रिपोर्ट आउनै १० दिन कुर्नुपर्ने
कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका–४ को पर्सियास्थित स्वतन्त्र मावि क्वारेन्टाइनमा जेठ २२ मा २२ जनाको स्वाब संकलन गरिएको थियो । आठ दिनसम्म पनि परीक्षण रिपोर्ट नआएपछि उनीहरू सबैलाई शुक्रबार घर पठाइयो । तिनैमध्ये १४ जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनबाट घर गएको दोस्रो दिन आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।
‘हामीले चार सातासम्म क्वारेन्टाइनमा राखिसकेका थियौं । स्वाब जाँच्न पठाएको पनि एक साताभन्दा बढी भएको थियो,’ लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश साहुले भने, ‘क्वारेन्टाइनमै कति दिन राख्ने ? फेरि रिपोर्ट पनि निकै ढिला आइरहेको छ ।’ लालझाडीमा शनिबार संक्रमण पुष्टि भएका १५ मध्ये १४ जना एकै क्वारेन्टाइनबाट घर गएका हुन् । उनीहरूको आइतबार साँझसम्म पनि खोजी हुन सकेको छैन ।
महाकाली नगरपालिका–९ मा पनि क्वारेन्टाइनबाट घर पठाएको दोस्रो दिन आएको रिपोर्टमा तीन जनामा संक्रमण पुष्टि भएको छ । ‘रिपोर्ट ढिलो आउँदा क्वारेन्टाइनमा रोक्नै सकिएन,’ महाकाली नगरका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले भने, ‘१०/१२ दिनसम्म पनि रिपोर्ट नआएपछि कति दिन थुनिराख्नु ?’
शनिबार कञ्चनपुरमा विभिन्न स्थानीय तहका २१ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जना लालझाडीका हुन् । लालझाडीको शंकरपुर स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको साहुले जानकारी दिए । लालझाडीमा यसअघि पनि एक जनामा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मीबाहेक सबै संक्रमित भारतबाट घर आएकाहरू हुन् ।
पछिल्लोपटक संक्रमण देखिएकालाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको साहुले बताए । उनले संक्रमित सबैलाई होम क्वारेन्टाइनमा बस्न भनेर पठाएकाले धेरै जोखिम नहुने बताए ।
लालझाडी गाउँपालिकाका १२ क्वारेन्टाइनमा २ सय २० जना बसिरहेका छन् । हालसम्म ५ सय जतिलाई घर पठाइसकेको छ । उनीहरूमध्ये केहीको आरडीटी परीक्षण भएको छ भने कतिपय परीक्षणबिनै घर पुगेका छन् ।
महाकाली नगरपालिकामा संक्रमितसँगै २६ जनालाई २८ दिनपछि क्वारेन्टाइनबाट घर पठाइएको हो । शुक्रबार स्वाब संकलन गरिएका १४ जनाको रिपोर्ट नेगेटिभ आएपछि बाँकीलाई पनि नेगेटिभ नै आउने आसमा घर पठाइएको महराले बताए । संक्रमण देखिएका ३ जनालाई महाकाली–९ आम्भोजको अम्बिका माविमा राखिएको छ ।
महाकाली नगरमा अहिले ८ सय ५० जना क्वारेन्टाइनमा छन् । हालसम्म २ हजार ४ सय बढीलाई क्वारेन्टाइनबाट घर पठाइएको छ ।
कञ्चनपुरमा हालसम्म ५५ जनामा संक्रमण देखिएको छ । जसमध्ये पुनर्वास नगरपालिकामा २१, लालझाडी गाउँपालिकामा १६, भीमदत्त नगरपालिकामा ८, महाकाली नगरपालिकामा ४, शुक्लाफाँटा नगरपालिकामा ३, वेदकोट नगरपालिकामा २ र बेलौरी नगरपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताए । ‘रिपोर्ट ढिलो आउँदा क्वारेन्टाइनमा राख्न र घर पठाउन समस्या भएको छ,’ उनले भने, ‘तीन साताभन्दा बढी क्वारेन्टाइनमा राख्दा संक्रमण देखिए पनि समुदायमा सर्ने सम्भावना निकै कम हुने भएकाले जोखिम हुँदैन ।’ जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म आरडीटी किटबाट १० हजार ६ सय ९१ जनाको परीक्षण गर्दा ४ सय ७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यसैगरी १ हजार १ सय ५० जनाको स्वाब परीक्षणका लागि प्रदेशिक प्रयोगशालामा पठाइएको छ । हालसम्म ९ सय १४ जनाको रिपोर्ट आएको र ५५ जनामा संक्रमणसमेत पुष्टि भएको छ ।
