कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाकालपछि कसरी अघि बढ्ने ?

बुनु थारु

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) तथा जनस्वास्थ्य विज्ञहरूले कोरोनाकाल समाप्तिपछिको सामान्य जीवनका बारेमा बहस गरिरहेका छन् । के अब कोरोनाकालअघिकै जस्तो जीवनयापन रहला वा नयाँ शिराबाट कामको थालनी गर्नुपर्ला ?

कोरोनाकालपछि कसरी अघि बढ्ने ?

यो प्रश्न सबैका दिमागमा उठिसकेको छ । कतिपय भन्छन्, अब हामी कोरोना भाइरस फैलिनुभन्दा अगाडिकै दैनिकीमा चाहेर पनि फर्कन सक्ने छैनौं ।

मानसिक स्वास्थ्यका विषयमा काम गरिरहेका जगन्नाथ लामिछाने त अब हामीले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताउँछन् । ‘न्यु नर्मलबाट हामी पुरानो अवस्थामा फेरि फर्किन सक्दैनौं, जे छ त्यसैलाई वास्तविकता मानेर अगाडि बढ्नुपर्छ । कोरोनासँगै एडजस्ट गर्नुको अब कुनै विकल्प छैन,’ उनले भने ।

दैनिकीमा परिवर्तन ल्याउने

व्यापार/व्यवसाय, अफिस, स्कुल, कलेज, मनोरञ्जनका क्षेत्र र पूरै अर्थतन्त्रमा कोरोनाले ठूलो प्रभाव पारेको छ । मानिसको दैनिकीमै उथलपुथल ल्याइदिएको छ । पहिले गरेका र बनाएका योजना तुहिएका छन् । कोरोना महामारीले हामी हरपल कसरी सुरक्षित भएर अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकाएको छ ।

‘कति लामो समयसम्म कोरोनाको असर रहन्छ, कसैलाई थाहा छैन, हामी यसरी नै लकडाउनमा धेरै समय बस्न पनि सम्भव छैन,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘कामकाज तथा सामान्य जीवनमा एक दिन फर्किनु नै छ । कोरोनाको जोखिम रहिरहने हुँदा आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने देखिन्छ ।’

कोरोनालाई हामीले होइन, अब यसले हाम्रो जीवनलाई निर्देशित गर्छ भन्दै उनले कोरोनाका अनुसार मानिसले हिँड्नुपर्ने आवश्यकता देखिएको बताउँछन् ।

कार्यालयको संरचना फेर्ने

जनस्वास्थ्य विज्ञहरूका अनुसार कोरोना भाइरस तथा अरू महामारीको जोखिम कम गर्नका लागि मुख्य त सरसफाइमा ध्यान दिने र संक्रमणमुक्त कसरी बनाउने भन्ने उपायहरू अपनाउनुपर्छ । जस्तै निकै भीडभाड हुने अफिस, अस्पताल, सार्वजनिक क्षेत्रहरूमा सेन्सर ट्याप, सेल्फ क्लिनिङ ट्वालेट, ह्यान्डिल नभएको ढोका आदि राख्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक शौचालयको संरचना परिवर्तन गर्नुपर्ने, सही तरिकाले हात धुने तरिका सिकाउनुपर्ने, हात धोइसकेपछि धारा बन्द गर्न सफा रुमाल हुनुपर्ने जनाएको छ । जनस्वास्थ्य विज्ञहरूका अनुसार सार्वजनिक शौचालयहरूमा कोरोना भाइरस तथा अरू संक्रामक रोग र महामारी फैलिन सक्ने सम्भावना रहन्छ । ‘अब भवनको डिजाइन तथा नयाँ संरचनाहरू भाइरस संक्रमणको नियन्त्रणमा सघाउ पुर्‍याउने गरी बनाउनुपर्छ,’ डा. पुनले भने । उनका अनुसार कार्यालयमा पहिले नजिकै बसेर काम गर्ने अभ्यास थियो, यसमा परिवर्तन हुनुपर्छ । दूरी बढाउनुपर्ने देखिन्छ । कम्प्युटरलगायत अरू वस्तु पनि सकेसम्म एक्लैले र नभए सफा नगरी प्रयोग गर्नुहुन्न । कार्यालय तथा काम गर्ने ठाउँलाई कसरी संक्रमणमुक्त बनाउने भनेर कार्यालयले जिम्मेवारी लिनुपर्छ ।

उनका अनुसार मुख्य त सेवा लिने र सेवा दिनेले एकदम सावधानी अपनाउनुपर्ने हुन्छ । ‘दूरी कायम गर्ने, साबुनपानीले हात धुने र मास्क लाउने कुरा अनिवार्यजस्तै हुन्, पसलका मान्छेले पनि कम्तीमा दुई मिटर भए पनि दूरी कायम गरिदिनुस् भनेर भनिराख्नुपर्‍यो, नचाहिने सामान पनि घरीघरी छुने तथा चलाउने गर्न भएन,’ उनले भने । ठूला मल तथा स्टोरमा तापक्रम नाप्ने तथा सेनिटाइजर छर्किनुपर्ने र भीडभाडमा हिँड्न बन्द गर्नुपर्ने उनले बताए । ‘धेरैलाई लाग्छ, मास्क लगायो भने सामाजिक दूरी कायम गर्नुपर्दैन तर त्यसो होइन । मास्क लगाउनैपर्छ किनकि कोरोना भाइरसका लक्षणहरू फेरिँदै गएका छन् ।’

