काठमाडौं महानगरको बजेट १६ अर्ब ४२ करोड

असार १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार राष्ट्रिय सभा गृहमा नगरसभाको सातौं अधिवेशनमा अुनमानित बजेट प्रस्तुत गरेकी हुन् । 

महानगरले सबैभन्दा बढि पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब  ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलव ३४ प्रतिशत हो । महानगरपालिकाले सामाजिक विकासमा २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि  ९६ करोड ३० लाख रुपैयाँ,आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । सशर्त अनुदान अन्तर्गत २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ छ । 

महानगरले कोभिड–१९ को असर, त्यसको रोकथाम र यसबाट पर्नसक्ने प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरेको जनाएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्वर्द्धन र पूर्वाधार विकासलाई महत्व दिइ बजेट बिनियोजन गरेको छ ।  गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।  

बजेट २०७७

कान्तिपुर

Link copied successfully