३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समयमै वार्ता नगर्नु भारतको ठूलो कूटनीतिक कमजोरी : करण सिंह

नयाँदिल्ली — नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कूटनीतिक कमजोरी भएको बताएका छन् । सिंहले सीमा विवाद पुरानो भए पनि गत नोभेम्बरमै नेपालले यो मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएकोमा समेत आश्चर्यप्रकट गरेका छन् । 

समयमै वार्ता नगर्नु भारतको ठूलो कूटनीतिक कमजोरी : करण सिंह

‘हामीले अहिलेको जस्तो परिस्थिति बिग्रन दिनहुन्नथ्यो । नेपालले गत नोभेम्बरमा यो विषय उठाउँदा गम्भीरतापूर्वक नलिएको देख्दा आश्चर्य लागेको छ । हामीहरुले तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपर्थ्यो र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्थ्यो,’ सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् । सिंहले त्यसलाई भारतका तर्फबाट भएको गम्भीर कूटनीतिक कमजोरी बताउँदै यसको परिणामस्वरुप अहिलेको परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।

गत नोभेम्बरमा भारतले कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले औपचारिक रुपमै विरोध जनाएको थियो । साथै दुई पटकसम्म वार्ताका लागि आग्रह पनि गरेको थियो । तर, भारतले नेपालको उक्त आग्रहलाई पूरै बेवास्ता गर्‍यो । यसैबीच २६ वैशाखमा भारतले लिपुलेकमा एकपक्षीय ढंगले बनाइएको सडकको उद्घाटन गरेपछि परिस्थिति थप जटिल बन्न पुग्यो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिको आधारमा नयाँ राजनीतिक नक्सा जारी गर्ने र सोही अनुसार संविधान संशोधन प्रक्रिया अगाडि बढायो । गत शनिबार प्रतिनिधि सभाले संविधान संशोधन गर्ने निर्णय पनि गरिसकेको छ ।

वार्ताका लागि पहल नगरेकोमा भारतको आलोचना गरेका सिंहले मुलुकलाई भारतसँगको दीर्घकालीन द्वन्द्वको अवस्थाको पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । ‘दशकौं पुरानो व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले पनि प्रधानमन्त्री ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत र आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पुर्‍याएका छन् जसमा मलाई निकै दुःख लागेको छ,’ सिंहले भनेका छन् । साथै उनले पछिल्लो कदमले भारतलाई असर पर्छ वा पर्दैन भन्ने यकिन नभए पनि नेपालका नागरिकहरुलाई प्रतिकूल हुने गरी असर पर्ने हो कि भन्नेमा आफू चिन्तित भएको समेत उल्लेख गरेका छन् ।

भारतका वरिष्ठ राजनीतिज्ञ सिंह नेपाल मामिलाका जानकार मात्र होइनन्, उनको नेपालसँग पारिवारिक सम्बन्ध पनि छ । सिंहकी पत्नी राणा प्रधानमन्त्री मोहन शमशेरकी नातिनी योशो राज्यलक्ष्मी हुन् । विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता सिंह २०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला नेपालका राजनीतिक दल र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच मध्यस्थता गर्नका लागि भारतका सरकारका विशेष दूतका रुपमा काठमाडौं गएका थिए । सिंह जम्मु कश्मिरका अन्तिम राजा हरि सिंहका छोरा हुन् ।

प्रकाशित : असार १, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?