बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रिय सभाबाट पनि पारित

असार ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकले बजेटसँग सम्बन्धित एक विधेयक बहुमत र दुई विधेयक सर्वसम्मतिले पारित भएका हुन् । 

प्रतिनिधिसभामा उत्पत्ति भएर राष्ट्रिय सभामा गएको आर्थिक विधेयक, २०७७ बहुमत पारित भएको थियो । उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षमा मतदान गरेको थियो । सत्तारुढ नेकपाले पक्षमा मतदान गरेको थियो । 

त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (२४औं संशोधन) विधेयक, २०७७ भने सर्वसम्मतिले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका थिए । यी विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रतिपक्षीले विपक्षमा आवाज उठाएन ।

अर्थमन्त्री युवराज खतिवडाले विधेयकका दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । सांसदहरूले विद्युतीय सवारी साधनमा कर लगाउने सरकारको निर्णय गलत भएको भन्दै आलोचना गरेका थिए । जवाफमा मन्त्री खतिवडाले प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा यसअघिको कर नै यथावत रहेको बताए । विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको उनको प्रष्टिकरण थियो । 

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा २० रुपैयाँले सस्तो पर्न जाने भएकाले तस्करी नहोस् भनेर पूर्वाधार कर लगाएको अर्थमन्त्रीको तर्क थियो । उनले कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको बताए ।

यी तीनवटै विधेयक प्रतिनिधिसभाबाट यसअघि नै पारित भइसकेका हुन् । प्रतिनिधिसभाबाट आएका विधेयकमा राष्ट्रिय सभाले सुझाव दिन पाउने प्रावधान भएपनि त्यसो गरेन । प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धित विधेयक १५ दिनमा राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने प्रावधान अनुसार ती विधेयक पास गरेर फिर्ता पठाइएको हो । 

राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित भएको सन्देश प्राप्त गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउनेछन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि आगामी आर्थिक वर्षमा बजेट परिचालनका लागि सरकारलाई बाटो खुल्नेछ । 

बजेट २०७७

कान्तिपुर

Link copied successfully