संक्रमित राख्न क्वारेन्टाइन खाली गरिँदै

सुदूरपश्चिममा संक्रमितको सख्या २ हजार नाघ्यो

असार १४, २०७७

मोहन बुढाऐर

धनगढी — पछिल्लो दुई सातामा संक्रमणको दर तीव्र भएपछि सुदूरपश्चिममा शनिबारसम्म २ हजार ९० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म ६ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या २ सय ४४ पुगेको छ । शनिबार एकै दिन २ सय २८ जना संक्रमित थपिएका छन् ।

चैत १४ मा यूईएबाट फर्केका धनगढी–६ का एक युवकमा सुदूरपश्चिममा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार ती युवकबाट उनकी भाउजूमा सरेको संक्रमणले नेपाललाई दोस्रो चरणमा प्रवेश गराएको थियो । त्यसपछि चैतमै संक्रमण देखिएका अन्य तीन जनासहित पाँचै जना निको भएर घर फर्किसकेका छन् ।

जेठ ७ बाट भारतीय नाका खुल्दा सुदूरपश्चिममा डेढ लाखभन्दा बढी नेपाली भित्रिएका छन् । अव्यवस्थित क्वारेन्टाइनका कारण पनि संक्रमणको दर बढेको छ । भारतबाट आएकाबाट अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, जनप्रतिनिधि र स्वास्थ्यकर्मी संक्रमित भएको डा. अवस्थीले बताए । सुदूरपश्चिममा अहिलेसम्म १५ जना स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा संक्रमण देखिएको छ । समुदायमा भने संक्रमण फैलिनसकेको उनको दाबी छ । भारतबाट आउने क्रम नरोकिएकाले सुदूरपश्चिममा संक्रमितको संख्या अझै धेरै देखिने डा. अवस्थीले बताए ।

भारतबाट आउनेकै व्यवस्थापन गर्न हम्मे भइरहेका बेला संक्रमणको दर बढेपछि क्वारेन्टाइन नै आइसोलेसनमा बदलिन थालेका छन् । बाहिरबाट भित्रिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण नै नगराई घर पठाएर क्वारेन्टाइन खाली गरिँदै आएको छ । प्रदेशभरि डेढ साताअघिसम्म क्वारेन्टाइनमा बस्नेको संख्या करिब ७० हजार पुगेको थियो । अहिले १४ दिन पुगिसकेकालाई घर पठाउँदा शुक्रबार त्यो संख्या १९ हजार ७६ जनामा झरेको छ ।

स्वास्थ्य निर्देशक डा. अवस्थीले संक्रमित बढेपछि क्वारेन्टाइनलाई आइसोलेसन बनाउन लागेको बताए । ‘बाहिरबाट आएकालाई स्बाव लिएर १४ दिनमा घर पठाएर क्वारेन्टाइन खाली गराउन लागेका छौं,’ उनले भने, ‘संक्रमित भएकालाई अहिलेका क्वारेन्टाइन आइसोलेसन कक्षमा परिणत गरेर राख्न स्थानीय तहलाई निर्देशन दिएका छौं ।’

सुदूरपश्चिम प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितका लागि तयार पारेका आइसोलेसन बेड खाली छन् । तर, संक्रमितलाई भने होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाउन थालेको छ । केहीलाई स्थानीय तहका क्वारेन्टाइनमा राख्न्न थालिएको छ । प्रदेशको कोरोना रिफर अस्पतालसमेत रहेको सेती अस्पताललगायत १८ वटा स्वास्थ्य संस्थामा करिब अढाई सय बेड खाली छन् । शुक्रबारसम्म अस्पतालमा १ सय १८ जना मात्रै भर्ना भएका छन् ।

सेतीमा ७४ आइसोलेसन बेड छन् । अहिले संक्रमित १० जना मात्रै भर्ना गरेको छ । सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले स्थानीय तहले संक्रमित रिफर गरेर नआएकाले बेड खाली रहन पुगेको बताए । स्थानीय तहले भने अस्पतालले संक्रमितलाई भर्ना नलिएपछि आफैं आइसोलेसन कक्ष बनाएर राख्न लागेको बताएका छन् ।

सेती अस्पतालका मेसु डा. हेमराज पाण्डेयले गम्भीर अवस्थाकालाई मात्रै भर्ना गरिने भएकाले लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई भर्ना नलिएको बताए ।

त्यस्तै, टीकापुर अस्पतालमा ५० आइसोलेसन बेडमा ३२ मात्रै भर्ना छन् । कैलालीको भजनी र चौमालाको स्वास्थ्य केन्द्रमा रहेका ९ वटा आइसोलेन बेड सुरुदेखि नै खाली छन् । कञ्चनपुरको महाकाली अस्पतालमा ४६ आइसोलेसन बेडमा २३ जना छन् ।

पहाडी जिल्लाका अस्पतालमा पनि आइसोलेसन बेड खाली छन् । संक्रमितलाई स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाएका छन् । अछाम अस्पतालमा १७ बेडमा १० जना भर्ना छन् । अछामकै बयलपाटा अस्पतालमा १३ बेड पुरै खाली छन् । बझाङ जिल्ला अस्पतालमा ३४ आइसोलेसन बेड खाली छन् । डोटीमा १० मध्ये ७ बेड, बैतडी अस्पतालमा ८ वटै बेड खाली छन् । गोकुलेश्वरमा ४, बाजुरामा ११, कोल्टीमा २ बेड खाली छ ।

संक्रमितको संख्यामध्ये कैलाली र कञ्चनपुरपछि डडेलधुरामा बढी छ । त्यहाँ उपक्षेत्रीय अस्पताल डडेलधुराका ४० र जोगबुढा प्राथमिक स्वास्थ्य केन्द्रका ८ आइसोलेसन बेड भने रित्तै छन् । दार्चुला अस्पतालका १३ र सुदूरपश्चिम प्रहरी अस्पतालमा ३ आइसोलेसन बेड पनि खाली छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लाबाट २० हजार ७ सय ५ स्वाब संकलन भएको छ । सेती र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट शुक्रबारसम्म १५ हजार ७ सय ९८ को मात्रै परीक्षण रिपोर्ट आएको छ ।

कोरोना भाइरस

मोहन

Link copied successfully