१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बजेट सम्बन्धी सबै विधेयक प्रमाणिकरण

काठमाडौँ — आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अन्तरसम्बन्धित सबै विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रामाणिकरण गरेकी छन् ।

बजेट सम्बन्धी सबै विधेयक प्रमाणिकरण

सोमबार बजेटसँग सम्बन्धित ४ विधेयक प्रमाणिकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यालयद्वारा जारी विज्ञप्ती अनुसार आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि संघीय सञ्जित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन–२०२५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण भएको हो ।

बजेट कार्यान्वयनका लागि यी ४ वटै विधेयक संसदबाट पास भइ राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने हुन्छ । असार १५ गते नै यी विधेयकहरु प्रमाणिकरण भइसकेकाले बजेटमा प्रस्ताव गरिएका कार्यक्रमहरु आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ । कर सम्बन्धी प्रस्तावित व्यवस्था भने बजेट पेश भएको भोलिपल्टबाटै कार्यान्वयन भइसकेको छ ।

राष्ट्रिय सभा तथा प्रतिनिधि सभा छलफल भई दुवैबाट बजेट पास गरि संसद सचिवालयले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको थियो । जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले प्रस्ताव गरे अनुसारकै व्यवस्थासहित विधेयक प्रमाणिकरण भएको हो । अर्थात बजेटमा कर तथा अन्य विवादास्पद कार्यक्रमहरुबारे संसदमा छलफल चलेपनि संशोधन भने भएन ।

आगामी वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको हो । यसका लागि राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड र २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाउने गरि बजेट ल्याएको हो ।

प्रकाशित : असार १५, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?