लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

आश गुरुङ

लमजुङ — बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

उनीहरुलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुऱ्याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी गंगाबहादुरले बताए ।

बिहीबार राति साढे ८ बजेदेखि भीषण वर्षा भएको बेंसीसहरको सातबिसे क्षेत्रमा राति १० बजेतिर पहिरो गएको प्रहरीले बताएको छ ।

घरमा दीपकका आमाबुवा र छोरी पनि बस्दै आए पनि बिहीबार राति भने उनीहरु आफन्तकोमा गएको प्रहरीले बताएको छ । दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घरदेखि करिब ५० मिटर माथिबाट पहिरो बग्दै गरेको थाहा पाएपछि घाइतेले हारगुहार गरेका थिए ।

प्रकाशित : असार २६, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?