आरडीटी गर्दै घर पठाउँदै
रुपन्देही — कोरोना ‘हटस्पट’ प्रदेश ५ का क्वारेन्टाइन धमाधम रित्तिन थालेका छन् । परीक्षण रिपोर्ट आउन ढिलाइ हुन थालेपछि स्थानीय तहले आरडीटी गर्दै घर पठाउन थालेका छन् । त्यसले तत्काल लक्षण नदेखिए पनि समुदायमा जोखिम बढाइरहेको छ ।
पछिल्लो दुई सातामा तराईका जिल्लामा संक्रमितको संख्या घट्दा र पहाडमा तीव्र दरमा बढिरहेको छ । बिहीबार पाल्पामा मात्र १ सय २४ जनामा संक्रमण देखिएको थियो । शुक्रबार पाल्पामा २१, गुल्मीमा १२ र प्यूठानमा ७ जना थपिएका थिए ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार साँझसम्ममा प्रदेशका १२ जिल्लाबाट आरडीटी परीक्षणकै भरमा ६३ हजार ५ सय ७७ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । स्थानीय तहका स्वास्थ्य संयोजकले होम क्वारेन्टाइनमा बस्ने गरी १४ दिन बिताएकालाई आरडीटी नेगेटिभ आएपछि घर पठाउने गरेका हुन् । आरडीटीकै भरमा घर पुग्नेमा सबैभन्दा धेरै बर्दियाका छन् । बर्दियाका स्थानीय तहले ११ हजार ६२ जनालाई घर पठाएका छन् । कपिलवस्तुका १० हजार ७ सय १२, बाँकेका ८ हजार ९३ र रूपन्देहीका ७ हजार ८ सय ९४ जना आरडीटी नेगेटिभ आएकै भरमा घर पुगेका छन् ।
प्रदेशभर पीसीआर परीक्षणको दर सुस्त छ । त्यसले पनि कोरोना संक्रमण समुदायमा फैलिने चिन्ता बढाएको छ । पहाडी जिल्लामा गाउँबस्तीसम्मै कोरोना पुगेको आशंका गरिएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा बसेका १७ जनामा पोजिटिभ देखिएको छ । आइसोलेसन अभावमा वडाकै क्वारेन्टाइनमा बसेका उनीहरूमा २८ दिनसम्म पनि लक्षण देखिएको छैन । तर, दोस्रो पटकको स्वाब परीक्षणको रिपोर्ट शनिबारसम्म पनि नआउँदा अन्योल र त्रास रहेको स्वास्थ्य संयोजक प्रकाश शर्माले बताए । ‘एकातर्फ क्वारेन्टाइन व्यवस्थापनमै समस्या हुँदै गएको छ,’ उनले भने, ‘परीक्षण ढिलाइले विद्रोह गरेर घर जाने त्रास छ ।’ पीसीआर परीक्षण सुस्त भएपछि आरडीटीकै भरमा धेरैलाई घर पठाइसकिएको उनले बताए ।
संक्रमण फैलिने त्रास बढेपछि अहिले प्रदेश सरकारले पीसीआर मेसिन थप गरेको छ । ‘मन्त्रालय यो विषयमा गम्भीर छ र दैनिकजसो छलफल भएकै छ,’ सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले भने, ‘त्यसैले तीन स्थानमा परीक्षण हुने गरेकामा अहिले चार स्थानमा ६ मेसिनबाट परीक्षण हुन थालेको छ ।’ अब परीक्षण दर तीव्र हुने उनको दाबी छ । सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन थप गरेर परीक्षण सुरु गरेको छ । त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मेसिन थप गर्दै छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले पछिल्लो अवस्थामा प्रदेशका कुनै पनि जिल्लामा क्वारेन्टाइनबाहिर संक्रमण नदेखिएको बताए । त्यसले समुदाय त्रसित हुनुपर्ने अवस्था पनि नरहेको उनको दाबी छ । ‘कोरोना संक्रमण पूर्ण कन्ट्रोलमै छ,’ उनले भने, ‘भारतबाट आउने क्रम नरोकिएसम्म संक्रमण देखिने क्रम भने जारी नै रहन्छ ।’ प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार प्रदेशका कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा १ हजार ५ सय ६ जना उपचाररत छन् । चार जनाको आईसीयूमा उपचार भइरहेको छ ।
दुई साताअघि झन्डै ५२ हजार जना क्वारेन्टाइनमा रहेका थिए । तीमध्ये २७ हजारको हाराहारीमा आरडीटी परीक्षणपछि घर फर्किए । ‘अहिले २६ हजारको हाराहारीमा क्वारेन्टाइन बसेका छन्,’ उनले भने, ‘तर, लक्षण देखिएका बिरामीको संख्या १ सयजति छ ।’ लक्षण देखिएका सबैको कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको उनले बताए ।
प्रकाशित : असार १४, २०७७ १०:००