कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मैत्री अस्पताललाई पीसीआर परीक्षण अनुमति

भक्तपुर — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि पोलिमरेज चेन रियाक्सन (पीसीआर) ल्याब सञ्चालनका लागि स्वीकृति दिएको छ ।

मैत्री अस्पताललाई पीसीआर परीक्षण अनुमति

अस्पतालले ल्याब सञ्चालन अनुमति प्रक्रियाकै क्रममा ८ सय १२ जनाको पीसीआर परीक्षण गरिसकेको छ । ल्याब सञ्चालनको अनुमति पाएसँगै अब पीसीआर परीक्षणमा देखिएको अन्योल हटेको छ ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले हस्ताक्षर गरी पीसीआर मेसिन सञ्चालनको अनुमति प्रदान गरेकी नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमि नगरले दातृ संस्थासँगको समन्वयमा पीसीआर मेसिन जडान गरी आफ्नै खर्चमा कोभिड–१९ परीक्षणको सुविधा उपलब्ध गराएको उनले जनाए । अस्पतालले तीन महिना अघिदेखि ल्याब स्वीकृतिको माग गर्दै पटक–पटक अनुगमन गरिदिन आवेदन दिँदै आएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने ल्याबको व्यवस्थापकीय सुधारको पाटोलाई लिएर स्वीकृति दिन आलटाल गरेको थियो । प्रयोगशालाकी निर्देशक डा. झासहित डा. रीतु अमात्य, डा. पीयूष राजभण्डारी, डा. मुकुन्दा शर्मा, लिली श्रेष्ठ ढुंगेललगायतको टोलीले अनुगमन गरी दिएको सुझावअनुसार मापदण्ड पुग्ने पूर्वाधारको व्यवस्था गरेपछि स्वीकृति पाएको र बुधबारबाट सेवा सञ्चालन गरिने श्रेष्ठको भनाइ छ ।

यहाँस्थित पीसीआर मेसिनले एकै पटकमा ९६ नमुनाको परीक्षण गर्न सकिन्छ । समूहमा परीक्षण गर्दा प्रतिव्यक्ति सरदर सातदेखि नौ हजार रुपैयाँसम्म खर्च हुन्छ । नगरपालिकाले उक्त खर्चको व्यवस्थापन गरेर नि:शुल्क सुविधा दिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, अस्पतालले कोरोना संक्रमितको उपचारका लागि चारवटा भेन्टिलेटरसहितको ६ वटा आईसीयू शय्या र २० शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । अस्पतालमा २६ जना चिकित्सक र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीहरूको टोलीलाई २४ घण्टा सेवा दिने गरी जिम्मेवारीमा खटाइएको छ ।

दक्षिण कोरियाको क्योंही इन्टरनेसनल मेडिकल कोअपरेसनमार्फत सन् १९९९ मा स्थापना भएको ‘कोरिया–नेपाल मैत्री स्वास्थ्य केन्द्र’ मध्यपुर थिमि नगरपालिकामा हस्तान्तरण भएपछि ‘नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल’ का रूपमा सञ्चालित छ ।

नगरपालिकाले कोभिड–१९ संक्रमित बिरामीलाई सुरक्षित तवरले अस्पताल ल्याउन एम्बुलेन्सलाई विशेष रूपमा तयार गरेको छ । उक्त एम्बुलेन्स चलाउने चालकलाई आवश्यक स्वास्थ्य अभिमुखीकरण गराएर स्वास्थ्य सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा, डिसइन्फेक्सन किट्स उपलब्ध गराइएको छ ।

प्रकाशित : असार ९, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?