आईसीयूमा बस्ने संक्रमित बढ्दै

काठमाडौंमा ४ र बुटवलमा ६ जना संक्रमित आईसीयूमा उपचाररत
अतुल मिश्र

काठमाडौँ — मुलुकभर सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत कोभिड–१९ संक्रमितको संख्या १० पुगेको छ । राजधानी काठमाडौंमा ४ र बुटवलमा ६ जना संक्रमित आईसीयूमा उपचाररत छन् । मंगलबारसम्म २४ जनाको ज्यान लिइसकेको संक्रमणको जटिलताले गर्दा आईसीयू र भेन्टिलेटरमा बस्नुपर्नेको संख्या बढ्न थालेको हो ।

आईसीयूमा बस्ने संक्रमित बढ्दै

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार हालसम्म क्वारेन्टाइनमा बस्ने संक्रमितहरूमा धेरैजसो १५ देखि ४५ उमेर समूहका छन् । ‘संक्रमण छिटफुट समुदायमा गयो भने समस्या हुन्छ, बिरामी बढ्न सक्छ,’ उनले भने । संक्रमण बढ्दै गए आईसीयू र भेन्टिलेटरमा राख्ने बिरामीको संख्या पनि बढ्ने उनले बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमितमध्ये करिब १५ प्रतिशतलाई अस्पतालमा राखेर अक्सिजन थेरापीलगायतका उपचार आवश्यकता पर्न सक्ने बताए । ‘५ प्रतिशत बिरामीलाई आईसीयू उपचार चाहिन सक्छ,’ उनले कान्तिपुरसँग भने, ‘८० प्रतिशतलाई आइसोलेसनमा राखे पुग्छ । कुनै उपचार चाहिँदैन ।’

कोभिड–१९ कै लागि भनेर सरकारले देशभर १६० भेन्टिलेटर, ९ हजार ८५७ जनरल बेड, १ हजार ७७२ आइसोलेसन बेड, ४ सय ९ आईसीयू बेड, १६० फङ्सनल भेन्टिलेटर तयार राखेको छ । ‘सुरुमा उपचार नै नगर्नुपर्ने लक्षण नभएका (एसिम्प्टोम्याटिक) बिरामीले अस्पताल भरिए । पछि अस्पताल पुग्न नपाउँदै मृत्यु हुने स्थिति देखियो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च पदाधिकारीले भने, ‘हाल आईसीयू र भेन्टिलेटर चाहिने बिरामीहरू अस्पतालमा देखिन थालेका छन् ।’ यस्तो बिरामीको संख्या बढ्दै जाने उनले बताए ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर चौधरीका अनुसार कोरोना विशेष अस्पताल बुटवलको आईसीयूमा रहेकाहरू ४० देखि ६० वर्ष उमेर समूहका संक्रमित हुन् । ‘उहाँहरूमा कोरोनासँगै डेंगु, निमोनियालगायत अन्य रोगको जटिलतासमेत देखिएको छ,’ डा. चौधरीले भने । पाटन अस्पतालको आईसीयूमा रहेका दुई जना कोरोना संक्रमितलाई हाल भेन्टिलेटरमा राखिएको छ । ‘भेन्टिलेटरमा रहेका एक जना मिर्गौला प्रत्यारोपण गराएका छन् भने अर्कालाई जटिल स्थितिको निमोनिया देखिएको छ,’ अस्पतालका निर्देशक प्रा.डा. विष्णुप्रसाद शर्माले भने, ‘यसअघि त्रिवि शिक्षण अस्पतालबाट पठाइएको एक जना बिरामीलाई आईसीयूमा राखेको एक घण्टापछि मृत्यु भएको थियो ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा हाल आईसीयूमा रहेका दुई जनामध्ये एक जनालाई भेन्टिलेटरमा समेत रहनुपरेको थियो । ‘उनलाई प्रतिमिनेट १५ लिटरसम्म अक्सिजन दिनुपरेको थियो,’ टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् । त्रिवि शिक्षण अस्पतालको आईसीयूमा रहेका एक जना कोरोना संक्रमितलाई हाल बाहिर निकालिसकेको डा. पाण्डेले बताए । रसुवाबाहेक मुलुकको हरेक जिल्लामा संक्रमित पाइएका छन् । सरकारले असार मसान्तसम्म कोरोना संक्रमित ३० हजारभन्दा बढी हुने प्रारम्भिक अनुमान गरेको छ । मन्त्रालयले तत्कालका लागि ३० हजार कोरोना बिरामीका लागि चाहिने सामग्रीको जोहो गरिराखेको छ ।

‘लक्षण नहुनेले पीसीआर जाँच गर्नु पर्दैन’

स्वास्थ्य मन्त्रालयले बाहिरबाट राजधानी फर्कनेहरूले कुनै लक्षण नभई पीसीआर परीक्षण गराउन नपर्ने जनाएको छ । राजधानी फर्किंदा घर मालिकले पीसीआर परीक्षण गराउन बाध्य पार्ने प्रक्रिया गैरकानुनी रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घर मालिक र छरछिमेकले पीसीआर गराउन बाध्य पार्ने प्रवृत्ति अविलम्ब बन्द गर्न आग्रह गरे ।

उनले यो विषयमा गृह मन्त्रालयसँगै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले पत्राचार गरिएको बताए । डा. गौतमले भने, ‘राजधानी आउनेबित्तिकै पीसीआर परीक्षण गर्नु पर्दैन, १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्छ ।’ उनले घर मालिकले बढी दबाब दिए कानुनी उपचारमा समेत जान सकिने औंल्याए ।

संक्रमितको संख्या १० हजार नाघ्यो

मुलुकमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । मंगलबार ५३८ जना संक्रमित थपिएको हो । दैलेखमा ४५ वर्षीयको मृत्यु भएपछि कोरोनाले मृत्यु हुनेहरूको संख्या २४ पुगेको छ । उनी दम र क्षयरोगका समेत बिरामी थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मंगलबार पीसीआर विधिबाट ४ हजार ९९५ नमुनाको परीक्षण गरिएको छ । हालसम्म १ लाख ८६ हजार ३६६ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

सरकारले पीसीआर विधिबाट ५ लाख व्यक्तिको परीक्षण गर्ने बताइसकेको छ । मंगलबार ७६ जना डिस्चार्ज भएपछि अस्पतालबाट घर फर्किनेहरूको संख्या २ हजार २२४ पुगेको छ । हाल मुलुकका विभिन्न क्वारेन्टाइनमा ८५ हजार ८१३ जना छन् । आइसोलेसनमा ७ हजार ८५१ जना छन् ।

प्रकाशित : असार १०, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?