नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भए 

पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किए

असार २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् ।  

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए । 

नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ । 

६ जिल्ला कोरोनामुक्त

मुलुकभर एक जना पनि कोरोना संक्रमित नहुने जिल्लाको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएको जानकारी दिइएको हो । चार दिनअघि प्रदेश १ का ४ जिल्ला र हुम्ला कोरोना 'फ्रि' बनेका थिए ।

मन्त्रालयका अनुसार मृतकको संख्या भने शनिबार अपरान्हसम्म ३८ पुगेको छ । 

कान्तिपुर

Link copied successfully