कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ओम्‍नी प्रकरणबारे बुझ्न स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखाले बोलायो

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको भनिएको अनियमितताबारे छानबिन थालेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या विभागका सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहलाई बोलाएको छ ।

ओम्‍नी प्रकरणबारे बुझ्न स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखाले बोलायो

ओम्नी बिजनेस प्रालिले ल्याएको स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्ने क्रममा पहिलो चरणमा सचिव र महानिर्देशकलाई समितिको सोमबारको बैठकमा बोलाइएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए ।

सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदसम्बन्धि कागजात मन्त्रालय र विभागबाट मगाएर अध्ययन गरेपछि दुवैलाई बोलाउने निर्णय गरेको हो । ती कागजातबाट निस्केका निष्कर्ष समेटिएको संक्षिप्त प्रतिवेदन समितिमा रहेका सांसदहरूलाई वितरण गरिसकिएको छ । त्यसपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई पनि बोलाइने तयारी भएको शाहले बताए ।

ओम्नीले ल्याएका स्वास्थ्य सामग्री खरिदका कागजातको प्रारम्भिक अध्ययनबाट मन्त्रालय र विभागले ठेक्का दिने क्रममा प्रक्रिया नपुर्‍याएको पाइएको सभापति शाहले बताए । त्यस्तै, कानुनी अधिकार नभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सम्झौता गर्ने जिम्मेवारी दिइएको पाइएको उनले बताए ।

स्वास्थ्य सामग्री खरिदबारेका कागजात प्रधानमन्त्री कार्यालय र नेपाली सेनासँग पनि मगाइएको सभापति शाहले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले केही कागजात बुझाएको र केही प्राप्त हुन बाँकी रहेको उनको भनाइ थियो ।

ओम्नीले खरिद गरेका स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगमको विमान प्रयोग भएको र त्यसको भाडा कसले भुक्तानी गरेको भन्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र लेखेको शाहले बताए । तर, पर्यटनमन्त्रालयले त्यसको जवाफ नदिएको बताइएको छ ।

सुरुमा ओम्नीले ल्याएको स्वास्थ्य सामग्रीबारे छानबिन हुने त्यसका लागि उपसमिति पनि गठन हुन सक्ने सभापति शाहले बताए ।

ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरी सरकारले नेपाल मगाएको थियो । सरकारले नेपाल वायु सेवा निगमको विमान नै पठाएर ती सामाग्री ग्वान्जाउबाट गत चैत १६ गते काठमाडौं ल्याएको थियो ।

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेका थिए । ती सामग्री प्रचलित बजार मूल्यभन्दा अत्यन्तै महंगो मूल्य तिरेर ल्याएको पाइएको सार्वजिक लेखा समितिले जनाएको छ ।

ती सामग्री आएपछि स्वास्थ्य सेवा विभागले ओम्नीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । उक्त कम्पनीलाई कालोसूचीमा राख्ने भनिएपनि सरकारले त्यस्तो कारबाही गरेन र उसले ल्याएका सामग्रीको गुणस्तरमा आशंका उत्पन्न हुँदा पनि सरकारले कोरोना परीक्षणका लागि प्रयोगमा ल्याएको थियो ।

प्रकाशित : असार ७, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?