भर्चुअल उद्यमशीलताको विकास गर्ने

कोरोनापछि अर्को युगमा प्रवेश गरेको जस्तो महसुस सबैमा हुने देखिन्छ । कोरोनाको महमारीले पारिवारिक, सामाजिक, राजनीतिक तथा व्यक्तिगत सबै कुरामा धेरै परिवर्तन ल्याइदिएको छ । धेरै मानिसहरू घरबाटै काम गरिरहेका छन् । बैठक तथा भेटघाट खुम्चिएका छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भर्चुअल उद्यमशीलताको विकास हुने देख्छन् । उनले भने, ‘सेमिनार, बैठकभन्दा पनि जुम मिटिङमा अब अभ्यस्त भइसकेका छौं । यसले समयको बचत हुन्छ र प्रविधिको प्रयोगमा अभ्यस्तसमेत बनाउँछ ।’

होम डेलिभरीमा अझ व्यापकता थपिनेछ । ‘मानिसहरूले घरबाहिर किनमेल गर्न जानुभन्दा घरमै डेलिभरीको सुविधा धेरै प्रयोग गर्नेछन्,’ उनले भने, ‘यो महामारीले हामीलाई आत्मनिर्भर हुन सिकाएको छ । मास्क, सेनिटाइजर तथा पीपीई नबन्ने नेपालमा अहिले यसको उत्पादन भइरहेको छ ।’

इन्डोनेसियाको जकार्तकामा रहेको एउटा सपिङमा मलमा कायम गरिएको सामाजिक दूरी तस्बिर : रोयटर्स

रेस्टुरेन्ट तथा होटलहरूले कोरोना महामारीको प्रत्यक्ष मार खेपिरहेका छन् । अब पहिलेजस्तो यी ठाउँमा मान्छेहरू भरिभराउ देखिने छैनन् । त्यसैले रेस्टुरेन्टहरूले होम डेलिभरी सेवामा अझै बढावा दिएका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएनका अध्यक्ष अरनिको राजभण्डारीले पहिलाजस्तो रेस्टुरेन्टमा आएर खाने चलनमा धेरै मात्रामा कमी हुन सक्ने बताउँदै घरघरमा फुड डेलिभरीमा जोड दिइरहेको बताए । ‘कोरोना कहरमा वा पछि कसरी रेस्टुरेन्ट सञ्चालन गर्ने भनेर पर्यटन बोर्डसँग मिलेर प्रोटोकल बनाएका छौं,’ उनले भने, ‘आउने दिनमा रेस्टुरेन्टहरूलाई त्यति सहज छैन । आम्दानी छैन, खर्च बढेको छ ।’

‘पहिले रेस्टुरेन्टका खानेकुराहरू फुड सर्भिस कम्पनीहरूले डेलिभर गर्थे, त्यसो गर्दा हाम्रा कर्मचारी खाली बस्ने र सर्भिस दिनेलाई पनि पैसा बुझाउनुपर्ने हुन्थ्यो,’ अब हरेक साना तथा ठूला रेस्टरेन्टले अनलाइनमार्फत सेवा दिन सक्ने उनले जनाए । उनले यसका लागि एसोसिएसनले फुड सर्भिसको अनलाइन ट्रायल सुरु गर्ने जनाए । सुरुको फेजमा यो सेवा काठमाडौं, पोखरा त्यसपछि सौराहामा विस्तार गर्ने योजना रहेको उनले बताए ।

अनलाइन कक्षामै जोड दिने

सबैभन्दा प्रभावित भएको क्षेत्रमा स्कुल तथा कलेज पनि पर्छन् । प्याब्सनका उपाध्यक्ष डीके ढुंगानाले पोस्ट कोरोना स्कुल म्यानेजमेन्टसम्बन्धी निरन्तर छलफलमा रहेको बताए । उनले विद्यालय कहिले खुल्ने टुंगो नभए पनि आगामी दिनमा कसरी विद्यालय सञ्चालन गर्ने भनेर त्यसअनुसारको विभिन्न मोडेलमा छलफल भइरहेको बताए ।

उनी भन्छन्, ‘पूरै विद्यालयलाई डिस्इन्फेकटेन्ट गर्ने र हेल्थ सेनिटाइजेसनको प्रबन्ध मिलाउने महत्त्वपूर्ण पक्ष हो । त्यसैगरी हेल्थ डेस्क नै राख्ने भन्नेबारे पनि छलफल भएको छ । कक्षाकोठामा विद्यार्थीलाई कसरी व्यवस्थित रूपमा राखेर पढाउने भन्ने विषयमा छलफल भएको छ । एउटा कक्षाका विद्यार्थीलाई एक समूह बनाएर कक्षामै र अर्को समूहलाई अनलाइनबाट पढाउन सकिन्छ ।

