कहिले पाइएला सुरक्षित बास ?

बाढीपहिरोमा सर्वस्व गुमाई विस्थापित भएकाहरु अहिले तातोपानी सुक्खा बन्दरगाह, होटल र आफन्तका घरमा शरण लिइरहेका छन् ।
अनिश तिवारी

सिन्धुपाल्चोक — पानी पर्न रोकिएको छैन । वर्षासँगै माथिबाट भासिने र तल भोटेकोसीले कटान भइरहेको छ । भूकम्पको धक्काले कमजोर बनेका वरिपरिका कुनै डाँडा सग्ला छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ । भोटेकोसी गाउँपालिका—३ लार्चा फुमाचेकी ३२ वर्षीया डोल्मा तामाङ पहिरोमा भासिएको आफ्नो गाउँ हेरेर बेलाबेला आँसु खसाल्छिन् ।

कहिले पाइएला सुरक्षित बास ?

बिहीबार एक रातमै घरबार गुमाएयता ननिदाएकी उनको आँखा अझै ओभाएको छैन । ‘गाउँ नै यसरी बग्ला भनेर सपनामा पनि चिताएको थिइनँ, जन्मेको ठाउँ छोडेर भाग्नुपर्दा रुनु न हाँस्नु भएको छ,’ उनले भनिन् । गाउँबस्ती र खेतबारी सर्वस्व गुमेपछि उनीसहित ५८ परिवार तल्लो भेगको लार्चास्थित तातोपानी सुक्खा बन्दरगाहमा आश्रय लिएर बसेका छन् । घरसम्पत्ति बगेर विस्थापित भएकाहरु आश्रयको खोजीमा छन् । ‘बाँच्न त बाचियो तर अहिले न बस्ने घर छ न त खेत । प्यारो गाउँ पनि रहेन । अब कहा जाने के गर्ने ?,’ उनले भनिन् ।

लार्चा ठाडो खोला मिसिएर उर्लिएको भोटेकोसीको कटान र माथिल्लो गाउँ पहिरोले बगाएपछि राति भागदौड हुँदा तीन जना बेपत्ता भएका थिए । ‘मेरो काल आएको रहेनछ । यसरी खेदिएर बाँच्न लेखेको रैछ,’ लार्चा खोलाले बगाएर २४ घण्टापछि सकुशल भेटिएका नाक्चे मगरले भने, ‘आँखैअगाडि गाउँ सखाप भएको देखेँ । बाढीमै जोगिएर झन् पीडा भएको छ ।’ लार्चाका बेपत्ता तीन जना शुक्रबार सकुशल भेटिएका थिए । उनीहरु तातोपानी भन्सार सुक्खा बन्दरगाहको कोठामा आश्रय लिइरहेका छन् । ‘बन्दरगाहको बसाइ कहिलेसम्म हो थाहा छैन, सधैं यहीं बसेर पनि भएन । गाउँ जाऊँ यस्तो हालत छ गर्ने के ?’ मगरले भने ।

तलबाट भोटेकोसीले कटान गर्दै ल्याएपछि त्रसित भोटेकोसी पारी गाउँका बादुरे शेर्पा हरेक बर्खामा कहाँ जाने पिरलो हुने गरेको बताउँछन् । ‘अघिल्लो बर्खामा त केही भएको थिएन, यसपटक सर्वस्व लुट्यो । दैवले पनि गरिबलाई नै दपेट्दा रहेछन्,’ उनले भने । बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो र बाढीले अलपत्र र विस्थापितको संख्या दिनहुँ बढिरहेको छ । बाढीपहिरोले जिल्लाभर झन्डै चार सय परिवार विस्थापित भएका छन् । भोटेकोसी गाउँपालिकाका मात्रै ५ सय जना घरबारविहीन भएको अध्यक्ष राजकुमार पौडेलले बताए । २० जना अझै बेपत्ता छन् । बाह्रबिसे नगर र जुगल गाउँपालिकाले विस्थापितलाई अहिले खानबस्नको व्यवस्था गरिरहेको जनाएका छन् । अन्य व्यवस्थापनका लागि छलफल भइरहेको बाह्रबिसे नगरकी उपप्रमुख सुशीला पाख्रिनले बताइन् ।

एकै स्थानमा बस्नुपर्ने बाध्यताले विस्थापितमा कोरोना संक्रमणको जोखिम बढाएको छ । ‘कसैले माक्स लगाएका छैनन्, दूरी कायम पनि यस्तो बेला कसरी गर्ने ?,’ हिन्दीका स्थानीय सुमन श्रेष्ठले भने । अहिलेलाई बासगाँसको व्यवस्था पालिकाबाट भए पनि कोरोनाबाट जोगिन कुनै सावधानी नअपनाएको स्थानीय बताउँछन् । बन्दरगाहमा लार्चाका विस्थापित एउटै हलमा बस्छन् । खाग्दलका ८० जना रुम्टा र २ सय १० जना आफन्तको घरमा र थोत्रो पालमा बसिरहेका छन् । तातोपानी, घट्टेखोला, तामाङगाउँ र यार्मासिंहका ८० विस्थापित परिवारलाई तातोपानी बजारस्थित स्मल हेभन होटलमा राखिएको छ ।

प्रकाशित : असार ३०, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?