लमजुङमा ५ जनामा कोरोना संक्रमण पुष्टि

असार ९, २०७७

लमजुङ — लमजुङमा ५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् । बेंसीसहरस्थित सहरी विकास कार्यालयको जिल्लास्तरीय क्वारेन्टाइन र सुन्दरबजारको लमजुङ क्याम्पसस्थित जिल्लास्तरीय क्वारेन्टाइनमा बसेका ५ जनामा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार मध्यनेपाल नगरपालिका ४ र ६ का ४२ र २० का पुरुष २ जना, क्व्होलासोंथर गाउँपालिकाका ९ का १७ वर्षीय १ जना पुरुष, बेंसीसहर नगरपालिका ३ का २१ वर्षीया १ महिला र बारा जिल्ला कोहल्बीका ४१ वर्षीय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना भारतबाट आएका र १ जना बाराबाट आएका रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार बेंसीसहर क्वारेन्टाइनका ३ जना र सुन्दरबजार क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हामीलाई प्रदेशबाट ५ जना कोरोना पोजिटिभ भएको रिपोर्ट प्राप्त भएको छ । व्यक्ति पहिचान गरी आइसोलेसनमा लगिएको छ,’ उनले भने । २७ गते बेंसीसहरको क्वारेन्टाइनमा रहेकामध्ये ५ जनाको थ्रोट स्वाब लिएर पोखरा पठाएकोमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सुन्दरबजारको क्वारेन्टाइनमा २६ गते १३ जनाको स्वाब लिएर परीक्षणका लागि पठाएकोमा २ जनाको कोरोना पुष्टि भएको हो ।

प्रुमख जिल्ला अधिकारी शर्माका अनुसार सोमबार साँझ ११ जनाको रिपोर्ट आएकोमा ५ जनाको पोजिटिभ आएको हो । लमजुङबाट हालसम्म ३ सय ३९ जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाएकोमा २ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । ८२ जनाको रिपोर्ट आउन बाँकी रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) ले जनाएको छ । 

कोरोना भाइरस

Link copied successfully