तनहुँ — असार २ गते कोरोना भाइरस पुष्टि भएका शुक्लागण्डकी नगरपालिकाका १२ वर्षीय बालक कोरोना मुक्त भएका छन् । संक्रमण पुष्टि भएपछि शुक्लागण्डकीस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएका उनको दोस्रो स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए ।
उनीसँगै केन्द्रकै आइसोलेसनमा बसेका ४६ वर्षीय पुरुष पनि निको भएर डिस्चार्ज भएको डा. श्रेष्ठले बताए । दुवैजनामा असार २ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका बालकको रेखदेख गर्न उनका बुबा पनि केन्द्रकै आइसोलेसनमा बसेका थिए ।
योसँगै जिल्लामा कोरोना निको हुनेको संख्या ९ पुगेको छ । तनहुँमा हालसम्म ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास नगरपालिकामा ८, शुक्लागण्डकी नगरपालिकामा ५, भानु नगरपालिकामा ४, रिसिङ गाउँपालिकामा ३२, घिरिङ गाउँपालिकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
