कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा : कांग्रेस

काठमाडौँ — प्रतिनिधिसभाबाट दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक वार्ताको पहल तत्काल अघि बढाउन आग्रह गरेको छ ।

भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा : कांग्रेस

नक्सा पारित हुनुसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै कांग्रेसले प्रभावकारी र परिणाममुखी ढंगले उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

‘राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय ऐक्यबद्धतापछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्बाध ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन् । राष्ट्रियताको प्रश्नमा संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पष्ट विचारका साथ दृढ ढंगले उभिँदै आएको र आगामी दिनमा पनि कांग्रेस त्यसरी नै उभिने विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारको असफलताको परिणाम सडक प्रदर्शन’

कांग्रेसले राजधानीलगायत देशका विभिन्न स्थानमा केही दिनदेखि भइरहेका प्रदर्शनलाई केपी शर्मा ओली नेतृत्वको सरकारको असफलताका रूपमा लिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रणको दिशामा सरकार असफल भएको निष्कर्ष निकाल्दै आएको कांग्रेसले सडकमा बढ्दै गएको जनआक्रोश र असन्तुष्टि त्यसैको परिणाम भएको जनाएको हो ।

‘प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घचघचावटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रूपमा विस्तारित हुने थियो, न यसरी जनआक्रोश बढ्ने थियो,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले कोरोनाविरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेकै कारण परिस्थिति जटिल बन्दै गएको र त्यसले नागरिकमा आक्रोश बढाएको कांग्रेसको भनाइ छ । उसले सडकमा प्रदर्शनरत युवाहरूद्वारा अभिव्यक्त जनभावनालाई सम्बोधन गर्न र बल प्रयोग नगर्न चेतावनी दिएको छ । ‘युवाहरूको प्रदर्शनमा तिनै मुद्दा अघि सारिएका छन्, जुन विषयहरू लगातार चार महिनादेखि प्रतिपक्षले मौखिकदेखि लिखित रूपमा उठाउँदै आएको छ र अन्य दल एवं सञ्चारमाध्यमहरूले निरन्तर दबाब दिँदै आएका छन्,’ कांग्रेसले भनेको छ ।

पीसीआर परीक्षण व्यापक गर्न, स्वास्थ्य सामग्री पर्याप्त व्यवस्था गर्न, क्वारेन्टाइनहरूलाई मापदण्डयुक्त बनाउन, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीहरूको यथाशीघ्र उद्धारका लागि युद्धस्तरमा कार्य गर्नसमेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?