम्हालिँदै उनले भने, ‘बोल्नका लागि एक जना पनि छोडिनस् ।’ यत्ति भनिसकेपछि उनी घोप्टो परेर रुन थाले ।

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा असार १९ गते रातिको पहिरोले गाउँ बगाउँदा उनका परिवारका ४ जनाको मृत्यु भयो । घटनाका दिन उनी भने भारतको पिथौरागढ जिल्लाको कुमौडमा थिए । घटना सुन्नेबित्तिकै गाउँले चनी जेठारासँग हिँडेका उनी २२ गते बझाङ आइपुगे । तर उनी कोरोना महामारीका कारण सोझै आफ्नो घर रहेको घटनास्थल जान पाएनन् । उनलाई झोता बजारस्थित एक आफन्तको घरमा क्वारेन्टाइनमा राखिएको छ । मल्लेसी र झोता बजारको दूरी पैदल ३ घण्टाको हो ।

‘आएदेखि खाना पनि खाएका छैनन्, सुतेका पनि छैनन्,’ क्वारेन्टाइनमै रहेका चनीले भने, ‘यस्तै हो भने यिनको ज्यानलाई पनि खतरा छ ।’ पहिरोले बगाएर उनको घरको नामोनिसान बाँकी छैन । मध्यरातमा सुतिरहेकी श्रीमती, १६ र १२ वर्षका दुई छोरी र ७ वर्षका छोराले घटनास्थलमै ज्यान गुमाएपछि उनी विक्षिप्त बनेका छन् । जलाउने चलन भए पनि पहिरो र लगातारको वर्षाका कारण मृतक चारै जनालाई २१ गते गाडेर अन्त्येष्टि गरिएको थियो । पारिवारिक शोकका कारण अस्वस्थ बन्दै गइरहेका उनले तत्काल काजकिरिया गरेका छैनन् । ‘क्वारेन्टाइनबाट निस्किएर परिवार गाडेको ठाउँमा गएर धूप जलाउँछु,’ उनले मसिनो स्वरमा भने ।

न्यून आर्थिक अवस्थाका कटे प्रत्येक वर्ष खेती लगाएर मंसिरतिर भारत जान्थे । हिउँदका ४/५ महिना उतै मजदुरी गरेर चैत/वैशाखतिर खेती लगाउन घर फिर्थे । मजदुरी गरेर कमाएको पैसाले नुनतेल, जहान परिवारको लुगाफाटो फेर्थे । छोराछोरीको पढाइ खर्च चलाउँथे । ७ कक्षा पढिरहेकी जेठी छोरी शान्तिको पढाइको जिम्मा केदारस्युँकै झोतामा रहेका मावलीले लिएका थिए । उनी एसईईपछि अनमी पढ्न चाहन्थिन् । १२ वर्षीया माइली छोरी अस्मिता गाउँकै स्कुलमा दुई कक्षा पढ्दै थिइन् । ७ वर्षीय छोरा प्रयाग गत वर्ष मात्रै शिशु कक्षामा भर्ना भएका थिए । यो वर्षबाट उनलाई निजी स्कुलमा भर्ना गर्ने तयारी थियो । घर खर्चको चिन्तासँगै छोरीलाई अनमी र छोरालाई बोर्डिङ पढाउने सपनाले उनलाई परदेशका दु:ख गर्न प्रेरित गरिरहन्थ्यो । अहिले त्यही सपना उनका लागि पछुतो बनेको छ । ‘जसका लागि परदेश गएर दु:ख गरें, उनीहरू नै रहेनन् । बरु घरमै भएको भए म पनि परिवारसँगै जान पाउँथे,’ उनले भने, ‘अब म कसको मुख हेरेर बाँच्नू ?’

पहिरोमा परेर उनकै घरमा सुतिरहेकी छिमेकी दाजुकी छोरी र एक जना वृद्धले पनि ज्यान गुमाए । २२ वर्षीय युवक बेपत्ता छन् । घटनापछि शोकमा डुबेका गाउँले अझै तंग्रिन सकेका छैनन् । ७० परिवारको बसोबास रहेको मल्लेसी गाउँका २२ घर पहिरोले बगाएको छ । ३८ घर जोखिममा छन् । अहिले पूरै गाउँ सरकारी निकाय र अन्य दाताको राहतका भरमा बाँचेको छ ।

गाउँका सबैको आर्थिक अवस्था कटे जेठाराको भन्दा फरक छैन । यहाँबाट प्रत्येक वर्ष करिब दुई सय पुरुष भारतको उत्तराखण्ड प्रदेशमा पर्ने पिथौरागढ, बागेश्वर, झुलाघाटलगायतका ठाउँमा मजदुरीका लागि जाने गर्छन् । उतैको कमाइले वर्षभरिको खर्च चलाउने गरेको स्थानीय सुरेश जेठाराले बताए । ५० जनाभन्दा बढी मानिस अहिले पनि भारतको बैंग्लोरमा मजदुरी गरिरहेका छन् । यीमध्ये धेरैजसोले परिवारै उतै लगेका छन् । आफन्त गुमाएको पीडासँगै विस्थापित सबैलाई अब कसरी घरबासको व्यवस्था गर्ने भन्ने पिरलो छ । ‘गाउँमा एक–अर्कालाई पर्दा सहयोग गर्न सक्ने हैसियत कसैको छैन । सबै मजदुरीकै भरमा बाँचेका मान्छे हौं,’ सुरेशले भने, ‘मर्नेले त छोडेर गए । हामी बाँचेकालाई अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता भयो ।’

जथाभावी बनेका ग्रामीण सडकका कारण जिल्लाका दर्जनौं बस्ती पहिरोको चपेटामा पर्ने सम्भावना छ । सेती नदी तथा अन्य खोला किनारका बस्तीमा बाढीको जोखिम रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । मल्लेसीको पहिरो सडक निर्माणका कारण नभई कमजोर भूबनोटका कारण गएको स्थानीय बताउँछन् । झोता, गण्डकी बजार, नारुगौडा, बागथला र रायललगायतका १० गाउँ पहिरोको सबैभन्दा बढी जोखिममा रहेको विज्ञहरूको भनाइ छ । प्राकृतिक प्रकोपसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था जियोहजार्ड इन्टरनेसनलले सन् २०१७ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले बझाङ पहिरोको उच्च जोखिममा रहेको देखाएको छ ।

प्रकाशित : असार ३०, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?