कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुणस्तरहीन औषधिजन्य सामग्रीको तस्करीले स्वास्थ्य  जोखिम बढ्यो : राष्ट्रसंघ

काठमाडौँ — कमसल खालका मास्क, स्यानिटाइजर र मेडिकल सामग्रीको तस्करीका कारण मानिसहरुको स्वास्थ्य अवस्था जोखिममा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । कोरोना महामारीका बीच संगठित आपराधिक गिरोहहरु यस्ता सामग्रीको माग र आपूर्तिबीचमा रहेको अन्तरमा खेलिरहेको संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय(यूएनओडीसी)ले जनाएको छ ।

गुणस्तरहीन औषधिजन्य सामग्रीको तस्करीले स्वास्थ्य  जोखिम बढ्यो : राष्ट्रसंघ

कोरोनाविरुद्धको खोप तयार भएलगत्त उक्त गिरोह त्यसैको तस्करीमा सक्रिय हुने खतरा रहेको पनि यूएनओडीसीले चेतावनी दिएको छ । साथै यसबीचमा भ्रष्टाचार, ठगी तथा महत्वपूर्ण तथा संवेदनशील संरचनामा साइबर आक्रमण हुनसक्ने भन्दै यूएनओडीसीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘कोभिड–१९ को महामारीलाई तस्करहरुले पैसा कमाउने अवसरका रुपमा लिएका कारण जनस्वास्थ्य र मानिसकै जीवनमा यसले ठूलो चुनौती थपेको छ,’ यूएनओडीसीकी कार्यकारी निर्देशक घादा वालीले विज्ञप्तिमा भनेकी छिन् । संक्रमणकालीन अवस्था र राज्यहरुको फितलो अनुगमनका कारण आपराधिक समूहहरु मेडिकल सामग्रीको तस्करी र गुणस्तरहीन सामग्रीको ओसारपसारमा सक्रिय भएको पनि उनले बताइन् ।

इन्टरपोलको समन्यवमा भएको अपरेसनमा विश्वभरबाट १२१ जनाभन्दालाई गुणस्तरहीन मास्क र मेडिकल सामग्री तस्करी गरेको आरोपमा पक्राउ गरिएको एएफपीले जनाएको छ । त्यसमा करिब एक अर्ब ६७ करोड रुपैयाँ बराबरको औषधिजन्य सामग्री रहेको एउटा रिपोर्टले उल्लेख गरेको छ । सन् २०१८ को यही अवधिमा भन्दा यस वर्ष १८ प्रतिशतले औषधिजन्य सामग्रीको तस्करी बढेको इन्टरपोलले उल्लेख गरेको छ ।

यूएनओडीसीले अन्तर्राष्ट्रिय सहकार्य तथा कानुनी कारबाहीमा कडाइ गरेर कोरोना महामारीका बीचमा भइरहेको गुणस्तरहीन औषधिजन्य सामग्रीको तस्करीलाई रोक्नुपर्ने बताएको छ ।

प्रकाशित : असार २४, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?