पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ ।
१८ गते जल्पाको क्वारेन्टाइनमा पुगेका ४५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते नै तानसेनको मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको थिए । तर उनको जेठ २० गते निधन भए पनि २२ गते मात्र शव व्यवस्थापन गरिएको थियो । कार्यविधिअनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेका हुन् । शव व्यवस्थापनमा खटिएकामध्ये दुई जनामा कोरोना सङक्रमण देखिएको हो ।
कोरोना भाइरस पुष्टि भएकाको शव व्यवस्थापनमा खटिएकालाई सोही दिनदेखि नै सुरक्षित आइसोलेसनमा राखिएको गणले जनाएको छ । मिसन अस्पतालमा मृत्यु भएको र विशेषज्ञ चिकित्सककै निगरानीमा शव व्यवस्थापन गरेका हुन् ।
यससँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएकामध्ये ७२ जना पुरुष र ५ जना महिला छन् । पाल्पामा सबै स्थानीय तहमा कोरोना भाइरस संक्रमण देखिए पनि १६ जना उपचारपछि निको भएर घर फर्केका छन् आइसोलेसनमा रहेका बगनासकाली गाउँपालिका–५, दर्लमडाँडाका ३२ वर्षीय पुरुषको कोरोना अस्थायी अस्पताल बुटवलमा उपचार भएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
