नयाँ नक्साले जोड्यो सबै दललाई

बबिता शर्मा

काठमाडौँ — भारतको कब्जामा रहेका लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयकले नेपालको नक्साको स्वरुपमात्रै परिवर्तन गरेको छैन, सबै राजनीति दललाई एकै ठाँउ ल्याएको पनि छ ।

नयाँ नक्साले जोड्यो सबै दललाई

संसदमा प्रतिनीधित्व गर्ने प्रमुख राजनीति दलले राष्ट्रियताको पक्षमा फेरि एकपटक सामूहिक ऐक्यबद्धता प्रकट गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा बोल्दै प्रमुख दलका शीर्ष नेताहरुले आन्तरिक मुद्दामा असहमति भए पनि राष्ट्रियताका मुद्दामा ऐक्यबद्धता व्यक्त गरे ।

अहिले संसदमा ७ दलले प्रतिनिधित्व गर्छन् । मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन् । मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको थियो । सो प्रतिनिधिसभाको कूल संख्या २७५ सदस्यको दुई तिहाइभन्दा बढी मत हो । विपक्षमा पनि कुनै पनि मत परेन । यसबाट सरकार पनि उत्साही छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको बताए । ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ,’ मतदान सकेर संसद भवनबाट बाहिर निस्किदै उनले भने ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक दुई तिहाइभन्दा बढी मतले पारित हुनुअघि संसदमा बोल्दै नेताहरुले राष्ट्रियताको मुद्दामा सब एकै ठाउँ आउनु सुखद भएको बताएका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय मुद्दामा नेपालीहरु एक ठाउँ खडा हुन्छन् भन्ने सन्देश विश्वसामु दिएको बताए । ‘हामी राजनीतिक र विचारधारात्मक रुपमा बिभिन्न राजनीतिक दलमा छौं, विभिन्न दर्शनका अनुयायी छौं तर नेपालको राष्ट्रिय मुद्दामा सबै दलहरु एक छौं । हामी सबै वर्ग जाति, समूदाय र लिंगका नेपाली जनता एक ठाउँमा छौं,’ दाहालले भने ‘अहिले फेरि एकचोटी विश्वसामू हामीले एउटा सन्देश दिएका छौं, हामी नेपालीहरु नेपालको राष्ट्रिय मुद्दामा एक ठाउँमा खडा हुन्छन् । हिजो पनि सावित गरेका हौं, आज पनि छौं र भविष्यमा पनि हुनेछौं । राष्ट्रिय मुद्दामा एकजुट भएर विश्वलाई सन्देश दिइ नै रहनेछौं’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता देखिनु महत्वपूर्ण रहेको बताए । ‘काली नदी पूर्वको जमिन नेपालको हो भन्ने कुरा स्पष्ट छ । संशोधन प्रस्तावका पक्षमा सबै पार्टीको समर्थन देखिनु नेपालीहरुको राष्ट्रिय एकता र नेपालको हितमा देखिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ,’ देउवाले भने, ‘नेपालीहरु जुनसुकै ठाउँमा भए पनि राष्ट्रिय हित, सार्वभौमसत्ताका, अखण्डताका लागि एकजुट छन् भन्ने कुरा स्पष्ट भएको छ ।’

जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोले राष्ट्रियता सन्दर्भमा सबै एक ठाउँ आएको बताए । ‘राष्ट्रियता भनेको सम्पुर्ण नेपाली जनताको हो । एउटा वर्ग, जात, समुदाय, क्षेत्रको राष्ट्रियता हुनै सक्दैन । यदि त्यस्तो राष्ट्रियता भयो भने त्यो पङ्गु राष्ट्रियता हो । त्यो राष्ट्रियता काम लाग्दैन । त्यो राष्ट्रिय एकता सवल हुन सक्दैन । आजबाट राष्ट्रिय एकताको परिभाषा, राष्ट्रियताको परिभाषा, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठीकसँग व्यवाख्या गरिनुपर्छ र बुझिनुपर्छ,’ महतोले भने, ‘अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले वर्तमान संविधानप्रति पार्टीको असन्तुष्टि भए पनि राष्ट्रियताको सवालमा आफ्नो सँधैं समर्थन रहने बताएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७७ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?