उनले अबको दिनमा अनलाइन कक्षामा बढी जोड दिनुपर्ने र शिक्षक, अभिभावक तथा विद्यार्थीलाई मानसिक परामर्श दिनुपर्ने बताए ।

चिन्ता नलिने, नयाँ योजना बनाएर अघि बढ्ने

कोरोना महामारीले आम मानिसमा मानसिक समस्या बढाइरहेको र यसको प्रभाव पछिसम्म पर्न सक्ने मानसिक स्वास्थ्यका विज्ञहरूले बारम्बार भन्दै आइरहेका छन् । मनोचिकित्सक निशिता पाठक भन्छिन्, ‘आफूमात्र होइन, विश्व नै यस अवस्थाबाट गुज्रिरहेको छ भन्ने सोचाइका साथ अगाडि बढ्नुपर्छ । आफूले गरिरहेको काम छोड्नुहुन्न, आगामी दिनका योजना पनि बनाइराख्नुपर्छ ।’ नयाँ अवस्थामा जाँदा यसलाई नयाँ अवसरका रूपमा लिनुपर्ने उनले बताइन् ।

‘यस्तो अवस्थालाई जहिल्यै पनि डार्क पिक्चरका रूपमा हेर्नुपर्छ भन्ने जरुरी छैन,’ उनले भनिन्, ‘मानिसको जीवन अनुभव हो । अहिले जुन अवस्थाबाट अगाडि बढ्दै छौं, यो एउटा अवसर हो । यो हामीलाई जिन्दगीमा नयाँ योजना बनाउने अवसरका रूपमा आएको छ ।’

मनोरञ्जन उद्योगको लगानी जोगाउने

कोरोनाको महामारी र लामो समयको लकडाउनले नाटक, सिनेमा, व्यायामशालाजस्ता क्षेत्रमा नराम्रो असर पारेको छ । मनोरञ्जन उद्योगले सिर्जना गर्ने रोजगारीको हिसाब एकातिर छ भने यसले मानिसहरूबीच गराउने भेटघाट र सामाजिक जीवनमा भएको कटौती अर्को पक्ष । यी क्षेत्र कहिले खुल्छन् भन्ने कुनै टुंगो छैन ।

चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार कोरोनाको महामारीले गर्दा चलचित्र क्षेत्र नराम्ररी प्रभावित छ । उनी भन्छन्, ‘हाम्रो त व्यापार नै भीडभाडसँग वा भनौं धेरै दर्शकसँगै जोडिएको हुन्छ । यसमा अर्बौंको लगानी छ । करोडौं कर सरकारलाई तिर्ने गरेका छौं ।’ उनले चलचित्र क्षेत्रको विकासका कुरा बजेटमा पनि नसमेटिएको भन्दै सरकारबाट चलचित्र रिलिज गर्नका लागि केही राहत पाउनुपर्ने बताए ।

यातायात खुलाउन स्पष्ट खाका बनाउने

आमजनतालाई प्रत्यक्ष प्रभावित पार्ने क्षेत्र हो यातायात । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अन्य क्षेत्रको लकडाउन खुले पनि यातायात क्षेत्रको नखुल्दा मुलुक नचल्ने बताउँछन् । उनले सरकारले सार्वजनिक सवारीसाधन कसरी चलाउने भन्नेबारे स्पष्ट खाका नदिँदा समस्या भएको बताए । ‘यातायात व्यवस्था विभागले चलाउन सकिने मापदण्ड बनाएर दिए पनि त्यसअनुसार चलाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘दुई जना मान्छे राखेर ट्याम्पो, पाँच जना राखेर माइक्रो चलाउन सकिँदैन । कुन–कुन ठाउँमा चलाउने कि नेपालभरि चलाउने भन्नेबारे सरकारको प्रस्ट कुरा छैन ।’

लकडाउन खुकुलो बनाएर गाडी चलाउने व्यवस्था गर्न उनले सरकारसँग माग गरे । चालक, सहचालक र यात्रुको स्वास्थ्यको ग्यारेन्टी गर्दै कसरी यातायात चलाउने भन्नेबारे सबै क्षेत्रका विज्ञहरू राखेर छलफल गर्नु आवश्यक रहेको उनको भनाइ छ । थोरै यात्रु राखेर दिनभरि गाडी कुदाउँदा लागत नउठ्ने उनले बताए । ‘बैंकको किस्ता तिर्नुपर्छ । चालक सहचालकलाई तलब दिनुपर्छ,’ उनले भने, ‘त्यही भएर लगानी संरक्षणको वातावरण बनाएर गाडी चलाउन लगाउनुपर्छ ।’

प्रकाशित : असार १६, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?