५७६ जनाको रिपोर्ट आउन बाँकी
तनहुँ — दस महिनाको बच्चा काँखीमा च्यापेर गत जेठ १२ गते भारतको मुम्बाईबाट ३ दिनको बसयात्रा गरी नेपाल भित्रिएकी सुजाता सुनार अझै घर जान पाएकी छैनन् । व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा १८ दिनदेखि बसिरहेकी उनी कोरोना परीक्षणको नतिजा बेलैमा नआउँदा जान नपाएकी हुन् ।
नेपाल–भारत सीमाक्षेत्रबाट उद्धार गरी स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा ल्याइएकालाई १४ दिन क्वारेन्टिन अनिवार्य गरिए पनि १८ दिनसम्म बस्नु पर्दा उनीहरुलाई आँगनमा आइपुगेर घरभित्र छिर्न नपाएजस्तो भएको छ ।
‘१४ दिन क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरी घर पठाउँछौं भन्थे १८ दिन पुग्दासम्म जान पाइएको छैन,’ सुनारले भनिन्, ‘स्वाब संकलन गरेको ५/६ दिनसम्म पनि किन रिपोर्ट आएन भन्दा पालो आएको छैन, धैर्यता गरी बस्नुहोस् भन्छन् ।’
क्वारेन्टिनमा बस्दा सबैभन्दा बढी बच्चाको स्वास्थ्यमा समस्या देखिँदा अत्यार लागेको उनी बताउँछिन् । ‘बच्चा सानो छ, समय समयमा स्वास्थ्यमा के कस्तो समस्या देखिन्छ थाहा हुँदैन,’ उनले भनिन्, ‘२/३ दिन अगाडि पनि बिरामी भएको थियो । यहींबाटै सरहरुले एम्बुलेन्सको व्यवस्था गरि पोखरामा स्वास्थ्य जाँच गरी आएको हो । अहिले केही बिसेक भएको छ । अब जतिसक्दो चाँडै रिपोर्ट आए घर फर्किन पाए हुन्थ्यो ।’
समयमै पीसीआर परीक्षणको रिपोर्ट नआउँदा उनीजस्तै क्वारेन्टिनमा बसेका अन्यलाई पनि धेरै समस्या परेको छ । क्वारेन्टिनमा महिला पुरुष दुवै बसेको र आवश्यक मात्रमा शौचालय/बाथरुमको व्यवस्थापन नहुँदा पनि समस्या परेको उनीहरु बताउँछन् ।
क्वारेन्टिनमा बसेको २२ दिन भएको बताउने ऋषिङ गाउँपालिकाका अमर नेपाली पनि लामो समयसम्म घर जान नपाउँदा आत्तिएको बताउँछन् । पहिलो रिपोर्ट नेगेटिभ आएता पनि जिल्लाको पहिलो संक्रमितसँगै एउटै कोठामा बसेकाले उनको पुनः नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
‘पहिलो रिपोर्ट नेगेभिट आएको हो र अहिले पनि नेगेटिभ नै आउँछ भन्नेमा म ढुक्क छु,’ उनले भने, ‘तर, रिपोर्ट समयमा नआइदिँदा घर जान पाइएको छैन ।’
पहिलो संक्रमितसँगै बसेका ७ जनाको रिपोर्ट नेगेटिभ आएता पनि उनीहरुको पुनः परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । उनले भने, ‘क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि स्वाब संकलन गरी पठाएको रिपोर्ट चाँडो नआउँदा क्वारेन्टिनको बसाई लम्बिन पुगेको छ ।’
कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउन समयअवधिमा जिल्ला प्रवेश गर्ने ७३३ जनालाई स्थानीय तहले निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ । जिल्लाभित्र ८२७ वेड क्षमताको क्वारेन्टिन निर्माण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्वारेन्टिनमा राखिएका मध्ये १ हजार २ जनाको थ्रोट स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पोखरा पठाइएको कार्यलयका प्रमुख अधिकारीले बताए । कोभिड–१९ परीक्षणका लागि पठाइएको नमुना मध्ये ४२२ नेगेटिभ, ४ पोजेटिभ र ५७६ रिपोर्ट आउन बाँकी छ’, उनले भने, ‘स्वाब संकलन गरी पठाइएको एक हप्तासम्म पनि रिपोर्ट आउँदैन ।’ त्यस्तै, चैत १ गते यता भारत लगायत अन्य देशबाट २ हजार ३९ जना जिल्ला प्रवेश गरेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
समयमा रिपोर्ट नआउँदा क्वारेन्टिनमा बस्नेहरु आत्तिएको उनी बताउँछन् । उनले भने, ‘पोखरामा म्यानपावर र परीक्षण मेसिनको कमीले गर्दा ढिलाई भएको देखिन्छ । यसको लागि तनहुँबाटै २ जना टेक्निसियन पोखरा पठाइएका छौं ।’
स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको ५/६ दिनसम्म पनि परीक्षणका लागि पालो नआउने भएकोले जिल्लाका १० वटै स्थानीय तह मिलेर पीसीआर मेसिन खरिद गर्न लागिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । उनले भने, ‘पीसीआर मेसिन खरिदसहित पूर्वाधार निर्माणका लागि खर्च हुने करिब एक करोड रुपैयाँ १० वटै स्थानीय तहले बेहोर्ने भएका छौं ।’
पीसीआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति स्वास्थ्य निर्देशनालय गण्डकीसँग माग गरिने र मेसिन शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा राखिने उनले बताए ।
