भार कम हुने भएकाले १४ दिनपछि घर पठाउने नियमले स्थानीय तह खुसी
बुटवल — सैनामैना नगरपालिकाको आइसोलेसनमा बसेका १७ जनालाई असार ५ गते घर पठाइयो । रोगको लक्षण नदेखिएका र १४ दिन कटेकाले निको भएको ठानेर उनीहरूलाई डिस्चार्ज गरिएको नगरपालिकाका स्वास्थ्य प्रमुख हेमराज पन्थीले बताए ।
उनका अनुसार एक साता होम क्वारेन्टाइनमा बस्न र सामाजिक दूरी कायम राख्न सुझाव दिइएको छ । ‘क्वारेन्टाइन र आइसोलेसनमा बसेको दिन गन्दा २१ देखि २७ दिन पुगेको थियो । दोस्रो रिपोर्ट कुर्दा थप १० दिन लाग्न सक्थ्यो,’ उनले भने, ‘त्यसैले रिपोर्ट कुरेनौं । घर पठायौं ।’
असार ४ गते बुटवल उपमहानगरपालिकाको एन्फा एकेडेमी आइसोलेसनमा बसेका ११ जनालाई घर पठाइयो । निको भयो भनेर पठाइएका ६ जनाको दोस्रो पीसीआर परीक्षणको रिपोर्ट आएको थिएन । यद्यपि, आइसोलेसनमा बसेको १७ देखि २१ दिन भएकाले उनीहरूलाई पठाइएको उपमहानगरका स्वास्थ्य प्रमुख कुन्दनकुमार सिंहले बताए । ‘लक्षण नदेखिएमा १४ दिनमा डिस्चार्ज गर्नु भन्ने निर्देशिका छ,’ उनले भने, ‘लामो समय आइसोलेसनमा बस्दा बिरामी पनि आत्तिने रहेछन् । त्यसैले उनीहरूलाई पठायौं ।’
प्रदेश ५ का १२ जिल्लामा ९७ वटा आइसोलेसन सेन्टर छन् । तिनमा मंगलबार दिउँसोसम्म १ हजार ५ सय ७४ जना छन् । सबै आइसोलेसन सेन्टर स्थानीय तह आफैंले सञ्चालन गरेका हुन् । त्यहाँ रहेका कोरोना संक्रमितलाई १४ दिन कटाउँदै घर पठाउँदै गरिएको छ । तर, उनीहरू संक्रमणमुक्त भए कि भएनन् भन्ने थाहा हुन सकेको छैन । ‘निको भए होला भन्ने आसमा घर आयौं,’ सैनामैनाबाट डिस्चार्ज भएका एक व्यक्तिले भने, ‘तर, दोस्रो पटक चेकजाँच नहुँदा भित्र डर भने हुँदोरैछ ।’ अहिलेसम्म प्रदेशबाट १ हजार १ सय ३४ जना कोरोना संक्रमणको उपचार र रेखदेखपछि डिस्चार्ज भएका छन् । त्यसमध्येका करिब पाँच सयको दोस्रो पटक पीसीआर परीक्षण भएको छैन । पीसीआर परीक्षण भएका केहीको पनि १४ दिन कटेको बताएर रिपोर्ट नआउँदै घर पठाइएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
कोरोना संक्रमणको हटस्पट भए पनि यहाँ पीसीआर परीक्षणको गति निकै सुस्त छ । रिपोर्ट पनि त्यत्तिकै ढिला आउँछ । स्वाब संकलनपछि पीसीआर नतिजा आउन कम्तीमा १० देखि १५ दिन लाग्छ । जति लामो समय नतिजा आउँदैन, त्यतिबेलासम्म स्थानीय तहलाई संक्रमित पाल्नुपर्ने जिम्मेवारी हुन्छ । भार कम हुने भएकाले १४ दिनपछि घर पठाउने नियमले स्थानीय तह खुसी छन् । ‘स्वास्थ्य मन्त्रालयले पठाएको निर्देशिकामा कुनै लक्षण नभएका संक्रमितलाई १४ दिन कटेपछि डिस्चार्ज गर्नु भन्ने उल्लेख छ । यसले हाम्रो भार पनि घटेको छ,’ गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केबटले भने, ‘हामीले जिल्लामा सोध्दा पनि १४ दिन कटे पठाउनुस् भनेकाले डिस्चार्ज गरेका हौं ।’
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीका अनुसार दुई साता कटेपछि कोरोना भाइरसको संक्रमणदर शून्य हुने विश्व स्वास्थ्य संगठनले बताएको छ । त्यही भनाइका आधारमा संघीय सरकारले निर्देशिका बनाएको हो । त्यसका आधारमा संक्रमितलाई दोस्रो पटक परीक्षणबिना डिस्चार्ज गरिएको उनले सुनाए । ‘क्वारेन्टाइनमा कोरोना देखिएको व्यक्तिलाई आइसोलेसनमा आएपछि पीसीआर नै नगरी पनि पठाउन सकिन्छ,’ उनले भने, ‘धेरै संक्रमित थुप्रिएकाले हामीले त्यस्तो अभ्यास पनि सुरु गरेका छौं ।’
यस प्रदेशमा दोस्रो पटक पीसीआर परीक्षणमा पठाएका व्यक्ति सबैजसोको नतिजा नेगेटिभ आएको छ । त्यस कारण पनि लक्षण नदेखिएका व्यक्तिलाई आइसोलेसनमा राखे पनि पीसीआर गर्नु नपर्ने सर्कुलर गरेको उनले बताए । ‘यसै पनि हाम्रोमा पीसीआरका लागि स्वाब पठाएको नतिजा आउन १० देखि १५ दिन कुर्नुपर्छ,’ उनले भने, ‘यस्तोमा संक्रमितको लामो समय बित्छ । त्यसैले दोस्रो पटक पीसीआर परीक्षण आवश्यक छैन ।’
