वार्तामा भारतको पुरानै अडान

‘नेपालसँगको द्विपक्षीय सम्बन्ध र साझेदारी निकै महत्वपूर्ण’

जेष्ठ २९, २०७७

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा आफ्नो पुरानो अडान रहेको जनाएको छ । भारतले यसअघि नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल भएको खण्डमा मात्र वार्ता हुनसक्ने बताएको थियो । 

भारतको विदेश मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा राखिएको जिज्ञासामा प्रवक्ता अनुराग श्रीवास्तवले भारतको तर्फबाट त्यही पुरानै अडान दोहोर्‍याएका हुन् । ‘सीमा विवादलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रष्ट पारिसकेको छ,’ श्रीवास्तवले भने । भारतले नेपालले लिम्पियाधुराको भूभागलाई समेटेर नक्सा जारी गरेलगत्तै पनि नेपालको नेतृत्वले कुटनीतिक सम्वादका लागि अनुकूल वातावरण निर्माणमा सघाउने प्रतिक्रिया दिएको थियो । 

भारतले २६ वैशाखमा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता सीमा विवादलाई लिएर दुवै छिमेकीबीच तनाव कायम छ । यसबीच नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । र, सोहीअनुरुप निसान छापमा परिमार्जन गर्नका लागि संविधान संशोधन प्रक्रिया पनि अघि बढिसकेको छ । जसलाई लिएर दिल्लीमा विशेष चासो राखेको पाइन्छ । 

विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले बिहीबारको पत्रकार सम्मेलनमा फेरि एकपटक द्विपक्षीय सम्बन्ध र साझेदारीका साथै भारतले नेपाललाई गर्दै आएको प्रसंग उल्लेख गरेका छन् । ‘भारतले नेपालसँगको साझा सभ्यता, संस्कृति र घनिष्ट सम्बन्धलाई अत्यन्त महत्व दिन्छ । हालका वर्षहरुमा हाम्रो बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन हुने क्रमसँगै बढी विस्तारित र विधिकरण भएको र भारत सरकारले पनि नेपालमा मानवीय, विकास र सम्पर्क बढाउनका लागि सयोगलाई वृद्धि गर्दै लगेको छ,’ श्रीवास्तवले भनेका छन् । 

त्यसैगरी उनले कोभिड १९ महामारीसँग जुध्नका लागि पनि भारतले नेपाललाई सहयोगको हात बढाएको उल्लेख गरेका छन् । ‘कोभिड १९ विरुद्ध लड्न प्रधानमन्त्रीको अग्रसरतामा अघि सारिएको साझा रणनीतिअनुरुप भारतले नेपाललगायत छिमेकी मुलुकहरुलाई सहयोग गरिरहेको छ । सोही क्रममा भारतले नेपाललाई सम्भव सबै प्राविधिक, चिकित्सा र मावनीय सहयोग उपलब्ध गराएको छ’ प्रवक्ता श्रीवास्तवको भनाई थियो ।    

साथै उनले भारतले नेपाललाई करिब एक महिनाअघि औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएकोसमेत स्मरण गराएका छन् । त्यसैगरि यसअघिजस्तै भारतले नेपालको वस्तुको व्यापार तथा आपूर्तिमा कुनै अवरोध हुन नदिएको दोहोर्‍याएको छ । ‘लकडाउका वावजुद भारत सरकारले व्यापार तथा अत्याश्वयक वस्तुको आपूर्तिमा कुनै अवरोध हुन नदिन सुनिश्चित गरेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भने । 

साथै मानवीयताका आधारमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन पनि भारतले सहयोग गरेको समेत प्रवक्ता श्रीवास्तवले उल्लेख गरेका छन् । भारतले जापान र इण्डोनेशियालगायतका मुलुकमा अलपत्र परेका केही नेपालीलाई उद्धार गरेको थियो । 

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully